s

६ छर्रा खाएर रुसबाट फर्कन दलाललाई १२ लाख

Year of Publication: 31 January 2024 | Kantipur

Published by: CESLAM

काठमाडौँ — दैलेख आठबिस नगरपालिका–३ का २४ वर्षीय कृष्णबहादुर शाही यतिबेला काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत छन् । शरीरका विभिन्न भागमा गोलीको छर्रा र आधा दर्जनभन्दा धेरै गोलीको चोटले थिलोथिलो परेका उनी पछिल्लो तीन महिनाको यात्रा सम्झिन पनि चाहँदैनन् । पेसाले सिभिल इन्जिनियर रहेका कृष्णको जीवनमा आइपरेको यो दुर्दशाको कारण रसिया–युक्रेन युद्धसँग जोडिएको छ ।

गाउँकै केही दाजुहरूले रसियन सेनामा भर्ती हुन सके मनग्गे कमाउन सकिन्छ भन्ने प्रलोभन देखाएपछि उनी गत मंसिर ४ मा रसिया उडेका थिए । राजधानी मस्को पुगेको भोलिपल्टै रुसी सेनामा भर्ती भएका थिए । कृष्णका अनुसार उनी भर्ती भएको पल्टनमा झन्डै दुई सय हाराहारीमा नेपाली थिए । ती सबैलाई उनलाई जस्तै १० दिनको फायरिङसम्बन्धी सामान्य तालिम दिएर युक्रेनविरुद्धको युद्धको रेडजोनमा खटाइएको थियो ।

अस्पतालको शय्याबाट कृष्णले सुनाए, ‘रसिया पुगेको ११ औं दिनमा म युद्धस्थलमा पुगिसकेको थिएँ ।’ उनीहरूलाई रसियाद्वारा अतिक्रमित युक्रेनी भूभाग दोनेत्स्क क्षेत्रको कुनै युद्धग्रस्त भूभागमा खटाइएको थियो । कृष्णको समूहमा १० जना फौजी थिए, तीमध्ये सबैजसो नेपाली । युद्ध क्षेत्रमा पुर्‍याएको भोलिपल्टै रेडजोनको फ्रन्टलाइनमा खटाइएको उनले बताए । युद्धमा खटिएको केही दिनमै कृष्णसहितका ६ नेपाली युक्रेनी सैनिकले गरेको ड्रोन आक्रमणमा परेर घाइते भएका थिए । मृत्युको भयावहमाझ उनीहरू बाँच्ने आशाले त्यहाँबाट भागेर दक्षिणपूर्वी रणनीतिक बन्दरगाह सहर मारिउपोल पुगेका थिए । ‘अब बाँचिन्न भन्ने भएपछि हामी त्यहाँबाट भागेर मारिउपोल पुगेका थियौं,’ उनले सुनाए ।

यसरी भागेका ६ मध्ये कान्तिपुरको सम्पर्कमा आएका एक, जो अहिले रसियामै बन्धकजस्तो अवस्थामा छन्, उनले आफूहरू दलालको सहयोगमा एउटा फ्ल्याट भाडामा लिएर लुकेर बसेको बताए । उनीहरूले जनही १० हजार रुबल तिर्ने गरी फ्ल्याट भाडामा लिएका थिए । उनीहरूलाई लुकाउने नेपालीसहितको एक दलालको समूहले त्यहाँबाट भगाउने चाँजो मिलाउने आश्वासन दिएको थियो । कृष्णले फ्ल्याटमा आफूहरू लुकेर बसेका बेला उद्धारका लागि नेपालमा नेतादेखि परराष्ट्र मन्त्रालयसम्म गुहारेको बताए ।

