s

६० लाख रुपैयाँ तिरेर अमेरिका हिँडेकी दिलसा फर्किइन् ५ लाख जरिवाना बुझाएर

Year of Publication: 4 December 2023 | Setopati

Published by: CESLAM

३९ वर्षीया दिलसा (नाम परिवर्तन) काठमाडौं लोलाङ हाइटस्थित तरकारी खेती गरेर गुजारा चलाइरहेकी थिइन्। दुई रोपनी क्षेत्रफलमा उत्पादन हुने तरकारीले उनी र उनकी छोरीको छाक टरेकै थियो।

एउटै ठाउँमा पाँच वर्षदेखि तरकारी खेती गरेकाले आसपासका मान्छेहरू दिलसाकै बारीमै आएर किनेर लैजान्थे। जसले गर्दा उनलाई तरकारी बोकेर घर-घर डुल्नु पर्दैनथ्यो।

२०७८ फागुन दोस्रो साता तरकारी किन्न आएका ज्ञानेन्द्र गौतम (नाम परिवर्तन) सँग दिलसाको कुराकानी भयो। गृहजिल्ला एउटै भएकाले उनीहरूको कुराकानी लम्बियो। ज्ञानेन्द्र रूकुम पश्चिम मुसिकोट नगरपालिकाका स्थानीय हुन् भने दिलसाको रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी।

ज्ञानेन्द्र दिन बिराएर दिलसाकोमा तरकारी लिन आउँथे। उनीहरूको चिनजान बढ्दै गयो। खेतीपाती गर्दा धेरै दु:ख हुने भन्दै ज्ञानेन्द्रले दिलसालाई विदेश जान भनिरहन्थे। उनी १२ वर्षीया छोरीलाई छोडेर जान चाहन्नथिन्।

छोरीलाई एक्लै छोडेर विदेश नजाने भनेर बसेकी दिलसालाई ज्ञानेन्द्रले एकैसाथ आमाछोरीलाई अमेरिका पठाइदिन सक्ने बताए। आफूले पठाएका कयौं मान्छेहरू उतैका नागरिक बनेका कथा सुनाए।

ज्ञानेन्द्र जहिले आउँदा पनि एउटै कुरा भन्थे- 'यहाँ कति कमाउनुहुन्छ? अमेरिका जानुहोस् यही दु:खले महिनामा लाखौं कमाउन सक्नुहुन्छ।'

१२ फेल भएर बसेकी अंग्रेजी बोल्न नजान्ने मान्छे कसरी अमेरिका जान सक्छे भन्दै उनी हाँस्थिन्।

पढ्दै नपढेका मानिसलाई अमेरिका पठाएको ज्ञानेन्द्रले उनलाई विश्वास दिलाउन खोजिरहेका हुन्थे। सुरूआती दिनमा त उनले ज्ञानेन्द्रका कुरालाई विश्वास गरिनन्। तर एउटै कुरा भनिरहँदा चाहिँ अमेरिकाबारे दिलसाको चासो बढिहरेको थियो।

गत फागुन अन्तिम साता साँझपख ज्ञानेन्द्रले आफ्नै १७ वर्षीया बहिनीसहित चार जना महिलालाई अमेरिका पठाउन लागेको सुनाए। त्यतिबेला ज्ञानेन्द्रले सत्य बोलिरहेको हो कि भन्ने दिलसालाई लाग्यो। किनकि आफ्नो बहिनीलाई पठाउन लागेको भए सत्य बोलेको हुनुसक्ने दिलसाको अनुमान थियो।

उनलाई ज्ञानेन्द्रले छोरीसहित जाने व्यवस्था मिलाइदिने तर त्यसका लागि अरूलाई भन्दा थप ५/७ लाख बढी लाग्ने जानकारी गराए। एक्लै गए १५/२० लाख रूपैयाँ, छोरीसहित २५ लाखमा अमेरिका पुर्‍याउने विश्वास दिलाएको उनी बताउँछिन्।

'आफ्नै बहिनी साथमा पठाउने भएपछि अविश्वास गर्ने ठाउँ भेटिनँ त्यतिबेला,' उनले भनिन्।

