s

६९ जना कामदार नेपाल फिर्न पाएनन्

Year of Publication: 31 August 2019 | Kantipur

Published by: CESLAM

 संयुक्त अरब इमिरेट्स (यूएई) स्थित एड्भान्स म्यानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाएको छैन । कम्पनीले भिसा रद्द गर्न नसक्दा कामदार नेपाल फिर्न वञ्चित हुनु परेको हो । आफूहरूलाई तीन महिनादेखि स्वदेश नपठाई क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरूलाई काममा समेत लगाइएको छैन । ‘हाम्रो काम छैन । घर पनि पठाइएको छैन । त्यत्तिकै थन्किएर बस्नुपरेको छ,’ दार्चुलाका कृष्णसिंह कोटारीले भने, ‘करार अवधि सकिएको पनि दुई महिना बितिसक्यो ।’

सबै कामदारको भिसा अवधि समाप्त भइसकेको उनले बताए । कम्पनीले कामदारलाई स्वदेश पठाउनुपरे भिसा सकिएको दिनदेखि नै जरिवाना बुझाउनुपर्छ । ठूलो जरिवाना बुझाउनुपर्ने भएकाले कम्पनीले भिसा रद्द गर्न नसकेको हो । कम्पनीले नेपाली दूतावासलाई ६९ जना कामदार रहेको भन्दै नेपाल पठाउने प्रक्रिया थालेको जनाएको छ । तर उसले कहिले पठाउने भनेर मिति दिएको छैन । उक्त कम्पनीमा ५ वर्षदेखि कार्यरत नेपाली कामदार रहेको धनगढीका केशव साउदले बताए । पीडितले दुई महिनाअघिदेखि नै दूतावासलाई अनुरोध गर्दै आएको उनको भनाइ छ ।

कम्पनीबाट पाउने सेवासुविधा दिलाएर स्वदेश पठाउन कम्पनीसँग समन्वय भइरहेको नेपाली दूतावासले जनाएको छ । श्रम काउन्सेलर भेषराज कार्कीले दूतावासलाई कम्पनीविरुद्ध मुद्दा लड्न अख्तियार दिएर कामदार स्वदेश फिर्न सकिने वातावरण बनाइरहेको बताए ।

Published on: 31 August 2019 | Kantipur

 

Back to list

;