s

यूएईमा गैरकानुनी बस्नेलाई ‘आममाफी’ सुरु

दुबई : बिना कागजात (गैरकानुनी) रूपमा यूएईमा बसोबास गरिरहेका बिदेशी नागरिकहरूका लागि भिसा आममाफी (एम्नेस्टी) सुरु भएको छ । गत आइतबार १ सेप्टेम्बरदेखि लागू हुने गरी भिजिट वा रेसिडेन्स भिसा ‘ओभरस्टे’ भएका वा अन्य कुनै कारणले गैरकानुनी तवरले बसोबास गरिरहेकालाई कानुनी दायरामा ल्याउनका लागि ६० दिनको अवधि तोकी आममाफी घोषणा गरिएको हो ।

विभिन्न कारणले यूएईमा अलपत्र परेका नेपालीहरूले यस आममाफीबाट लाभ लिन सक्नेछन् । तर, फौजदारी मुद्दा लागेका वा भिसासँग सम्बन्धितबाहेक अन्य कुनै पनि मुद्दा लागेकाहरूले भने आममाफी पाउनका लागि उक्त केसबाट छुट्कारा पाउनुपर्ने छ ।

सबै प्रकारका भिसाहरू रेसिडेन्स (कामदार, व्यवसाय, विद्यार्थी वा अन्य) वा भिजिट भिसामा बसेका व्यक्तिहरूले आफ्नो भिसा अवधि समाप्त भएर पनि यूएईमै बसिरहेकाहरूले यो आममाफीको फाइदा लिन सक्नेछन् भने यो आममाफी अक्टोबर ३१ सम्म चल्नेछ । भिसाको नियम उल्लंघन गर्नेहरूको स्थितिलाई नियमित गर्ने पहलले सहिष्णुता, करुणा र सामाजिक एकताको मूल्यहरू बढाउँछ र उल्लंघन गर्नेहरूलाई असाधारण समर्थन प्रदान गर्दछ, तिनीहरूलाई मद्दत गर्दछ ।

भिसा, रेसिडेन्सी, परिचयपत्र, स्थापना कार्डसम्बन्धी आर्थिक जरिवानाबाट छुट दिँदै लचिलो र सरल प्रक्रियाहरूमार्फत अनुग्रह अवधिमा तिनीहरूको अवस्था सुधार गर्न आवश्यक कदमहरू चाल्दै आएको छ, गत हप्ता सम्पन्न पत्रकार सम्मेलनमा अध्यागमन प्राधिकरणका कार्यवाहक महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले भनेका छन् ।

नेपाली दूतावास अबुधाबीले एक सूचना जारी गर्दै गैरकानुनी तवरले बसोबास गरिरहेका सबैले उक्त सुबिधा लिन अनुरोध गरेको छ । आममाफीको अवधिपश्चात् पनि अटेर गरे गैरकानुनी बसेमा सजायको भागिदार हुने दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

आममाफीमा संलग्नहरू कुनै पनि बेला यूएईमा आउन सक्नेछन् अर्थात् प्रतिबन्ध लाग्ने छैन । आफ्नो मुलुक फर्कन चाहनेहरूले ट्राभल अनुमति पाएको १४ दिनभित्र यूएई छोडिसक्नुपर्ने छ । यूएईमै काम खोजेर बस्न चाहनेहरूले कुनै कम्पनीको अफर लेटर लगेर नयाँ भिसा लगाउन सक्नेछन् ।

यूएईमा रेसिडेन्स र टुरिस्ट भिसामा झन्डै ६ लाख नेपाली रहेको अनुमान छ । यूएईमा कति नेपाली गैरकानुनी बसोबास गरिरहेका छन् भन्ने यकिन तथ्यांक भने नेपाली दूतावाससँग छैन ।

Published on: 5 September 2024 | Annapurna Post

Link

Back to list

;