s

९ जना नेपाली ११ महिनादेखि यूएईको जेलमा

Year of Publication: 15 September 2022 | Annapurna Post

Published by: CESLAM

मेघराज सापकोटा

यूएई : वैदेशिक रोजगारीका लागि भिजिट भिसामा दुबई आएका ९ जना नेपाली ११ महिनादेखि यूएईको जेलमा थुनिएका छन्। उनीहरूलाई अहिले फुजेरा राज्यको सेन्ट्रल जेलको ब्रोडर उड ब्लकमा राखिएको छ।

यसरी जेल पर्नेहरुमा धरानका साजन राई, स्याङ्जाका शिव बहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्दी बहादुर थिङ, नवलपरासीका चोप बहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुजेल, सिन्धुपाल्चोककै बिनोद लामा र पाल्पाका सुर्य बहादुर नेपाली रहेका छन्। उद्दार गरिदिन उनीहरुले नेपाली दूताबास अबुधाबीलाई अनुरोध गरेका छन्।

पत्रमा आफूहरू ११ महिनादेखि बिना कारण फुजेरा जेलमा फसेको बताएका छन्। आफूहरू दुबई आएपछि चिनियाँ नागरिकले भिसा लगाइदिन्छु भन्दै ८ महिनासम्म बन्धक बनाएको पनि पत्रमा उल्लेख गरेका छन्। दुबई पुगेपछि दुबइको इन्टरनेट सिटीमा चिनियाँ नागरिकले एउटा भिल्ला (घर)मा खाना बनाउने, सरसफाइ गर्ने आदि काम दिएको र घर बाहिर कतै जान नदिएको उनीहरुले बताएका छन्।

'चिनियाँ नागरिक के गर्थे हामीलाई थाहा हुन्नथियो। भाग्ने कोसिस गर्दा पनि सकिरहेका थिएनौं' दूताबासलाई लेखिएको पत्रमा भनिएको छ, 'हामी निर्दोष छौं। हामीलाई न्याय दिलाइदिनुस्।'

उक्त घरमा ५० जनाभन्दा बढी चिनियाँ नागरिकहरू बस्ने गरेका र जेलमा ९ जना नेपालीहरू सँगै सय जना चिनियाँ नागरिकहरू रहेको पीडितहरूले पत्रमा उल्लेख गरेका छन्। उनीहरू कसरी र कोमार्फत् चिनियाँ नागरिकको सम्पर्कमा पुगे भन्नेबारे थप जानकारी खुल्न बाँकी छ।

उनीहरूलाई यूएईको साइबर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको आशंका गरिएको छ। यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यस सम्बन्धमा अध्ययन भइरहेको र पीडितहरूलाई आवश्यक सहयोग गरिने बताए।

Published on: 15 September 2022 | Annapurna Post

Link

Back to list

;