s

१४ वटा देशमा ट्रान्जिट हुँदै अमेरिका, २७ लाख सकियो, दुई वर्ष जेलपछि हतकडीसहित स्वदेश

Year of Publication: 6 October 2020 | Naya Patrika

Published by: CESLAM

१४ वटा देशको ट्रान्जिट हुँदै अमेरिका छिर्न खोजेका ६ नेपाली युवा लाखौँ सिध्याएर दुई वर्ष जेल बसी स्वदेश फर्केका छन् । मानव तस्कर समूहको पछि लागेर मेक्सिकोबाट अमेरिका छिर्न खोजेका उनीहरूलाई अमेरिकाका सुरक्षाकर्मीले नेपाल नै ल्याएर छाडिदिएका छन् ।

गत १४ असोजमा चार्टड विमानमार्फत अमेरिकाले उनीहरूलाई नेपाल ल्याइदिएको हो । दाङ, झापा, रुकुम पूर्व, बाग्लुङ र दोलखाका युवा त्यसरी निष्कासनमा परेका हुन् । उनीहरूलाई मानव तस्करको समूहले विभिन्न देश हुँदै अमेरिकाको सीमासम्म पु¥याएको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख एसएसपी देवबहादुर बोहराले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्दा पनि उनीहरूको हातमा हत्कडी लगाइएको थियो । सुन्दर जीवनको सपना बोकेर अमेरिका पुगेका उनीहरू स्वदेश फर्कँदा बेखर्ची थिए ।

त्यसरी फर्किएकामध्ये एक हुन्, रुकुम पूर्वका रमेश केसी (नाम परिवर्तन) । २० कात्तिक ०७५ मा उनको अमेरिका यात्रा सुरु भएको थियो । नेपालबाट सुरुमा उनलाई कतार हुँदै इथियोपिया पुर्‍याइयो । त्यहाँबाट दुबई हुँदै फ्रान्स, चिली, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै अमेरिकाको छिमेकी देश मेक्सिको पुर्‍याइयो । त्यहाँबाट अमेरिका छिर्ने क्रममा उनी पक्राउ परे । यसबीचमा २७ लाख रुपैयाँ सकिएको उनले प्रहरीलाई बताएका छन् । करिब २२ महिना जेल बसेर नेपाल आएका उनलाई लिन प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली विमानस्थल पुगेको थियो, तर उनले गिरोहविरुद्ध प्रहरीमा उजुरी दिन मानेका छैनन् । दाइ र भिनाजु नाता पर्ने व्यक्तिहरूले आफूलाई त्यसरी अमेरिका पठाएको उनले बताएका छन् ।

उस्तै कथा छ, बाग्लुङका अमर सापकोटाको । २१ साउन ०७५ मा अमेरिका पुग्ने सपना बोकेर नेपालबाट दुबई उडे । त्यहाँबाट फ्रान्स, ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका त छिरे, तर सपना पूरा भएन । सीमामै पक्राउ परेपछि जेलमा बसेर मुद्दा लडेका उनी मुद्दा हारेपछि स्वदेश आइपुगेका छन् । निष्कासन गरी उनलाई नेपाल पठाइएको हो । बुबाले पैसा बुझाएकाले कति खर्च भयो थाहा नभएको उनले बताएका छन् ।

दाङका नरेश पराजुलीले अमेरिकाको सपनामा ३० लाख सके । उनी चैत ०७५ मा अमेरिका पुगेका थिए । करिब १५ महिना जेल बसेर स्वदेश फर्केका छन् । उनी दुबई, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट मेक्सिको हुँदै अमेरिका पुगेका थिए । अमेरिकी भूमिमा प्रवेश गर्नासाथ उनी पक्राउ परेका थिए ।

उनीहरूसँगै दोलखाका प्रमेश शेर्पा पनि चार्टर्ड विमानमा फर्किएका छन् । उनी मंसिर ०७५ मा नेपालबाट दुबई, ब्राजिल, बोलिभिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेका थिए । पोखराका एक व्यक्तिले उनीसँग २९ लाख रुपैयाँ लिएका थिए । उनी पनि २२ महिना जेल बसेर मुद्दा हारेपछि निष्कासनमा परेका हुन् ।

यस्तै, दाङका विमल आचार्य भदौ ०७५ मा काठमाडौंबाट उडेका थिए । उनको ट्रान्जिट भने छोटो र फरक छ । सुरुमा उनलाई दुबईबाट रुस पु¥याइयो । त्यहाँबाट स्पेन हुँदै सीधै मेक्सिको पु¥याइएको थियो । त्यसक्रममा उनको २५ लाख रुपैयाँ खर्च भयो ।

झापाका समिर कार्की असोज ०७५ मा काठमाडौंबाट दुबई, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोज्दा समातिए । पोखराकै एक व्यक्तिले त्यसबापत २६ लाख रुपैयाँ लिएको उनले बताएका छन् । उनीहरूसँगै भिजिट भिसामा अमेरिका पुगेका मकवानपुरका एक युवकलाई पनि अमेरिकाले निष्कासन गरेको छ । गाडी चलाउने क्रममा गल्ती गरेपछि उनलाई पक्राउ गरी नेपाल फर्काइएको हो ।

स्वदेश फर्किएकामध्ये कतिपयमा डिप्रेसनको समस्या देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ऋण गरेको पैसा पनि डुबेको र अमेरिका पुगेर जेल बस्नु परेकाले उनीहरू चर्को निराशामा छन् ।

उनीहरूमध्ये अधिकांश आफन्तबाटै ठगिएका छन् । र, सोहीकारण उजुरी दिन नमानेको ब्युरोका एसपी शारदाप्रसाद चौधरी बताउँछन् । ‘हामीले अमेरिका पठाउने गिरोहमाथि अनुसन्धान गरिरहेका छौँ,’ चौधरी भन्छन्, ‘तर, उनीहरूबाट सोचेअनुसार सहयोग पाउन सकेका छैनौँ ।’

मेक्सिको हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने सयौँ नेपाली हरेक वर्ष पक्राउ पर्छन् । कतिपय बाटोबाटै फर्किन्छन् । कतिपयलाई अमेरिका लैजाने भन्दै अफ्रिकी देशमा लगेर बन्धक बनाइने गरेका घटना छन् । यसअघि २ पुसमा पनि अमेरिकाले यसैगरी पाँचजना नेपाली युवालाई काठमाडौं ल्याएर छाडिदिएको थियो ।

Published on: 6 October 2020 | Naya Patrika

Link

Back to list

;