s

५ महिनामा सवा २ लाख बिदेसीए

Year of Publication: 25 December 2014 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

आर्थिक वर्षको पहिलो ५ महिनामा देशबाट रोजगार खोज्दै २ लाख २६ हजार नेपाली बिदेसीएका छन्। स्वदेशमा पर्याप्त रोजगारको सिर्जना नभएपछि कामको खोजीमा बिदेसीने कामदार गत आर्थिक वर्षको यही अवधिभन्दा ५५ हजार बढी हो। गत वर्ष पाँच महिनामा १ लाख ७० हजार ७ सय ६३ जना नेपाली कामदार बिदेसीएका थिए। यो आर्थिक वैदेशिक रोजगार विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनामा मात्र ५३ हजार ३ सय ५४ जना कामदार विदेश पुगेका छन्। साउनमा ४२ हजार ३ सय ९, भदौंमा ५१ हजार ५ सय ५१, असोजमा ३५ हजार ५ सय ५०, कात्तिकमा ४३ हजार २ सय १३ कामदार विदेश पुगेका थिए। 

५ महिनाको अवधिमा संस्थागत (म्यानपावर) बाट २ लाख ४ हजार २ सय ५५ कामदार विदेश गएका छन्। म्यानपावरबाट विदेशिने कामदारमध्ये १ लाख ९६ हजार ४ सय १० पुरुष र ७ हजार ८ सय ४५ जना महिला कामदार रहेका छन्। त्यसैगरी व्यक्तिगत रुपमा ५ महिनामा १७ हजार ९ सय ७० जना कामदार विदेश पुगेका छन्। जसमा १५ हजार ९ सय ३१ जना पुरुष र २ हजार ३९ जना महिला कामदार रहेका छन्। पाँच महिनामा बिदामा आइपुन विदेश जाने कामदारको संख्या ७६ हजार ९९ रहेको छ। जसमा पुरुष ७२ हजार ९ सय २१ र महिला ३ हजार १ सय ७८ रहेका छन्। 

पाँच महिनाको अवधिमा सबैभन्दा बढी मलेसियामा नेपाली कामदार पुगेका छन्। मलेसियामा ५ महिनामा १ लाख ६ हजार ६ सय २६ जना कामदार पुगेका छन्। मलेसिया केही बर्षयता नेपाली कामदारको लागि प्रमुख श्रम गन्तव्य बन्दै आएको छ। मलेसियापछि दोस्रो श्रम गन्तव्यको रुपमा कतार रहेको छ। कतारमा मलेसियाको तुलनामा आधा मात्र कामदार गएका छन्। पाँच महिनामा कतारमा ५१ हजार ७ सय ९९ जना कामदार पुगेका छन्। त्यसैगरी साउदी अरबमा ३६ हजार ३ सय ७८, युएईमा २३ हजार २ सय ७१ जना कामदार पुगेका छन्। इपिएसमार्फत दक्षिण कोरिया जाने कामदारको संख्या २ हजार ७७ रहेको छ। जापानमा भने ७ सय ९४ जनाले श्रम स्वीकृति लिएर काम गर्न गएका छन्। 

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले स्वेदशमा पर्याप्त रोजगार सिर्जना नहुँदा नेपाली कामदार बिदेसीन बाध्य भएको बताए। ‘राजनीतिक अस्थिरता र उद्योगधन्दा सोचेअनुरुप नचल्दा स्वदेशमा रोजगार सिर्जना हुन सकेको छैन, नेपाली श्रम बजारमा वार्षिक ४ लाख ५० हजारभन्दा बढी कामदारको प्रवेश हुने र उनीहरुले अवसर नहुँदा बिदेसीन परेको छ,' उनले भने, ‘ वैदेशिक रोजगारी वाध्यकारी छनौटको विषय नबनोस भन्नाका लागि देश भित्र रोजगारीका अवसर सिर्जना गर्न निरन्तर नीतिगत प्रयास गर्दै आएका छौं। यसका लागि हाल निर्माण भै रहेको राष्ट्रिय रोजगार नीति निकै उपयोगि हुने अपेक्षा गरिएको छ।' 

ठगी पनि बढ्यो

विभागको तथ्यांकअनुसार ५ महिनामा विभागमा १ हजार २ सय २४ वटा ठगीका उजुरी परेका छन्। यस अवधिमा ३१ करोड ७८ लाख ७४ हजार ७२ रुपैयाँ ठगी भएको उजुरीकर्ताले विभागमा निवेदन दिएको विभागले जनाएको छ। मंसिर महिनामा मात्र विभागमा २ करोड २३ लाख ४१ हजार २ सय २६ रुपैयाँ ठगी भएको भन्दै १ सय ६० उजुरी परेको विभागले जनाएको छ। पाँच महिनाको अवधिमा ४ सय ४९ वटा व्यक्तिगत उजुरी परेको छ भने सोही अवधिमा ७ सय ७५ वटा संस्थागत उजुरी परेको छ। 

पाँच महिनामा विभागले ६ करोड ३८ लाख ३४ हजार ४ सय रुपैयाँ बिगो भराएको छ भने २ सय ७५ वटा जाहेरी फरफारक गरेको छ। सो अवधिमा अदालतमा ६० वटा मुद्दा दायर गरिएको छ। दायर गरिएका सबै मुद्दा भने व्यक्तिगत ठगीका रहेको विभागले जनाएको छ। अदालतमा सो अवधिमा ७ करोड ७४ लाख ८९ हजार २ सय ९६ रुपैयाा विगो दाबी गरिएको छ। सो अवधिमा विभागबाट एउटा म्यानपावरलाई कारबाही निर्णय गरेर १ लाख मात्र जरिवाना गराइएको छ भने २० वटा म्यानपावरलाई काम कारवाही रोक्का गरिएको छ। 

विदेशमा मृत्यु हुने पनि बढे

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांक अनुसार मंसिर महिनासम्ममा विदेशमा मृत्यु हुनेको संख्या ३ सय ७७ पुगेको छ। मंसिरमा मात्र विदेशी भूमिमा ७७ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ। गत असोज महिनादेखि मृतकका आफन्तलाई डेढ लाख क्षतिपूर्तिबाट बढाएर तीन लाख दिने निर्णय भएको छ।

Published on: 25 December 2014 | Nagarik

 

Back to list

;