s

शिक्षक विदेशिएपछि दुई वर्षदेखि पढाइ प्रभावित

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ६ स्थित महेन्द्रोदय माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि दुई वर्षदेखि पठनपाठन प्रभावित भएको छ।

अंग्रेजी शिक्षक प्रदीप थापा साढे दुई वर्षदेखि इजरायलमा छन्। उनले स्वास्थ्य समस्या देखाउँदै विद्यालयमा विद्याको निवेदन दिएको भएपनि दुई वर्षको विद्या स्वीकृत गराएर रोजगारीका लागि विदेश गएको विद्यालय स्रोतले जनाएको दिएको छ। शिक्षक थापा बेतलबी विदामा बसेपछि विद्यालयले लियन पदमा अर्को शिक्षक नियुक्ति गरेको थियो। थापाले थप एक वर्ष पुनः विद्या बस्न फागुनमा विद्यालयमा निवेदन दिएका थिए।

विद्यालय व्यवस्थापन समितिले पुनः विद्या नदिने निर्णय गरेको थियो। समितिको बैठकले शिक्षक थापा दुई वर्ष असाधारण विद्यामा बसिसकेकोले तेस्रो वर्षको विद्या स्वीकृत नगर्ने निर्णय गरेको थियो। तर, प्रधानाध्यापक कृष्णप्रसाद दंगालको सहजीकरणमा थापाले २०८० फागुन ९ देखि २२ गतेसम्म विद्यालयमा हाजिर गरेर हिँडेको व्यवस्थापन समितिका सदस्य बाबुराम कार्कीले जानकारी दिए। लियन शिक्षक पनि हटाउने र दरबन्दीको शिक्षकसमेत नहुँदा विद्यार्थीहरूको पढाइ प्रभावित भएको विव्यस सदस्य कार्कीले बताए।

शिक्षक थापाले शिक्षा विकास तथा समन्वय इकाइमा बिरामी पुर्जासमेत राखेर विद्या स्वीकृतको पत्र पठाएका थिए। विद्यालय व्यवस्थापन समितिले कुनै निर्णय नगरेकोले दर्तामात्र गरेर राखेको इकाई प्रमुख कृष्णप्रसाद सुवेदीले जानाए। विद्यालयलले विद्या स्वीकृत गरी अर्को शिक्षक राख्नु पर्ने कि अवकाशको प्रक्रियामा लैजानु पर्ने सुवेदी बताउँछन्।

गत माघदेखि विद्यालयमा अंग्रेजी पढाउने शिक्षक नहुँदा एसईईमा सबैभन्दा बढी अंग्रेजीमै अनुत्तीर्ण भएका छन्। प्रधानाध्यापक दंगाललाई शिक्षक व्यवस्थापन गर्न अनुरोध गर्दा खाली पिरियडका शिक्षकबाट काम चलाइरहेको कक्षा १२ का विद्यार्थी निशान परियारले बताए। प्रधानाध्यापक कृष्णप्रसाद दंगालले वैदेशिक रोजगारीमा गएका शिक्षकलाई बचाउन भूमिका खेलेको शिक्षक, अभिभावक र विद्यार्थीहरूले टिप्पणी गरेका छन्।

विद्यालयमा शिक्षक थापा अनुपस्थित भएपछि विद्यालय व्यवस्थापन समितिले गाउँपालिकालाई शिक्षक व्यवस्थापनका लागि लिखित अनुरोध गरेको छ। सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना भने विद्यालयले गाउँपालिकालाई अहिलेसम्म आधिकारिक कुनै पनि जानकारी नदिएको र जानकारी दिएमा नियम संगत प्रक्रिया अघि बढाउने बताए।

विद्या स्वीकृत गर्ने अधिकार सबै विद्यालय व्यवस्थापन समितिको अधिकार भएको र विद्यालयले आफ्नो प्रक्रिया पूरा गरेर गाउँपालिकामा आए त्यसपछिको प्रक्रिया आफूहरूले सुरु गर्ने तिमिल्सिनाको भनाइ छ।

अभिभावकहरूले छिटो शिक्षक व्यवस्थापन गर्न भने पनि विद्यालयले कुनै चासो नदिएको अभिभावकहरूले गुनासो गरेको छन्। व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकका छोराछोरी विद्यालयमा नपढ्ने भएकाले उनीहरूलाई चिन्ता नलागेको विद्यालय व्यवस्थापन समितिका सदस्य रामलाल तामाङले गुनासो गरे।

Published on: 2 August 2024 | Annapurna Post

Link

Back to list

;