s

४ महिनापछि आयो शव

Year of Publication: 28 September 2019 | Kantipur

Published by: CESLAM

लिबियाको एक शरणार्थी क्याम्पमा भएको आतंकवादी विस्फोटमा मारिएका लमजुङको बेंसीसहरका सन्तोष श्रेष्ठको शव शुक्रबार काठमाडौं आइपुगेको छ । संगठित मानव तस्करको प्रलोभनमा परेर इटाली छिर्न भन्दै लिबिया पुगेर मारिएका उनको शव घटनाको चार महिनापछि आइपुगेको हो । उनीसँगै विभिन्न टोलीमा लिबिया पुगेका नौ जनालाई भने अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले विस्फोट घटनालगत्तै नेपाल फर्काएको थियो ।

गत माघ २ गते सन्तोषसहितको पाँच जनाको टोली सेटिङमा भिजिट भिसामा दुबई हुँदै लिबियाको त्रिपोली पुगेका थिए । टोलीका चार सदस्य अवैध रूपमा चल्ने जोखिमपूर्ण डुंगा यात्रामार्फत इटाली छिर्न हिंडेका थिए भने डुंगामा नअँटेका कारण सन्तोष शरणार्थी शिविरमा आश्रय लिइरहेका थिए । आश्रय लिइरहेकै शिविरमा विद्रोही लिबियन नेसनल आर्मीले गरेको बम विस्फोटमा सन्तोषसहित ४० जना मारिएका थिए । मानव तस्करको जालमा परेर लिबिया हुँदै युरोप छिर्न खोजेका २६ नेपालीलाई आईओएमले गत असारमा उद्धार गरेर नेपाल फर्काएको थियो । श्रेष्ठ परिवारका अनुसार सरकारले शव नेपाल ल्याउन ५ हजार डलर खर्चेको थियो । सन्तोषको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Published on: 28 September 2019 | Kantipur

Back to list

;