s

इन्डोनेसियामा बस्ने नेपाली प्रेमी–प्रेमिकाको मानव तस्करी धन्दा

Year of Publication: 28 Aug 2019 | Nayapatrika

Published by: CESLAM

घुमघामका लागि नेपालीको नयाँ गन्तव्य इन्डोनेसिया मानव तस्करी गिरोहको समेत ट्रान्जिट बन्न थालेको छ । अस्ट्रेलिया पुर्‍याउने प्रलोभनमा इन्डोनेसिया लगेर बन्धक बनाउने र लुट्ने प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ ।

इन्डोनेसिया बसेर यसरी मानव तस्करी र ठगी धन्दा चलाउने एक जोडीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतका शिव शर्मा र काभ्रे घर भएकी उनकी प्रेमिका अस्मिरा चौलागाईंसहितलाई पक्राउ गरी अनुसन्धान थालिएको मानव बेचबिखन नियन्त्रण ब्युरोले जनाएको छ । अनुसन्धानका क्रममा विगतमा अमेरिकाजस्तै अहिले अस्ट्रेलिया पठाइदिने भन्दै मानव तस्करी गर्ने नयाँ शैली देखिएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए ।

ब्युरोले भारतीय नागरिक पुरुषोत्तम लाल तथा दोलखाका शशीकुमार तामाङ, म्याग्दीका डोलेन्द्र कार्की र काभ्रेका अर्जुन कार्कीलाई समेत पक्राउ गरेको हो । गिरोहका मुख्य नाइके पर्वतका शर्मा र भारतीय नागरिक लाल भएको प्रहरीले जनाएको छ । लाल इन्डोनेसियन युवतीसँग बिहे गरेर उतै बस्दै आएका थिए । उनकै सहयोगमा शर्मा र उनकी प्रेमिका चौलागाईंले इन्डोनेसियामा बसेर मानव तस्करी र ठगी धन्दा चलाउँदै आएका थिए ।

थप नेपाली लिन नेपाल आएका वेला लाललाई ३ भदौमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको एसपी थपलियाले बताए । शर्मा र चौलागाईंलाई इन्डोनेसियाबाट ‘डिपोर्ट’ गरी नेपाल ल्याइएको हो । अन्य पीडितसँगै उनीहरू नेपाल आएका थिए ।

प्रेमिकाको प्रयोग

मानव तस्करीमा प्रभाव पार्न शर्माले आफ्नै प्रेमिका प्रयोग गरेका थिए । पक्राउ परेकी अस्मिरा चौलागाईंले आफू ‘विजय दाइमार्फत नै अस्ट्रेलियाको पर्थमा आएको र विश्वास गरेर आउँदा हुने’ भन्दै फोनमा कुरा गर्थिन् । इन्डोनेसिया बसेर उनले आफू अस्ट्रेलियामा रहेको भनेर भ्रममा पार्थिन् ।

प्रहरीका अनुसार शर्माले सुरुमा इन्डोनेसियामै रहेका अर्का एक भारतीयसँग मिलेर मानव तस्करीको प्रयास गरेका थिए । तर, ती भारतीय भारत फर्केपछि लालको गिरोहसँग उनी जोडिएका हुन् । लालले मानव तस्करी र बन्धक बाउने प्रयोजनकै लागि तीनवटा फ्लाट भाडामा लिएको खुलेको छ ।

अनअराइभल भिसाले इन्डोनेसिया ट्रान्जिट

नेपालीको पर्यटकीय गन्तव्य बनेको इन्डोनेसियाले नेपाललाई ‘अनअराइभल भिसा’ दिँदै आएको छ । अर्थात् अग्रिम भिसा लिनुनपर्ने भएकाले मानव तस्करहरूका लागि इन्डोनेसिया सहज गन्तव्य हुन थालेको छ । अस्ट्रेलियाको सपनामा इन्डोनेसिया पुगेका धेरै नेपाली ठगिएर फर्किएको ब्युरोका एसपी अनुपमशमशेर राणा बताउँछन् ।

थाइल्यान्डलगायत देशले पनि नेपालीलाई सहजै भिजिट भिसा दिने भएकाले ती देशलाई ट्रान्जिट बनाएर मानव तस्करी गर्ने प्रवृत्ति विगतमा देखिएको थियो ।

