s

श्रमाधान रोजगार मेलामा ८५ लाख ३३ हजार खर्च, १४ हजार ७८८ ले काम पाउने अपेक्षा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्खरै सकाएको 'श्रमाधान रोजगार मेला' मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ।

आइतबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले मेलाबारे विवरण सार्वजनिक गरेको हो।

मन्त्रालयका सह सचिव एवं प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक सार्वजनिक गरे।

त्यस्तै, रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको बताए। मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले जानकारी दिए।

मेलामा विभिन्न शीर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थाहरूसँग सहकार्य गरिएको मेलाका संयोजक समेत रहेका रिजालले बताए।

उनका अनुसार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रूपैयाँ खर्च भएको छ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मेलामा रोजगारदाताले प्रतिबद्धता जनाए अनुसार रोजगारी प्रदान भए/नभएको मन्त्रालयले रेकर्ड राख्ने बताए।

'मेला मात्रै सम्पन्न भयो तर, रोजगारदाताले प्रतिबद्धता जनाए अनुसारको युवालाई रोजगारी दिए नदिएको विषयमा मन्त्रालयले निरन्तर जानकारी लिनेछ,' उनले भने।

रोजगारीका आवेदन दिने युवाले पनि रोजगारी पाए नपाएको मन्त्रालयले जानकारी लिने उनले उल्लेख गरे।

मन्त्रालयले गत जेठ १७ गतेदेखि ३० गतेसम्म सातवटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको थियो।

मेलामा सीप विकास कार्यशालाहरू, नेटवर्किङ सत्रहरू, स्टलहरू र रोजगारीका अवसरहरूमा प्यानल छलफलहरू सञ्चालन गरेको थियो।

Published on: 1 July 2024 | Setopati

Link

Back to list

;