‘कालको मुखबाट फर्कें’

रोहित राई

धरान - परिवारलाई खुसी दिने सपना बोकेर गत वर्ष कुबेत हिँडेकी धरान १७ की ४० वर्षीया सीता खड्का तामाङ मानव तस्करको चंगुलमा परेर युद्धग्रस्त मुलुक इराक पुगिन्। राम्रो कमाइ गरेर घरमा खर्च पठाउने उनको सपना त चकनाचुर बन्यो नै, त्यहाँ उनलाई पटकपटक मृत्युको मुखमा पुगेको अनुभूति गर्नुप-यो।

इराकमा बिताएको ११ महिना उनका लागि कहालीलाग्दो सपनाझैं छ। इराकबाट दिल्ली, काठमाडौं हुँदै बुधबार साँझमात्र घरमा पाइला टेकेकी सीताले बल्ल राहतको सास फेरिन्। उनी भन्छिन्, ‘कालको मुखबाट फर्किएँ, अबचाहिँ बाचिन्छ भन्ने लागेको छ। ऋणपान गरेर भए पनि उपचार गर्नुपर्ला।’ इराक पुगेको केही समयमै बिरामी परेकी उनले उपचार पाइनन्। हातखुट्टा चलाउनै नसक्दा पनि उनलाई जबर्जस्ती काम गर्नुप-यो। ‘जीउ पनि कटकट दुख्ने। एउटा घरमा काम गर्न नसकेपछि दलालले दुईतीनवटा घर फेर्दै काममा पठाए। कहीँ रातभरि सुत्नै नपाउने। काममा खटिनुपर्ने। बिरामी पर्दा पनि अफिसको मान्छे (दलाल) ले जबर्जस्ती काम गर्न पठाए,’ बिहीबार सामना नेपालको धरान १५ स्थित कार्यालयमा इराकको पीडा पोखिन्। उनले भनिन्, ‘११ महिनामा १७ हजार रुपैयाँ एकचोटि पठाए। कमाउन गएको उल्टै ऋणमा डुबेर आएँ।’
 
सब्जी व्यापार छाडेपछि ऋणको भार बढेर उनी विदेश जाने अठोट गरिन्। छिमेकी शर्मिला राईसँग उनको कुरा र घरव्यवहार मिल्थ्यो। शर्मिलामार्फत कुबेत जान हिँडेकी उनी मानव तस्करको चंगुलमा फसेर इराकमा बेचिइन्। इराक पुगेपछि मात्र आफू बेचिएको उनले चाल पाइन्। उनले कतिसम्म पीडा र यातना खप्नुप¥यो भने बिरामी भएको थाहा पाउँदा काम गर्ने घरबाट फिर्ता भइन्। उनलाई खरिद गरेको दलालले जिम्मा लिनै मानेनन्। सुरुको दलाललाई फोन गरेपछि उनी आएर लिएर गए। त्यसपछि पछिल्लो दलालले कि नयाँ मान्छे देऊ कि साढे सात हजार डलर फिर्ता गर भनेर बार्गेनिङ गरेपछि मात्र उनी आफू बिक्री भएको थाहा पाइन्। ‘म त बेचिएको रहेछु, इराकमा पुगेपछि एउटाले अर्को अफिस (दलाल) लाई बेच्दो रहेछ,’ उनले भनिन्, ‘म अलिअलि निको भएपछि यातना दिन थाल्यो। अब काममा जा नत्र मारेर फालिदिन्छु भन्ने। छुरा देखाउने, पाइप ल्याएर मारिदिन्छु भन्ने।’
 
हिँड्डुल गर्न नसकेर थला पर्दा पनि उनी राम्रोसँग सुत्नखान पाइनन्। उनी सानो सोफामा सुतेर समय कटाउँथिन्। उनलाई लाग्थ्यो, अब मेरो दिन सकिएछ। उनलाई एउटा डक्टरका घरमा काम गर्न जबर्जस्ती पु¥याइयो। त्यहाँ एक दिन पनि टिक्न नसकेर उनी फर्किइन्। दलालले फेरि अर्को घरमा पठाए। असह्य भएपछि उनले घरमालिकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे बताइन्। मनकारी घरमालिकले उपचारमा लग्यो। घाँटीको पछाडि हड्डी चर्किएको रहेछ । त्यतिबेलासम्म यता परिवारले उनको खोजी सुरु गरिसकेको थियो। उनका छोरा सागरले सामना नेपालमा आमालाई सकुशल घर फर्काउन माग गर्दै निवेदन दिएका थिए। सामनाका अभियन्ताहरूले इमोमार्फत उनीसँग निरन्तर सम्पर्क गर्दै उनलाई इराक पठाउने दलाल र मानव तस्करसम्म पुग्न सफल भए।
 
