s

२२ महिना नाइजेरियामा बन्धक बनाइएका दुई नेपालीको उद्दार

Year of Publication: 17 July 2018 | Onlinekhabar

Publication Type: NEWS

Published by: CESLAM

अमेरिका लैजाने प्रलोभनमा नाइजेरियाको टोगो पुर्‍याएर बन्धक बनाइएका दुई जनालाई मंगलबार स्वदेश फर्काइएको छ । गैरआवासीय नेपाली संघ, नाइजेरियाको समन्वयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापालाई स्वदेश फर्काएको हो ।
 
उनीहरुसँग बाग्लुङका एजेन्ट राजु भनिने जेशन श्रीष र चितवनका सुरेन भनिने मोहन श्रेष्ठले ३५ लाख रुपैयाँ नेपालमा लिएर अमेरिका पठाउने प्रलोभन देखाएको पीडितहरुले बताएका छन् । सीआईबीको मानव बेचबिखन अनुसन्धान पिल्लरका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) राजकुमार सिलवालका अनुसार उनीहरुलाई त्यसरी विदेश पठाउने दुवै जनालाई पक्राउ गरिएको छ ।
 
‘टोगोमा ७ महिनासम्म अलपत्र परेर फर्किएका ६ जना पीडितहरुको उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा दर्जनौं मानिसहरुलाई अमेरिका, क्यानडा लाने भन्दै भारत, सिंगापुर, मलेसिया, थाइल्याण्ड हुँदै नाइजेरियामा लगेर अलपत्र पार्ने समूहको बारेमा पत्तो लागेको थियो’, सिलवालले अनलाइनखबरसँग भने, ‘त्यसपछि दुवैलाई पक्राउ गरी अनुसन्धान अघि बढाएका थियौं ।’
 
अनुसन्धानपछि उनीहरुलाई जिल्ला अदालत, काठमाडौं पेश गरिएकोमा १५ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । र, हाल उनीहरु केन्द्रीय कारागारमा छन् । ‘उनीहरुबाट अन्य थुप्रै व्यक्तिहरु पनि पीडित भएको हुन सक्ने हाम्रो आशंका छ’, सिलवालले थपे, ‘हामीले पीडितहरुलाई ब्यूरोमा सम्पर्क गर्न अनुरोध गर्दछौं ।’
 
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलालमार्फत ३६ नेपाली नाइजेरिया पुगेका थिए । त्यसमध्ये १२ जना लाई अमेरिका पठाउने भन्दै ब्राजिल उडाइएको थियो । ती मध्ये १२ जना नेपाल फिर्ता भएका छन् भने १३ जना नाइजेरियामै छन् । तर, उनीहरु सम्पर्कमा आउन नचाहेका हुन् या दलालले आउन दिएको छैन भन्ने बारे नखुलेको उनले बताए ।
 
Published on: 17 July 2018 | Onlinekhabar

Back to list

;