ज्ञानेन्द्रले आफ्नै बहिनीलाई पठाउन लागेका कुरा दिलसाले आँखा चिम्लेर विश्वास गरेकी थिइन्। २५ लाख रूपैयाँमा आमाछोरी अमेरिका जान पाउने भएपछि ज्ञानेन्द्रको योजनामा उनको सहमति भयो।

त्यही अनुसार काठमाडौंमा राहदानी विभागमा चैतको पहिलो साता १२ हजार रूपैयाँ तिरेर तीन दिनमा पासपोर्ट तयार पारेको उनी बताउँछिन्।

पासपोर्ट बनाएपछि गाउँ पुगेर माइतीलाई आफू अमेरिका जाने तयारी गरिरहेको बताइन्। उनका गाउँमा अवैध बाटोबाट अमेरिका जाने कुरा नौलो थिए‍न। एक दुई जना अमेरिका नगएको घर भेटिनै मुस्किल हुन्छ।

दिलसाका आफन्त र दाजुभाइ पनि अवैध बाटोबाट अमेरिका पुगेका छन्। कतिपय बाटोमा हराएका र मृत्यु भएका घटना उनलाई याद छ।

तर छोरीसहित जान पाउने भएपछि भविष्य राम्रो हुने आसामा उनी लोभिइन्।

उनी अमेरिका जान तयार भएपछि उनका बा-आमाले ऋण खोजिदिए। केही पैसा आफूले जम्मा गरिन् भने केही आफन्तले ऋण खोजिदिएका उनले सेतोपाटीसँग बताइन्।

'अमेरिका जाने भनेपछि ऋण पाइन्छ,' उनले भनिन्, 'अरू काम गर्छु भन्दा दिँदैनन्।'

आफूसँग भएका एक जोर सुनको झुम्का, तिलहरी बेच्दा १ लाख रूपैयाँ भएको थियो। त्योसहित महिना दिनमै २५ लाख रूपैयाँ जम्मा भयो।

दुई चार जनासँग मिटर ब्याजमा ऋण लिएकी छन्। तोकिएको मितिभन्दा एकदिन तलमाथि हुँदा दिलसाले प्रत्येक दिन दोब्बर ब्याज तिर्नुपर्छ।

अमेरिका पुगेका वर्षदिनभित्रै ऋण तिरिसक्ने उनको योजना थियो।

पैसा जम्मा भएपछि ज्ञानेन्द्रले भने बमोजिम पासपोर्ट र आवश्यक कागजात सोह्रखुट्टेस्थित रहेको एक ट्राभल कम्पनीमा बुझाएकी थिइन्। उक्त कम्पनी सोह्रखुट्टे चोकबाट डल्लु जाने सडकमार्गतर्फ रहेको उनको भनाइ छ।

ज्ञानेन्द्र भिसा आउन लागेको भन्दै ५/७ लाख रूपैयाँ मागिरहन्थे, उनी दिइरहन्थिन्।

'जाने दिन आइसकेको भन्दै जसरी पैसा माग्नुहुन्थ्यो। खुरूखुरू दिएँ,' उनले भनिन्, 'बैंकिङ कारोबार गर्न नमान्ने भएकाले धेरैपटक नगद दिएको छु।'

आफूले धेरै पैसा एकमुष्ट दिएको हिसाब उनले राखेकी छन्। १०/१५ हजार रूपैयाँ कतिपटक दिइन् त्यसको कुनै लेखाजोखा उनीसँग छैन।

उनका अनुसार, वैशाखदेखि जेठ पहिलो सातासम्म १५ लाख रूपैयाँभन्दा बढी ज्ञानेन्द्रलाई दिएकी थिइन्। तर अमेरिकाको यात्रा सुरूआत भएको थिएन। त्यसले थप पैसा दिइनन्।

'नपठाउने भए पैसा फिर्ता मागेको थिएँ, पाइनँ,' उनले भनिन्।

उनलाई भिजिट भिसामा थाइल्याण्ड हुँदै फिलिपिन्स र मेक्सिको पुगेपछि अमेरिका छिर्ने भनिएको थियो। कानुनी प्रक्रिया अनुसार जाने भएकाले बाटामा केही समस्या नहुने ज्ञानेन्द्रले दाबी गरेका थिए। त्यसैले ढुक्क थिइन्।