उनले भने, ‘तर, हाम्रो हारगुहार कसैले सुनेनन् ।’ दलालले भगाएर लैजान नसकेको तर उसले थप पैसा भने मागिरहेका बेला ६ नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेर लग्यो । प्रहरीसँग उनीहरू आफू रुसी सेनामा भर्ती भएको बताएनन् । तर थुनामा बसेको पाँचौं दिन त्यहाँका प्रहरीले उनीहरू रुसी सेनाका जवान भएको पत्तो लगायो । अनि कृष्णसहितका ३ जनालाई उनीहरूको सैन्य कमान्डर आएर युद्ध क्षेत्रमै लगे । बाँकी तीन जना भने थुनामै रहे । कृष्णले सुनाए, ‘छर्रा लागेर सामान्य घाइते भए पनि मलाई थुनाबाट निकालेर सोझै युद्ध क्षेत्रमा खटाइयो ।’ युद्धमा खटिएकै दिन कृष्णसहितका तीन नेपालीलाई युक्रेनी सेनाले हानेको गोली लाग्यो ।
उनलाई बायाँ हातको पाखुरामा दुई, नाडीमा दुई र बायाँ खुट्टामा दुई गोलीसहित शरीरभरि बमको छर्रा लाग्यो । उनीसँगै खटेका दुई नेपालीको घटनास्थलमै मृत्यु भयो । उनलाई भने घाइते अवस्थामा अर्का नेपालीले उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याए । दर्जनौं छर्रा र ६ भन्दा धेरै गोली लागेर हिँडडुलसमेत गर्न नसक्ने अर्धचेत अवस्थाका कृष्णलाई रुसी फौजले दक्षिण पश्चिमी सहर रोस्तोवको एक अस्पतालमा लगेर भर्ना गरे ।

कृष्णले अस्पतालबाट बाहिर निस्कनुअघि नै योजना बनाइसकेका थिए । उनले अस्पतालमा काम गर्ने एक सफाइ कामदारको फोनबाट काठमाडौंमा रहेकी श्रीमती चन्द्रिकासँग आफ्नो अवस्थाबारे बताइसकेका थिए । चन्द्रिकाले फोनमा कुरा गर्ने चाँजो मिलाउने कामदारलाई त्यति गरिदिएबापत रसियामा रहेका एक चिनारुमार्फत केही हजार रुबल पठाइदिएकी थिइन् । रुसमै बस्ने एक नेपाली दलालले कृष्णलाई ४ लाख रुपैयाँ तिर्ने सर्तमा भगाउने जिम्मा लिएको थियो । कृष्ण सोही दलालको भरमा अस्पतालबाट भागेका थिए । भन्छन्, ‘अस्पतालबाट निस्केर बल्लतल्ल हिँड्दै झन्डै दुई किलोमिटर जति पर पुगेर दलालले भनेअनुसार दिनभरजसो बसें ।’ साँझ झन्डै ६ बजेतिर उनलाई लिन एउटा ट्याक्सी आयो । त्यही चढेर झन्डै ११ सय किलोमिटर परको मस्कोतर्फ सोझिए ।

कृष्णका अनुसार मध्यरातमा बीच बाटोमा पुगेर ट्याक्सी रोकियो । अनि उनलाई नेपाली एजेन्टले बंगाली एजेन्टको जिम्मा लगायो । त्यसपछि उनलाई थप दुई लाख नदिए त्यहाँबाट अघि बढाउन नसकिने भनियो । उनले काठमाडौंमा रहेकी श्रीमती चन्द्रिकालाई खबर गरे । चन्द्रिकाले अनेकतिर हारगुहार गरेर पैसा जम्मा गरिन् । चन्द्रिकाले सुनाइन्, ‘एजेन्ट कस्तो थियो भने भन्नेबित्तिकै पैसा जम्मा गरिदिइहाल्नुपर्ने । केहीबेर ढिला भयो भने के होला भन्ने पीर । मैले अनेकतिर हारगुहार गरेर एजेन्टले भनेकै मान्छेको हातमा पैसा दिएँ ।’ चन्द्रिकाका अनुसार दुई लाख भने पनि उनले एजेन्टले भनेको एक महिलालाई पुरानो बानेश्वरमा भेटेर एक लाख असी हजार नगद हातमै थमाइदिइन् । पैसा दिएको सूचना पुगेपछि बंगाली एजेन्टले उनलाई मस्कोतिर अगाडि बढायो । कृष्णले भने, ‘बिहान झन्डै सात बजेतिर म मस्को पुगें ।’

