s

एक महिनादेखि घर फर्कने पर्खाइमा एक सय २५ नेपाली

तेजराज भट्ट

 

धनगढीबाट करिब ४५ किलोमिटर दूरीमा पर्ने भारतीय बजार पलियामा रोकिएका एक सय २५ जना नेपाली घर फर्कने पर्खाइमा छन् । लकडाउनको अवधिमा भारतबाट फर्केर नाकामा पुगेका उनीहरूलाई फिर्ता लगेर क्वारेन्टाइनमा राखिएको हो ।

सरकारले लकडाउन गर्दै नाका सिल गरेपछि भारतमा रोजगारी गर्न गएकाहरू घर फर्कने क्रममा नाकामा पुगेका थिए । कैलालीसँग सीमा जोडिएका गौरीफन्टालगायत सीमानाका पुगेका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पलिया लगेर त्यहाँको वैदिक इन्टरकलेजको क्वारेन्टाइनमा राखेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैलालीका सीमानाकाहरूबाट ११ चैतयता कसैलाई पनि आउन नदिइएको बताए । पलियामा रहेका नेपालीलाई स्वेदश ल्याउन संघीय सरकारको निर्देशन कुरिरहेको उनले बताए ।

संघीय सरकारको निर्देशन नआएसम्म सीमानजिकै भारतीय क्षेत्रमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन नसकिने स्थानीय प्रशासनले जनाएको छ । ‘अन्तर्राष्ट्रिय सीमा सिल गरिएकाले भारतबाट नेपाली नागरिकलाई ल्याउन संघीय सरकारको निर्देशन चाहिन्छ,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘हामी निर्देशनको पर्खाइमा छौँ ।’

पलियामा क्वारेन्टाइनमा बसेका कसैको पनि कोरोना संक्रमणबारे जाँच नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खानपान, बसोवासलगायत उनीहरूको अवस्था बुझ्ने कार्य नियमित भइरहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

लकडाउनको अवधिमा सीमानाका र नाकानजिक पुगेका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समन्वयमा उतैको क्वारेन्टाइनमा पठाइएको सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका प्रमुख प्रहरी उपरीक्षक कमलप्रसाद तिउसिनाले बताए ।

नेपालीहरूलाई खानपान र बसोवासमा कुनै कमी हुन नदिन भारतीय समकक्षीलाई आग्रह गरिएको र यसबारे निरन्तर समन्वय हुने गरेको उनले बताए । यस्तै ४५ जना भारतीय नागरिकलाई धनगढीमा क्वारेन्टाइनमा राखिएको छ ।

कैलालीमा भारतसँग जोडिएको एक सय एक किलोमिटर नाका सशस्त्र प्रहरीले पुरै सिल गरेर आवतजावत पूर्ण रूपमा बन्द गरेको छ । सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारत हो । लकडाउनअघि मात्रै कोरोनाको त्रासले भारतबाट सयौँ नेपाली घर फर्केका छन् ।

Published on: 1 May 2020 | Nayapatrika

Link

Back to list

;