दुई/तीन महिनापछि उनको अमेरिकाको लागि पहिलो उडानको मिति तय भयो, जेठ १३।

त्यो दिन दिलसा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा थाइल्याण्डको पहिलो उडान थियो। तर उनले साथमा छोरी लैजान नपाउने भइन्।

'बाटामा केही समस्या हुन सक्छ। छोरीलाई पछि लैजानू भने,' दिलसाले सेतोपाटीसँग भनिन्, 'अन्तिम दिनमा आएर छोरीलाई बहिनीको साथमा छोडेर तोकिएकै मितिमा थाइल्याण्ड उडेँ।'

सुरूमा ज्ञानेन्द्रको बहिनीहरूसहित चार जना महिलालाई पठाउने भनिएको थियो। त्यो दिन उनीहरूलाई दुई दिनपछि पठाउने भन्दै दिलसालाई एक्लै पठाइयो। उनले पछि थाहा पाइन्-ज्ञानेन्द्रका बहिनीहरू त अमेरिका जाने नै होइन रहेछ।

थाइल्याण्डको विमानस्थलमा ज्ञानेन्द्रले भनेजस्तै उनलाई लिन एक गोरो वर्णको पुरूष आएका रहेछन्। उनी उनकै साथमा गइन्।

विमानस्थलबाट तीन/चार घन्टा ट्याक्सीमा यात्रा गरेपछि एउटा अग्लो घरको ठूलो कोठामा पुर्‍याएको थियो। त्यहाँ पुगेपछि उनी अचम्मित भइन्। उनले त्यहाँ उनीजस्तै अमेरिका जाने सपना बोकेर आएका भारतीय र नेपाली नागरिक भेटिन्।

उनीहरूलाई महिनौं दिनदेखि एउटै फराकिलो कोठाभित्र राखिएको थियो। उनलाई पनि त्यहीँ राखियो। दिनमा एक पटक प्याकिङ गरेका खाना आइपुग्थ्यो। त्योबाहेक अरू कुनै सुविधा थिएन।

पिउने पानी पनि दिनमा एकपटक दुई /चार बोतल आउँथ्यो।

चौबिसै घन्टा एउटै कोठामा बसिरहन सजिलो थिएन। सुत्ने ठाउँ पनि थिएन। आफूले लगेको पछ्यौरी ‌ओढेर बसेरै निदाउनुपर्ने बाध्यता थियो।

उनी पुगेको तीन महिनापछि ७/८ जना नेपाली महिला थपिएका थिए। उनीहरूको पनि गतव्य अमेरिका थियो।

उनीहरूले एक दुई दिनमा फिलिपिन्सको कागजात तयार हुँदैछ भन्थे। बीच-बीचमा पैसा मागिरहन्थे। त्यही अनुसार उनले त्यहाँ तीन महिनामा थप २० लाख रूपैयाँ दिनुपरेको थियो।

'पैसा नभएको भन्दै उडानमा ढिलाइ भएको कुरा सुनाउँथे। पैसा दिए पुर्‍याउने उनीहरूले आश्वासन दिन्थे,' उनले भनिन, 'यता ज्ञानेन्द्रले फोन उठाउन छोडिसकेका थिए।'

उनले भावुक हुँदै भनिन्- पैसा दिनुबाहेक अरू कुनै विकल्प थिएन।

त्यसैले उनले पनि माइतीबाट मगाएर १०/१० लाख रूपैयाँ दुई पटक बुझाएकी थिइन्। पैसा नदिए उनीहरूले दिलसालाई त्यहीँ बस्नुपर्ने धम्की पनि दिन्थ्ये। दिलसालाई छोरीको पीरले पिरोल्थ्यो। आफू अमेरिका पुगेपछि जतिसक्दो छिटो छोरीलाई पनि बोलाउने योजना बनाएर गएकी उनलाई अन्धाधुन्ध लिएको ऋण र छोरीलाई अमेरिका कसरी लैजाने भन्ने कुराले सताइरहन्थ्यो।

उता पैसा लिएका ती व्यक्तिले उनीहरूलाई छिट्टै अर्को एजेन्टको जिम्मा लगाएर अमेरिका पुर्‍याउने दाबी गर्थे।

'उतै अलपत्र परें भने छोरी टुहुरी हुन्छे भन्ने डरले पैसा दिएको थिएँ,' उनले भनिन्, 'अवैध बाटो जंगल-जंगल हिँडेर जानुपर्छ भन्ने कुरा थाइल्याण्ड पुगेपछि मात्र थाहा पाएको थिएँ।'