मस्को पुगेकै दिन चन्द्रिकाले उनलाई काठमाडौं फर्कने टिकट काटिदिइसकेकी थिइन् । तर उनको मनमा अझै शंका थियो, रुसी सेनामा भर्ती भएर बीचमै भागेको व्यक्ति रुसी अध्यागमन पार गर्न सक्ला नसक्ला । कृष्णका अनुसार उनले रुसी अध्यागमनका कर्मचारीलाई ३ लाख रुपैयाँ घूस खुवाएर अध्यागमन पार गरे । शुक्रबार काठमाडौं ओर्लिंदा कृष्ण बोल्न सक्ने र आँखा उघारेर राम्ररी हेर्न सक्ने अवस्थामा थिएनन् ।

एयरपोर्टबाट सिधै अस्पताल गएर सामान्य उपचार गरेपछि कृष्ण कोठामा फर्किर्ए । चन्द्रिकाले सोही दिन झन्डै बीस हजार उपचारमा खर्च भएको र थप रकमको जोहो गर्नैपर्ने भएकाले आफूहरू अस्पतालबाट बाहिरिन परेको बताइन् । पैसाको जोहो गरेर कृष्ण फेरि आइतबार अस्पताल भर्ना भए । गोलीको चोट र छर्राको घाउ निको भइसकेको छैन । चन्द्रिकाले सुनाइन्, ‘गोली भित्रै अड्किएको छ । पछि अप्रेसन नै पनि गर्नुपर्ने हुन्छ । अवस्था जस्तो भए पनि उहाँ बाँचेर आउनुभयो, त्यसमै खुसी छु ।’

कृष्ण भन्छन्, ‘मलाई जस्तो कसैलाई नपरोस् । केही लाखको लोभमा रुसी सेनामा भर्ती हुने गल्ती कसैले नगरोस् । बाँच्ने/मर्ने ठेगान नहुने ठाउँमा पैसा कमाएर के गर्नु ?’ कृष्ण र उनीसँगै क्याम्पबाट भागेका अर्का एक (सुरक्षाका कारण नाम उल्लेख नगरिएको) नेपालीसँगको कुराकानीबाट के बुझिन्छ भने रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या प्रधानमन्त्री पुष्पकमल दाहालले भनेजस्तो दुई सय जना नभएर हजारौंको संख्यामा छ ।

अहिलेसम्म रुसी सेनामा भर्ती भएका ११ नेपालीको मृत्यु भएको पुष्टि भइसके पनि पुष्टि नभएको मृत्युको संख्या धेरै हुने सक्ने देखिन्छ । रुसी सेनामा भर्ती भएका चार नेपाली युक्रेनी सेनाको कब्जामा रहेको पनि पुष्टि भइसकेको छ । कृष्ण र अर्का नेपालीसँगको कुराकानीबाट मृत्यु हुने र बन्धक बनेका नेपालीको संख्या सार्वजनिक भएभन्दा अत्यधिक छ ।

कृष्णका अनुसार उनीसँग रुसी सेनामा भर्ती हुन दैलेखका कैयन् युवा विभिन्न नेपाली एजेन्टको पासोमा परेका छन् । दलालको भर परेर रुस पुग्दा खर्चेको आठ लाख रुपैयाँ र फर्किंदा पाइलापाइलामा दलाललाई बुझाएको १२ लाख रुपैयाँ जोड्दा कृष्णको परिवारले झन्डै २० लाख रुपैयाँ गुमाइसक्यो । चन्द्रिकाका अनुसार केही दिनको उपचारमा मात्रै उनको झन्डै असी हजार हाराहारीमा खर्च भइसक्यो ।

Published on: 31 January 2024 | Kantipur

Link

Back to list

;