s

श्रमिकको पीडा र मई दिवस

खिलानाथ दाहाल 

मानव जीवनमा महत्तव राख्ने ‘८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरन्जन’ भन्ने मूल नाराका साथ आजभन्दा १३४ वर्षअघि अमेरिकाको सिकागोका मजदुरले सुरु गरेको आन्दोलन एवं सहादत प्राप्त गर्नुहुने मजदुर नेताहरूको स्मरण एवं सम्मानमा आज संसारभरिनै मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) मनाइँदैछ। सन् १८९० देखि संसारभरिका श्रमिकहरूले आफ्नो विजयउत्सवका रूपमा मनाउन प्रारम्भ गरेको अन्तर्राष्ट्रिय श्रमिक दिवसले १३० वर्षको उतारचढाव पार गर्दै आएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन विगत एक वर्षको श्रमिक आन्दोलनको समिक्षा गर्दै आगामी एक वर्षका निम्ति कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले घोषणापत्र जारी गर्ने प्रचलनसमेत रहिआएको छ। 

यस वर्षको मई दिवस मनाउँदै गर्दा विश्व कोरोना भाइरसको महामारीबाट प्रताडित छ। कोभिड —१९ को संक्रमण रोक्न कुनै औषधि एवं खोपको अन्वेषण हालसम्म हुन सकेको छैन। अमेरिका, बेलायत, चीन, भारत र जर्मनलगायतका शक्ति राष्ट्रहरू कोभिड—१९ विरुद्घको खोप एवं औषधि पत्ता लगाउन दिनरात मेहेनतका साथ लागिरहेका छन्। कोभिड —१९ का विरुद्घ हालसम्म औषधि एवं खोप अन्वेषण नभएको हुँदा संक्रमण फैलिन नदिनका निम्ति निश्चित दूरी कायम गर्ने, भिडभाडमा नजाने जस्ता कार्यलाई व्यवहारमा कार्यान्वयन गर्ननिम्ति मुलुक तथा स्थान विशेषलाई लकडाउन गर्ने रणनीति संसारका प्रायः सबै मुलुकहरूले अवलम्बन गर्दै आएका छन्। लकडाउनका कारण विश्वको अर्थतन्त्र खस्किएको अवस्थामा छ। 

कोभिड—१९ को महामारी र लकडाउनको कारण सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय, शैक्षिक प्रतिष्ठानहरू बन्द छन्। ज्याला तथा करारमा कार्यरत असंगठित क्षेत्रका मजदुर, स्वरोजगार, साना तथा मझौला उद्योग व्यवसायलगायत ठूलाठूला उद्योग तथा व्यापारिक प्रतिष्ठानमा कार्यरत करोडांै मजदुरको रोजगारी गुमेको छ। कोभिड—१९ को महामारीका कारण अमेरिकामा मात्र करिब तीन करोेड श्रमजीवी बेरोजगार भएका छन्। युरोप, अमेरिका, एसिया, एसिया प्यासिफिक तथा अफ्रिकाका मुलुकलगायत विकसित मुलुकमा कार्यरत करोडौंको संख्याका श्रमिक बेरोजगार बन्दै छन्। हालसम्मको अवस्थालाई मूल्यांकन गर्दा संसारभरिका करिब ३० करोड नागरिक गरिबीको रेखामुनि झर्ने छन्। कोभिड —१९ को महामारी बढ्दै गएमा वा लकडाउनको अवधि लम्बिँदै गएमा यो संख्या निरन्तर बढ्नेछ। 

सम्पूर्ण मजदुरलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराई कार्यथलोलाई सुरक्षित बनाउँदै उत्पादन तथा सेवा व्यवसायलाई निरन्तरता प्रदान गर्नुपर्छ।

संसारका अन्य मुलुकहरूमा जस्तै नेपाल पनि कोरोना भाइरसको महामारीको चपेटामा परेको छ। सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, व्यापारिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठानलगायत सरकारी एवं गैरसरकारी कार्यालयहरूसमेत विगत ५ हप्तादेखि बन्द छन्। साना तथा मझौला उद्योग व्यवसाय ठप्प छन्। पर्यटन तथा होटेल एवं यातायात क्षेत्र सुनसान छ। निर्माण क्षेत्रका काम प्रायजसो ठप्प छन्। लाखौंको संख्यामा श्रमजीवी बेरोजगार भएका छन्। करार, ज्यालादारी एवं स्वरोजगार श्रमजीवीहरूको काम र आम्दानी गुमेका कारण काठमाडौंलगायतका विभिन्न औद्योगिक सहरहरूबाट आआफ्नो जन्मस्थान फर्कन विवश छन्। 