पीडित नै अभियुक्त, इन्डोनेसिया बसेर क्यानडाको नाटक

अस्ट्रेलिया जाने लोभमा इन्डोनेसिया पुगेर ठगिएका सिन्धुलीका अमृत बराल एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पु¥याएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त भएको खुलेको छ । म्याग्दीका देवेन्द्र रोकालाई क्यानडा लैजाने भन्दै उनको समूहले दिल्ली लगेर लुटेको थियो । जसमा उनी फरार अभियुक्त भएको खुलेको छ ।

इन्डोनेसियाको मानव तस्करी घटनामा उनी पीडित भएको र रोकालाई क्यानडा लैजाने भन्दै लुटपाट गरिएको घटनामा अभियुक्त भएको मानव बेचबिखन नियन्त्रण ब्युरोका एसपी अनुपमशमशेर राणाले बताए । सो घटनामा इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई यसअघि ब्युरोले पक्राउ गरिसकेको थियो । बराल प्रहरी जवान कार्कीका सालो हुन् ।

ब्युरोले यसअघि कार्कीसहित योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराईलाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोकालाई दिल्लीसम्म पुर्‍याएका थिए । दिल्लीमा रोकाका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार अमेरिकी डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ । विदेश जाने प्रक्रिया बुझ्न एक कन्सल्टेन्सी धाइरहेका रोकालाई सचिन बरालले क्यानडाको सपना देखाएका थिए । आफ्ना दाइ अमृत बरालले क्यानडा लैजान सक्ने आश्वासनसँगै उनले मोबाइल नम्बर दिएका थिए । क्यानडामा रहेका भनिएका बरालले धेरै खर्च नलाग्ने र आफन्तसँगै क्यानडा आउन भनेपछि रोका प्रहरी जवान कार्कीसँग २२ माघमा दिल्ली उडेका थिए । कार्की बरालकै आफन्त भएकाले बाटोमा समस्या नहुने रोकाको विश्वास थियो ।

दिल्ली पुगेपछि उनलाई २४ हजार डलर भए क्यानडाको स्थायी कार्ड मिल्ने, नत्र जान नमिल्ने भनियो । रोका जसरी पनि क्यानडा जान चाहन्थे । उनले पैसा जम्मा गर्न परिवार र आफन्तलाई लगाए । छोराको क्यानडा जाने सपना पूरा गर्न तीन दिनमै उनका बुबाले २४ हजार डलर तयार पारे । देवेन्द्रका बुबा र मामा पैसा लिएर २९ माघमा दिल्ली पुगे । उनीहरूलाई लिन विमानस्थलमा सो गिरोहका व्यक्ति पुगेका थिए । बाटोमै पैसा देखाउन भने पनि उनीहरूले मानेनन् । गुँडगाउँको होटेलमा लगेर राखे । होटेलमा पुगेलगत्तै उनीहरूलाई विभिन्न खानेकुरा खान दिइयो । तर, शंका लागेर उनीहरूले खाएनन् । पछि चिया पिएपछि उनीहरू बेहोस भएका थिए । चियामा बेहोस हुने पदार्थ मिसाइएको थियो ।  देवेन्द्रलाई भने सोही दिन क्यानडाको उडान रहेको भन्दै विमानस्थल पठाइएको थियो । विमानस्थलमा एक व्यक्तिले पासपोर्ट र टिकट दिने भनिएको थियो । बिहान ४ बज्दासमेत कोही नआएपछि उनी होटेल पुगे । जहाँ बुबा र मामालाई बेहोस अवस्थामा भेटे । तत्काल अस्पताल लगे, तर बुबाको साथको पैसा गायब भइसकेको थियो । पैसा लुटेपछि मिर्गाैलासमेत निकाल्ने प्रयास गरिएको उनीहरूको आशंका छ ।  एउटा मुद्दामा पीडित रहेका बराल अर्काे मुद्दाका अभियुक्त भएको खुलेपछि प्रहरीले सोमबार उनलाई अदालतमा बुझाएको थियो । तर, अदालतले मागेको १० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् । ‘आफू क्यानडामा रहेको भन्दै उनले इन्डोनेसियाबाटै भ्रममा पारेका रहेछन्,’ एसपी राणा भन्छन्, ‘ह्वाट्स एपमार्फत उनले त्यसरी ठगी गरेका थिए, तर आफूले लुटिएको पैसा भने नपाएको बताएका छन् ।’

Published on: 28 Aug 2019 | Nayapatrika

 

Back to list

;