‘सुरुमा शर्मिला राईलाई निकै केरकार गर्नुप¥यो, सीतालाई फर्काउनुस्, नत्र मानव बेचबिखनमा मुद्दा हाल्छौं भन्यौं। उनले पेम्बालाई देखाइन्, पेम्बा भेट्न श्रीमान्लाई काठमाडौं पठायौं,’ सामना नेपालकी अध्यक्ष चेतना श्रेङले भनिन्, ‘पैसा खोज्न लगाएर श्रीमान्, देवर निर्मल र पेम्बालाई दिल्लीमा एजेन्ट भेट्न पठायौं। निरन्तर दबाब दिएपछि सीता घर आइपुगिन्। घर फर्काउने दिन केही पनि नभनी इराकको दलालले गाडीमा राखेर लैजाँदा अब मार्ने रहेछ भन्ने उनलाई लागेको थियो। ‘नेपाल फर्काउने रहेछ, म त मार्न लगेछ भन्ने ठानेको थिएँ,’ उनले भनिन्।
 
यसरी परिन् मानव तस्करको चंगुलमा
 
सीता सब्जी व्यापार गर्थिन्। बिरामी भएपछि छाडिन्। उनको एक वर्ष त्यतिकै बित्यो। घरमा ऋण बढ्यो। ऋणले चिन्तामा परेकी उनले मन मिल्ने छिमेकी शर्मिला राईसँग विदेश जाने कुरा गरिन्। शर्मिलाले काठमाडौंमा आफ्नो सोल्टिनी पेमा शेर्पालाई मान्छे विदेश पठाउने भनेर सम्पर्क गराइदिए। पासपोर्ट बनाउन भन्दै उनीहरूले नै २० हजार पनि दिए। यसरी गत वर्षको साउन २८ गते श्रीमान् रामबहादुरलाई पनि केही पत्तो नदिई कुबेत जाने भनेर सीता घरबाट हिँडिन्।
 
काठमाडौंकी पेमाले बिर्तामोडका कृष्ण तामाङसँग सम्पर्क गराइन्। सीता धरानबाट बिर्तामोड पुगिन्। कृष्णले रिसिभ गरेर त्यसरात त्यहीँ राख्यो। उनीसँगै पाँचजना महिला थिए। भोलिपल्ट सोह्रसत्र वर्षको गणेश जोगी नाम गरेका किशोरले उनीहरूलाई काकडभिट्टा नाका पार गराएर बागडुग्रा पु-याए। त्यसबापत उनले एकजनाबराबर १० हजार रुपैयाँ पाउने बताएको उनले खुलाइन्। नाकामा माइती नेपाल, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कडा निगरानी हुन्छ। तर, उनीहरू सजिलै बोर्डर पार गरे। कसैले सोधिहाल्यो भने पारि आफ्नो मान्छे छ, त्यहाँ गएको भन्नु भनेर पारिपट्टिको ड्राइभरको नम्बर दिएइको थियो। ‘नाकामा पुलिसले सम्पर्क नम्बर मागेर बुझ्न खोज्दा त्यही नम्बरमा फोन गर्छ, उताबाट मेरो मान्छे हो भनिदिँदो रैछ,’ उनले भनिन्, ‘कसैलाई किनमेल गर्न गएको, आइहाल्छु भनेर भन्न लगाउँछ। एकएकजना हुँदै नाका पार गर्नुपर्ने। नाका पार गरिरहँदा मलाई भने कसैले पनि सोधेनन्, सजिलै पार भएँ।’
 
बागडुग्रामा एक रात राखेर भोलिपल्ट उनीहरूलाई दिल्ली पु-याइयो। दिल्लीमा दिल कार्कीले उनीहरूलाई रिसिभ गरे। त्यहाँ ४० जनाजति महिला थिए। उनीहरू झन्डै एक महिनाजति दिल्लीमा बस्नुप-यो। सेटिङ मिलेपछि महिना दिनपछि मानव तस्करले उनलाई दुबई हुँदै ट्राभल भिसामा इराक पु-याए।
 
Published: 11June 2018/ Nagarik

NEWS SEARCH