खाडी, मलेसियालगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमजीवी गन्तव्य मुलुकमा रोजगारी तथा आम्दानी गुमेका कारण आफ्नै जन्मथलो फर्कन आतुर छन्। हजारौंको संख्यामा भारतको सीमानाकामा रहेका नेपाली नेपाल फर्कने पर्खाइमा छन्। 

लाखौंलाई रोजगार प्रदान गर्दै आएको कृषि क्षेत्रसमेत कोभिड— १९ को मारमा परेको छ। मौसममा उत्पादन गर्ने चिया व्यवसाय र चिया मजदुरको अवस्था पीडादायक छ। कुखुरापालन व्यवसाय, तरकारी व्यवसाय, दुग्ध व्यवसाय, पशुपालन व्यवसाय उठ्नै कठिन हुनेगरी थला परेको छ। 

कोभिड—१९ संक्रमणको मारमा स्वास्थ्य सेवासमेत परेको छ। मिर्गौला, मुटु, क्यान्सर, मस्तिष्कघात, क्षयरोग, औलो ज्वारोलगायतका जीवन जोखिममा पार्न सक्ने दीर्घ रोगहरूको नियमित उपचारसमेत हुन सकेको छैन। सहज अवस्थामा स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी असुल्न उद्यत निजी अस्पताल विपत्तीको अवस्थामा सर्वसाधारणको उपचारमा आनाकानी गर्दै आफ्नो सक्कली अनुहार उदांगो बनाउँदै छन्। निश्चित उमेरमा पाउनुपर्ने खोपहरूबाट समेत सानासाना बालबालिका वञ्चित छन्। गरिब तथा विपन्न वर्गका व्यक्ति नै यसको मारबाट बढी प्रताडित छन्। 

यस्तो परिवेशमा २०७७ साल वैशाख १९ गते (मे १) का दिन विगत वर्षहरूमा जस्तै हर्ष र उल्लासका साथ १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) मनाउने अवस्था छैन। यद्यपि नेपालका ट्रेड युनियनहरूको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मई दिवसको एक दिनअघि आफ्ना धारणा सार्वजनिक गर्ने प्रचलनलाई निरन्तरता दिएको छ।

कोरोना भाइरसको संक्रमणका विरुद्घ लडिरहेको नेपालको वर्तमान परिवेशमा यस वर्षको मई दिवस मनाउँदै गर्दा निम्नानुसारका मुद्दाहरूलाई उठान गर्दै समयमै उपयुक्त समाधानका उपायहरूको खोजी गर्नुपर्छ। 

१. कोरोना भाइरसको संक्रमणको रोकथामका निम्ति लामो समयसम्म कायम रहेको लकडाउनले करार, ज्यालादारीमा कार्यरत असंगठित क्षेत्रका मजदुर, पर्यटन तथा होटेल क्षेत्रमा कार्यरत मजदुरहरू, निर्माण तथा इट्टा भट्टामा कार्यरत मजदुर, साना तथा मझौला उद्योग व्यावसायिक प्रतिष्ठान र विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूमा कार्यरत श्रमजीवीको रोजगारी गुमेका कारण आम्दानीको स्रोतमा व्यापक ह्रास आएको हुँदा सबै क्षेत्रमा कार्यरत श्रमजीवीका निम्ति तत्कालै राहत प्याकेजको घोषणा गरिनुपर्ने। 

२. जनचेतनाको अभावमा कोरोना भाइरसको संक्रमणको असर गरिब, विपन्न, सीमान्तकृत तथा अशिक्षित व्यक्तिहरूमा ज्यादा पर्ने हुँदा कोरोना भाइरसबाट बच्नका निम्ति लक्षित समूहलाई सचेतनाका कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने र कोरोना भाइरस संक्रमणको परीक्षणलाई व्यापकरूपमा अगाडि बढाइनुपर्ने। 

३. कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न श्रमिकहरूलाई कोभिड —१९ का विरुद्घ बिमाको व्यवस्था गरिनुपर्ने। 

४. योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले असंगठित क्षेत्रका मजदुर एवं स्वरोजगारलाई समेत समेट्ने व्यवस्था गरेको भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली एवं कार्यविधिले औपचारिक क्षेत्रलाई मात्र समेटेको हुँदा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठित एवं स्वरोजगार श्रमिकलाई समेत सम्बोधन गरी कार्यान्वयन गरिनुपर्ने। 

५. कोभिड— १९ का विरुद्घ आफ्नो जीवन आहुती दिन तत्पर सम्पूर्ण स्वास्थ्यकर्मी एवं दैनिक जीवन सहज बनाउननिम्ति अत्यावश्यक क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमजीवीलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तत्कालै व्यवस्था गरिनुपर्ने। 

६. स्वरोजगार एवं साना तथा मझौला उद्योग व्यवसाय सानो–सानो पुँजीको लगानीमा स्थापित रोजगारमूलक उद्योग व्यवसाय भएको हुँदा त्यस्ता व्यवसायको निरन्तरताका निम्ति विशेष प्याकेजकोे व्यवस्था गरिनुपर्ने। 

७. सबै स्थानीय तहमा सीप र प्रविधिमा आधारित उत्पादन एवं सेवामूलक व्यवसायको स्थापनामा जोड दिइनुपर्ने। 

८. दैनिक जीवनमा आवश्यक प्रविधिका बारेमा साक्षरता अभियान सञ्चालन गर्दै प्रविधिमा आधारित शिक्षालाई व्यवहारमा लागु गर्न पहल गरिनुपर्ने।

९. कृषि पेसा नै रोजगारीको थप अवसर सिर्जना गर्ने मुख्य पेसा भएको हुँदा कृषिमा आधारित उद्योग, व्यवसाय स्थापना गर्न आवश्यक पुँजी, सीप र प्रविधिको व्यवस्था विभिन्न तहको सरकारबाट नै गरिनुपर्ने। 

१०. मुलुकको अर्थतन्त्र दिगो बनाउन निरन्तर विप्रेषण पठाउने वैदेशिक रोजगारीमा कार्यरत श्रमजीवीलाई तत्कालै उद्घार गरिनुपर्ने र वैदेशिक रोजगारबाट फर्किनेहरूसँग पुँजी, सीप र काम गर्ने अनुभव समेत रहेको हुँदा उनीहरूलाई विभिन्न रोजगारमूलक उद्योग, व्यवसाय स्थापना एवं सञ्चालन गर्नका निम्ति प्रोत्साहित गरिनुपर्ने। 

११. सबै प्रकारका रोगको उपचार एवं खोपहरूलाई निरन्तरता प्रदान गर्दै स्वास्थ्य क्षेत्रलाई राज्यले बढी प्राथमिकता प्रदान गरी व्यापकरूपमा लगानी गर्नुपर्ने र एक स्थानीय तहमा कम्तिमा ५० बेडको अस्पतालको स्थापना गरिनुपर्ने। 

लकडाउन सधैंका लागि होइन केही समयका लागि मात्र हो। लकडाउन हटाउँदै गर्दा सम्पूर्ण मजदुरलाई आवश्यक व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराई कार्यथलोलाई सुरक्षित बनाउँदै उत्पादन तथा सेवा व्यवसायलाई निरन्तरता प्रदान गर्नुपर्छ। काम एवं रोजगारी मर्यादित हुनुपर्ने, श्रमजीवीले न्यूनतम ज्याला पाउनुपर्ने, सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायराभित्र समेट्नुपर्ने, श्रमिकको अभिलेख स्थानीय तहमा राखिनुपर्ने, सामाजिक सहयात्रीहरूसँगको सामूहिक सौदाबाजीमार्फत श्रमिकका मुद्दाहरूको सम्बोधन गरिनुपर्ने, समान कामका लागि समान ज्याला हुनुपर्ने जस्ता मुद्दा श्रमिक आन्दोलनका आधारभूत मुद्दा हुन्। 

शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा आवास र रोजगार, मर्यादित कामका पाँच मुख्य अधिकार हुन्। बेरोजगारलाई रोजगार दिनुपर्ने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिनुपर्ने व्यवस्था वर्तमान संविधानले नै गरेको छ। सबै श्रमजीवीलाई मुलुकभित्र सीपअनुसारको काम दिन सकेमा कोरोनाको संक्रमण मुलुकको विकासका निम्ति अवसर समेत सावित हुन सक्छ। 

-दाहाल, नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष हुन्।

Published on: 1 May 2020 | Annapurna Post

Link

Back to list

;