s

४ महिनापछि श्रमिक स्वास्थ्य परीक्षण मापदण्ड

Year of Publication: 24 March 2019 । Kantipur

Publication Type: NEWS

Published by: CESLAM

होम कार्की

स्वास्थ्य परीक्षण संस्था छनोट र भीएलएन शुल्क समस्या सुल्झेपछि मलेसियाको श्रम गन्तव्य खुल्ने

द्विपक्षीय श्रम समझदारी भएको चार महिनापछि मलेसियाले नेपाली कामदारको स्वास्थ्य परीक्षणको मापदण्ड नेपाल सरकारलाई पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको स्वास्थ्य मापदण्ड शुक्रबार पाएको हो । 

गत कात्तिक १२ गते श्रम समझदारीपछिको प्राविधिक बैठकमा मलेसियाले स्वास्थ्य मापदण्ड पठाउने सहमति भएको थियो । ‘कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रक्रियासहितको पूर्ण मापदण्ड पाएका छौं,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘यो मापदण्डअनुसार कामदारको स्वास्थ्य परीक्षण गर्न सक्ने निजी र सरकारी अस्पतालसहितका स्वास्थ्य संस्था छनोट हुनेछन् ।’
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते नेपालमा मान्यताप्राप्त सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने निर्णय गरेका थिए । ‘एकपक्षीय रूपमा तोकिएका ३९ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने प्रावधान हटाई स्वास्थ्य मन्त्रालयले मापदण्ड तोकी स्वीकृत गरेका श्रम मन्त्रालयमा सूचीकृत जुनसुकै स्वास्थ संस्थामार्फत गरिने स्वास्थ्य जाँच मान्य हुने व्यवस्था लागू गर्ने’ निर्णयमा भनिएको छ ।
 
ती ३९ वटा संस्था स्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त २ सय ३७ मध्येकै हुन् । श्रम मन्त्रालयले छिट्टै स्वास्थ्य संस्था छनोटको तयारी गर्ने जनाएको छ । ‘केही दिनमा सूचना प्रकाशन गर्छौं । मापदण्ड पूरा गर्न इच्छुक स्वास्थ्य संस्थाहरूले आवेदन दिन सक्नेछन् । आवेदन दिने सबै स्वास्थ्य संस्थाको अनुगमन हुनेछ,’ मन्त्रालका ती अधिकारीले भने, ‘अनुगमन मलेसिया र नेपालको संयुक्त टोलीले पारदर्शी ढंगले गर्नेछ ।’
 
यसअघि मलेसियाबाट छानिएका ३९ वटा स्वास्थ्य संस्थाले समेत यो प्रक्रियामा सहभागी हुन पाउनेछन् । ‘यो सबैका लागि खुला हो,’ उनले भने, ‘सरकारले स्वास्थ्यको एकाधिकार हटाएर सबैका लागि काम गर्न पाउने वातावरण बनाउन खोजेको हो ।’
 
मलेसियाको स्वास्थ्य मन्त्रालयले पठाएको नयाँ मापदण्डमा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण, एक्सरे परीक्षण प्रक्रिया, प्रयोगशाला अनुसन्धान, प्रयोगशालाको गुणस्तरीय व्यवस्थापन, नमुनाको विश्लेषण प्रक्रियालगायत विषयमा विस्तृत कार्यायोजना छन् ।
 
वैदेशिक रोजगारमा गएकामध्ये सबैभन्दा बढी नेपाली कामदारको मृत्यु मलेसियामा हुन्छ । त्यहाँ हरेक वर्ष कम्तीमा चार सय नेपालीको मृत्यु भइरहेको छ । स्वास्थ्य परीक्षण गर्न कामदारलाई २६० रिंगेट (करिब ७ हजार रुपैयाँ) लाग्नेछ । यो रकम मलेसिया पुगेको तीन महिनापछि कामदारलाई रोजगारदाताले शोधभर्ना गर्ने श्रम समझदारीमा उल्लेख छ । यसअघि स्वास्थ्य परीक्षणको शुल्क ४५ सय रुपैयाँ थियो र कामदार आफैंले भुक्तानी गर्नुपर्थ्यो ।
 
नेपालको स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएपछि मात्रै मलेसिया जाने कामदारको भिसा प्रक्रिया सुरु हुने गरेको छ । श्रम मन्त्रालयका अनुसार स्वास्थ्य परीक्षण संस्था छनोट हुनासाथ मलेसिया खुल्ने वातावरण बनेको छ । गत जेठदेखि मलेसियामा कामदार जान बन्द छ । ‘मलेसियासँग जोडिएका मुख्य विषय स्वास्थ्य परीक्षण गर्ने संस्था र भीएलएन हुन् ।
 
स्वास्थ्य परीक्षण संस्थाहरू छिट्टै टुंगिहाल्छ । भीएलएनको शुल्क पनि रोजगारदाता कम्पनीले तिर्ने वातावरण बनेपछि मलेसियाको श्रम गन्तव्य खुल्नेछ,’ ती अधिकारीले भने, ‘त्यसका लागि दुवै देशले श्रम समझदारीको मर्म र भावनाअनुसार अगाडि बढ्नुपर्छ ।’
 
Published on: 24 March 2019 । Kantipur

Back to list

;