s

८३ पीडितका परिवारलाई २१ करोड क्षतिपूर्ति

Year of Publication: 3 August 2012 | Kantipur 

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

वैदेशिक रोजगारका लागि कतार आएर कार्यस्थलमा ज्यान गुमाएका तथा पूर्ण रूपमा शरीरमा क्षति पुगेका ८३ जनाका पीडित परिवारले २१ करोड १७ लाख रुपैयाँ (१ करोड ८३ हजार रियाल) क्षतिपूर्ति पाएका छन् ।

कतारस्थित नेपाली दूतावासले स्थानीय कम्पनीविरुद्ध यहाँको सर्वोच्च अदालतमा मुद्दा लडेर पीडित परिवारलाई यो क्षतिपूर्ति दिलाएको हो । 'दूतावासले एक वर्षको अवधिमा पीडित परिवारलाई १० करोड रियाल क्षतिपूर्ति दिलाएको हो,' दूतावासका द्वितीय क्षतिपूर्ति अधिकारी जयबहादुर राईले भने । कतारी कानुनअनुसार मृतक कामदारले दुई लाख रियालसम्म पाउने व्यवस्था छ । तर कम्पनीले कामदारको बिमा नगराई काममा लगाउने र मृतकलाई सहज रूपमा क्षतिपूर्ति दिने गरेको छैन । 'केही कम्पनीले सहज रूपमा श्रम अदालत वा दूतावासमा आएर क्षतिपूर्ति दिने गर्छन्,' उनले भने, 'नदिने हकमा क्षतिपूर्ति दाबी गर्दै सर्वोच्चमा जाने गरेको छ ।
कतारमा सबैभन्दा बढी नेपाली सवारी दुर्घटनाको ठक्कर र काम गर्दागर्दै कार्यस्थलमा ज्यान जाने गरेको छ । 'त्यस्तो अवस्थामा ज्यान गएको कामदारलाई क्षतिपूर्ति दिलाउन सकिन्छ,' राईले भने, 'हृदयाघात (सुत्दासुत्दै) को भने पाउँदैन ।'
 
गत जनवरीदेखि जुलाईसम्म मात्रै सडक दुर्घटना, सुत्दासुत्दै र कार्यस्थलमा परी ९८ नेपालीको ज्यान गएको दूतावासले जनाएको छ । पीडितलाई रकम दिन कम्पनीले बिमा एजेन्सी र बिमाले कम्पनीलाई देखाउँदा वर्षौंसम्म क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको उनले बताए । वषौर्ंसम्म क्षतिपूर्ति नपाएका कामदारको मुद्दा सर्वोच्च अदालतमा अझै बहस जारी रहेको छ ।
 
सर्वोच्च अदालतमा एक मुद्दा बहस गरेको स्थानीय वकिलले १० देखि ३० हजार रियालसम्म सेवा खर्च लिने गर्छ । दूतावासले त्यति धेरै सेवा खर्च दिन नसक्ने भएपछि मुद्दा जितेको खण्डमा मात्रै क्षतिपूर्तिका २० प्रतिशत सेवा खर्च वकिलले पाउने व्यवस्था गरी वकिल राखेको छ । 'यो यहाँको स्थानीय नियमअनुसार वकिललाई नियुक्त गरेको हो,' उनले भने ।
 
दूतावासले पठाएको यो रकम पीडित परिवारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पाउने छन् । दूतावासले पछिल्लो १७ पीडित परिवारले पाएको क्षतिपूर्ति रकम जुलाईको दोस्रो साता परराष्ट्रलाई पठाएको हो । क्षतिपूर्ति पाउनेमा तीन वर्षअघि मृत्यु भएका कामदारसमेत छन् ।
 
क्षतिपूर्ति पाउनेमा सबैभन्दा बढी कास्कीका रविमोहन बराल रहेका छन् । उनी दुर्घटनामा परेर जिउँदो शवमा परिणत भएका छन् । उनले ४ लाख ७४ हजार रियाल क्षतिपूर्ति पाएका छन् । सामान्यतया दुर्घटनामा परेर दुई लाख पाउने नियम छ । तर अंगभंग भएर पूर्ण रूपमा क्षति भएमा बढी नै क्षतिपूर्ति पाउने नियम छ । बरालले ४ सय प्रतिशत बढी क्षतिपूर्ति पाएका हुन् । 
 
दूतावासका रेकर्डअनुसार क्षतिपूर्ति पाउनेमा ८ जना सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् भने सात जना कार्यस्थलमा ज्यान गुमाएको हो । वकिलको खर्च कटाएर क्षतिपूर्तिमा पाउनेमा महोत्तरीका राजीवकुमार दत्त (१ लाख ५५ हजार), तनहुँका भीमदेव पौडेल (१ लाख ५५ हजार), झापाका सुवास ढकाल (१ लाख ५९ हजार), झापाका ध्रुव श्रेष्ठ (१ लाख ६७ हजार), सर्लाहीका गुड्डु राय (१ लाख ५९), दाङका कालीबहादुर बुढाथोकी (१ लाख ५९ हजार), लमजुङका मीनबहादुर गुरुङ (१ लाख १९ हजार), स्याङ्जाका सूर्य चापागाइर्ं (१ लाख ३९ हजार) धनुषाका विश्वकर्मा (१ लाख ५९ हजार), खोटाङका जीवन राई (१ लाख ९६ हजार रियाल) छन् ।
 
त्यसैगरी सिरहाका सिरिया मण्डल (१ लाख ५९ हजार), बाराका शेख इजरेल (१ लाख ८३ हजार), अर्घाखाँचीका प्रेम थापा (१ लाख ९१ हजार), सिन्धुपाल्चोकका नामीमाया धामी (१ लाख ५९ हजार), दाङका गिरीराज धामी (१ लाख ५९ हजार) र मोरङका अशोक पौडेल (११ हजार रियाल) छन् ।
 
Published on: 3 August 2012 | Kantipur 

Back to list

;