s

कोरियामा रेसम फिरिरी...

Year of Publication: 10 October 2011 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

देवेन्द्र सम्बाहाम्फे

मुलुकभर बडादसैंको रौनक छाइरहँदा दक्षिण कोरियामा काम गरिरहेका नेपालीहरूले पनि आफ्नो संस्कृतिलाई पछ्याए । कतै सांस्कृतिक कार्यक्रम गरे त कतै भोज भतेर र शुभकामना आदानप्रदान गरे । 

म्याग्दी सम्पर्क समितिले कोरियामा रहेका जिल्लावासीलाई बटुलेर चतुर्थीकै दिन सियोल जोङगाकको दुर्गा रेस्टुरेन्टमा दसैं भोज र नाचगान आयोजना गरेको थियो, प्रवासीहरूले साँच्चिकै गाउँ-ठाउँ सम्भि“दै शुभकामना साटासाट गरे । 

भोलिपल्ट बुसानको किम्हे नगरमा दसैं कार्यक्रम आयोजना गरिएको थियो, जहाँ विधिवत् मन्त्रोच्चारण र पूजाअर्चनासहित घिरौंलालाई मारको प्रतीक बनाएर वध गर्दै दसैंको सांस्कृतिक पक्षलाई उजागर गरियो । नेपालीहरूले यसो गरिरहँदा कोरियन पाहुनाहरूले दंग पर्दै हेरे । कार्यक्रमलाई 'रेसम फिरिरी' ब्यान्डको सांस्कृतिक प्रस्तुतिले झनै उल्लासमय तुल्याइदियो । छैटौं तिथिका दिन सियोलबाट ३०० किमि टाढा पर्ने ख्वाङजु क्षेत्रका नेपालीहरूले पनि हानाम पार्कमा उल्लासका साथ नेपाली दसैं मनाउन भ्याए । 

'सबै कुरा छोडे पनि काम नछोड्नू' भन्ने कोरियन पाठबाट दीक्षित भइसकेका अरू विदेशी कामदार जस्तै नेपालीहरूलाई पनि आइतबारबाहेक कुनै क्षण फुर्सद नभएकाले विजया दशमीको दिन नेपाली राजदूतावासमा चाहेर पनि पुग्न नसक्ने नेपालीहरू हजारौं थिए । राजदूत कमल कोइरालाले सीमित पाहुनालाई मात्र नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपयुक्त ठानेको मुहूर्तमा टीका-जमरा लाउँदै आशीर्वाद दिए । 

कोजाग्रत पूर्णीमासम्म टीका लगाइने भएकाले आइतबार इन्छन र सियोलमा राजदूत कोइरालाको हातबाट टीका जमरा थाप्नेको ठुलै भिड लाग्यो । इन्छन बुफयङको बिहानी रेस्टुरेन्टमा नेपालीहरूको संस्था लभ इन नेपालले कार्यक्रम आयोजना गरेको थियो । सियोलको जोरो कुछङमा भएको कार्यक्रम भने नेपाली राजदूतावास, एनआरएन र नेपाली सम्पर्क समितिले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा कोरियामा कार्यरत जातीय, क्षेत्रीय र राजनीतिक संगठनका प्रतिनिधि आएका थिए । स्थानीय कलाकार स्विटी लामा र अस्मिता सिंहको नेपाली गीत र नृत्य प्रस्तुतिले कार्यक्रमको शोभा बढाएको थियो ।

खेलकुदमार्फत पनि कोरियामा दसैं मनाइयो । दसैंको बेला नेपाली गाउँघरमा हुने भलिबल प्रतिस्पर्धाजस्तै कोरियामा पनि स्याङ्जा परिवार र गुल्मी सम्पर्क समितिले दसैं भलिबल रनिङ कप आयोजना गरेका थिए । सेप्टेम्बर २५ मा दोस्रोपटक स्याङ्जा परिवारले आयोजना गरेको 'आँधीखोला दसैं भलिबल रनिङ कप' मा गुल्मी सम्पर्क समिति पहिलो भए, यसबापत टिमले नगद ६ लाख वन र ट्रफी पाएको थियो भने अक्टोबर २ मा गुल्मी सम्पर्क समितिले राखेको दोस्रो रेसुङ्गा भलिबल कप आयोजक स्वयंले जित्यो । खेलमा राष्ट्रिय महिला भलिबल खेलाडी मन्जु गुरुङलाई सम्मान र अभिनन्दन पनि गरिएको थियो ।

Published on: 10 October 2011 | Kantipur

Back to list

;