अध्यागमन कार्यालयमा अब ‘नेपाली पोर्ट’

टेकराज थामी

अध्यागमन विभागले मातहतका सबै अध्यागमन कार्यालयमा यात्रुको बायोमेट्रिक विवरण लिन नेपाली प्राविधिकबाट विकास गरिएको अत्याधुनिक ‘सफ्टवेर’सहितको मेसिन जडान गर्ने भएको छ । जसलाई विभागले ‘नेपाली पोर्ट’ नाम दिएको छ । विभागका अनुसार मेसिनले नेपालबाट अन्यत्र जाने तथा अन्यत्रबाट नेपाल आउने सम्पूर्ण यात्रुको आँखाको रेटिनामार्फत विवरण लिनेछ । सोही विवरणमार्फत अध्यागमनले मुलुक जान दिने–नदिने तथा आउन दिने–नदिने निर्धारण गर्नेछ । सोहीअनुसार यात्रुलाई भिसा दिइनेछ । यसका लागि विभागले २३ करोड ५८ लाख रुपैयाँ खर्च गर्नेछ । यो काम आउने असार मसान्तसम्ममा पूरा भइसक्नेछ । 

विभागका महानिर्देशक ईश्वरराज पौडेलले यात्रुको बायोमेट्रिक विवरण लिने कार्य चालू आर्थिक वर्षभित्रै सकिने बताए । उनले भने, ‘यात्रुको बायोमेट्रिक विवरण लिन अत्यावश्यक देखियो । अन्तर्राष्ट्रिय जगत्मा यस्तो अभ्यास भइसकेको छ । अब हामीले पनि यो अभ्यास गर्ने भएका छौँ । नेपाली प्राविधिकबाटै निर्माण गरिएको सफ्टवेर प्रयोग हुनेछ ।’ विभागका अनुसार ‘नेपाली पोर्ट’मार्फत लिइएको बायोमेट्रिक विवरण अत्यन्तै सुरक्षित हुनेछ । यसको सोर्स कोड अध्यागमनभित्रै रहने हुँदा यात्रुका सम्पूर्ण विवरण नेपाल सरकारको नियन्त्रणमा रहनेछ । यही विवरणमार्फत जुनसुकै उद्देश्यबाट मुलुक भित्रिने विदेशी नागरिक पहिचान गरिनेछ । पोर्टले इन्टरपोलमार्फत खोजी भइरहेको अन्तर्राष्ट्रिय अपराधी तथा आतंककारीको पनि पहिचान गर्नेछ ।
 
नेपाली पोर्टले यसरी काम गर्छ
 
अध्यागमन विभाग मातहत ११ अध्यागमन कार्यालय छन् । ती सबै कार्यालयमा ‘नेपाली पोर्ट’ जडान गरिनेछ । मुलुकबाहिर जान चाहने वा मुलुक भित्रिन चाहने जुनसुकै यात्रु पोर्टअगाडि उभिनुपर्नेछ । यात्रुको आँखा पर्ने गरी पोर्टमा ‘रेटिना रिड’ गर्ने मेसिन राखिनेछ । सोही मेसिनमार्फत यात्रुको रेटिनाको विवरण लिइनेछ । त्यसको ठीक तल ‘फिंगर प्रिन्ट’ लिने अर्को मेसिन रहनेछ । उक्त मेसिनमार्फत यात्रुको दुवै हातको विवरण लिइनेछ । पोर्टको सिरानमा अत्याधुनिक क्यामरा रहनेछ । त्यसवेलासम्म उक्त क्यामराले यात्रुको भिडियो तथा फोटो लिइसक्नेछ । यसरी लिइएको विवरण यात्रुले बोकेको मेसिन रिडेबल पासपोर्ट(एमआरपी)सँग रुजु गरिनेछ । यसो गर्दा एमआरपी र पोर्टबाट संकलित बायोमेट्रिक विवरण मिले यात्रुलाई यात्राका लागि अनुमति दिइनेछ । नत्र त्यहीँ रोकिनेछ ।
 
यसरी रोकियो अमेरिकी सफ्टवेर ‘पाइसेस’ 
 
वर्ष दिन अघिसम्म यात्रुको बायोमेट्रिय विवरण लिन नेपालको सबै अध्यागमन कार्यालयमा अमेरिकी रक्षा मन्त्रालयअन्तर्गत रहेको सफ्टवेयर निर्माता कम्पनीले बनाएको ‘पाइसेस’ नामक सफ्वेयर राख्ने भनिएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पालामा अमेरिकी सरकार र नेपाल सरकारबीच सम्झौतासमेत भएको थियो । नेपालको गोप्य विवरण बाहिरिने डरले विभिन्न कोणबाट विरोध भयो । विलम्ब भएपछि अमेरिकी सरकारले नेपालस्थित दूतावासमार्फत नेपाल सरकारलाई विभिन्न कोणबाट दबाबसमेत  दिएको थियो ।  यस विषयमा गृहमन्त्री रामबहादुर थापाले अध्ययन समिति नै बनाएका थिए । समितिले पाइसेस सफ्टवेयर नेपालका लागि उपयुक्त नभएको निष्कर्ष निकालेपछि मात्रै अध्यागमन विभाग नेपाली प्राविधिककै सहयोगमा मौलिक सफ्टवेयर निर्माणमा जुटेको हो ।
 
Published: 10 January 2019/ Naya Patrika

NEWS SEARCH