त्यहाँ पुगेपछि जसरी पनि जान्छु भन्ने चाहना हुँदोरहेछ।

उनलाई ज्ञानेन्द्रले प्रक्रिया पुर्‍याएरै जान लागेको भनेका थिए। आफू ठगी गर्नेको जालोमा फसेको दिलसाले थाइल्याण्ड पुगेपछि मात्र बुझिन्। ४५/५० लाख खर्च भइसकेको थियो। त्यसैले अब त्यहीँबाट फर्किन पनि नसक्ने उनले सोचेकी थिइन्।

त्यहाँ तीन महिना बसेपछि फिलिपिन्स हुँदै मेक्सिको जाने भन्दै फिलिपिन्सको जहाज चढाइयो। फिलिपिन्स पुगिन्। तर त्यहाँको अध्यागमन विभागले चेकजाँच गर्दा सोधिएका प्रश्नबारे अलमल परेपछि उनलाई त्यहीँ रोकियो।

फिलिपिन्समा उनलाई लिन आउने भनिएका व्यक्ति आएनन्। त्यसपश्चात अध्यागमनकै कार्यालयमा राखियो। त्यहाँको बसाइ झनै कष्टकर बन्यो।

उनलाई न बस्ने ठाउँ दिइएको थियो। न खाने व्यवस्था गरिएको थियो। उनलाई त्यहाँ किन रोकियो भन्नेसमेत पत्तो पाइनन्। दुई सातासम्म एउटै टेबुलमा बिताउँदा र समयमा पानीसमेत पिउन नपाएपछि उनी बिरामी परिन्।

बिरामी भएपछि त्यहाँका प्रहरीले कुनै एउटा अस्पतालमा लगेका थिए।

उनी आफू अमेरिका जान फिलिपिन्स छिरेको भन्ने कुरा कसैलाई भन्न सक्दिन थिइन्। उनी घुम्न गएको भन्दा त्यहाँको अध्यागमन विभागले नपत्याएपछि जरिवाना तिराएर नेपाल फर्काइदिएको हो।

उनीसँग त्यहाँको प्रहरीले पत्ताउने कोही आफन्त पनि थिएन। उनी आफूलाई जेलमा थुनेर राख्ने डरले नेपाल फर्किने अडानमा लिइन्। उनका माइती पक्षले ज्ञानेन्द्रलाई खोज्न थाले तर कतै भेटेनन्।

उनलाई नेपाल फर्किन नेपाली ५ लाख रूपैयाँ जरिवाना तिर्नुपर्थ्यो। त्यसका लागि उनीसँग साथमा पैसा थिएन। त्यसैले उनलाई प्रहरीको सहयोगमा नेपालमा आफन्तलाई फोन गरेर पैसा मागिन्।

दिलसालाई त्यहाँका प्रहरीको सहयोगमा फर्काइएको हो।

उनी नेपाल फर्किएको ५/७ महिना हुन लाग्यो। तर गाउँ जान सकेकी छैनन्। आफूले अमेरिका जान भनेर लिएको ऋण कसरी तिर्ने भनेर मानसिक तनाव झेलिरहेकी छन्। उनले १ वर्ष भयो छोरीलाई स्कुलसमेत पठाउन सकेकी छैनन्।

'अहिले दुईछाक खान खान मुस्किल परिरहेको छ। छोरीलाई पढाउन सकिनँ,' उनले भनिन्, 'यही कुरा छोरीलाई भन्न सकेकी छैन।'

ऋणको पीरले रातभर निदाउन नसक्ने भएकी छन्। बा-आमाको १ रोपनी जग्गा बैंकले लिलाम गरिदियो भन्दै भावुक भइन्।

दिलसाले ती व्यक्तिविरूद्ध प्रहरीमा उजुरी दिएकी छन्। तर आफ्नो पैसा फिर्ता आउने नआउनेबारे उनी अन्यौलमा छिन्।

त्यसैले अरूको भनेको भरमा अवैध बाटोबाट अमेरिका जाने सपना नदेख्न उनको आग्रह छ।

Published on: 4 December 2023 | Setopati

Link

Back to list

;