s

सर्बियामा बन्धक नेपालीलाई उद्धार गर

वैदेशिक रोजगारीका लागि सर्बियामा पुगेका ११ नेपाली अझ आकर्षक कमाइको प्रलोभनले अर्को मुलुक जान खोज्दा तस्करको कब्जामा परेका छन् । इजिप्ट लैजान हिँडाइएका उनीहरूलाई सर्बियाकै जंगलमा राखेर नेपालमा रहेका परिवारजनलाई फोनमार्फत फिरौती मागिरहेका छन् ।

उनीहरूले मागेबमोजिमको रकम नपठाए ज्यान लिने चेतावनीसमेत दिइरहेका छन् । यसले परिवारजनमा चिन्ता चुलिएको छ । पूर्वी युरोपली मुलुकमा बन्धकमा परेका ती युवाको सुरक्षाका लागि सरकारले अविलम्ब प्रभावकारी कदम चाल्न अत्यावश्यक देखिएको छ ।

मासिक कमाइ साढे पाँच सय युरो हुने विश्वासमा जनही साढे ६ लाख हाराहारी रकम बुझाएर सर्बिया पुगेका युवा तस्करको बन्धक बनेका हुन् । बन्धक बनेकामा झापाका मात्र पाँच जना छन् । सर्बियामा कबुल गरिएअनुसार तलब नपाएका उनीहरूलाई दलालहरूले इजिप्टमा अझ आकर्षक रोजगारी दिलाइदिने आश्वासन दिएर पछि लगाएका थिए । तर सर्बिया नकट्दै बन्धक बनाएर परिवारजनलाई फोन गरेर तीन–तीन लाख रुपैयाँ मागिरहेका छन् । ज्यानै लिने धम्की दिइएका कारण परिवारजनले ऋणपान गरेर रकम पठाइरहेका छन् तर उनीहरू मुक्त भइहाल्छन् कि हुँदैनन्, इजिप्ट नै पुर्‍याएर रोजगारी दिलाइन्छ कि दिलाइँदैन, अलपत्रै छाडिने हो कि भन्ने चिन्ता कायमै छ ।

रोजगारीका लागि विदेश पुर्‍याइएका नेपाली ठगिएका, अलपत्र पारिएका वा बन्धक बनाइएका घटना उति नौलो होइन तर उदेकको विषय के हो भने यस्ता घटना हुने अवस्था आउनै नदिन राज्यका तर्फबाट प्रभावकारी पहल भएकै छैन । हरेक दिन १५ सयभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि आफ्नो मुलुक छाडिरहेका छन् । तिनीहरूमध्ये थोरैले मात्र सम्झौताअनुरूप काम र तलब पाउँछन् । अधिकांश नेपाली श्रमिक दलाल र रोजगारदाता कम्पनीबाट कुनै न कुनै रूपमा ठगिइरहेका छन् । श्रमस्वीकृतिबिनै विभिन्न मुलुक पुर्‍याएर अलपत्र पारिएका नेपाली हजारौं छन् ।

नेपालसँग श्रम सम्झौता नै नभएका मुलुकमा समेत आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर लाखौं असुल्दै पठाउने दलालहरू गाउँ तहसम्मै सक्रिय छन् । द्वन्द्वग्रस्त मुलुकमा समेत कामका लागि नेपाली पुगेका छन् । दलालहरूको विश्वासमा परेर रुसी सेनामा समेत भर्ती हुन पुगेका युवाले घर फिर्तीका लागि हारगुहार गर्नु परिरहेको छ । यस्तो ठगी धन्दामा विदेशीसँग सञ्जाल बनाएर नेपाली दलालहरू नै सक्रिय छन् । रोजगारीका लागि सर्बिया पुगेका नेपालीलाई इजिप्ट पुर्‍याउने प्रपञ्चमा पनि नेपाली दलालकै संलग्नता देखिन्छ । यस्तो दलालीमा सक्रिय नेपालीलाई मात्रै सरकारले निगरानी गर्न सक्ने हो भने ठगीधन्दा न्यूनीकरण हुन सक्छ ।

स्वदेशमा रोजगारीको सीमित अवसरका बीच स्वरोजगारीको उपायसमेत पहिल्याउन नसक्दा वैदेशिक रोजगारीमा जानु नेपाली युवाको बाध्यता बनेको छ । मुख्य श्रम गन्तव्य खाडी तथा मलेसियामा मात्र करिब १७ लाख नेपाली कार्यरत छन् । जापान, दक्षिण कोरिया, क्यानाडा, अस्ट्रेलियाजस्ता पुराना गन्तव्यका अलावा युरोपेली मुलुकहरूमा समेत जाने क्रम बढिरहेको छ । पछिल्लो समय रोजगारीका लागि पूर्वी युरोपतिर लाने र त्यहाँबाट बिस्तारै दक्षिण–पश्चिम युरोप पुर्‍याउने गिरोह सक्रिय छ र उनीहरूको फन्दामा नेपाली युवा परिरहेका छन्, लाखौं कमाउने सपनामा लाखौं डुबाइरहेका छन् । सरकार भने वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्सको बढ्दो अंक हिसाब गरेर मक्ख छ ।

रोजगारीका लागि विदेश जान लालायित युवालाई सरकारले रोकेर राख्न सम्भव छैन तर वैध प्रक्रियाबाट श्रम गन्तव्यमा जाने र सुरक्षित एवं मर्यादित रूपमा काम गर्ने वातावरण निर्माणमा भूमिका निर्वाह गर्न सक्छ, गर्नुपर्छ । वैदेशिक रोजगारीसम्बन्धी जनचेतना अभियानलाई गाउँस्तरसम्मै पुर्‍याउनुपर्छ । आकर्षक गन्तव्य एवं पारिश्रमिकको प्रलोभन देखाउँदै ठगीधन्दा चलाउने गिरोहमाथि निगरानी बढाउनुपर्छ । विदेशी भूमिमा श्रम र पसिना बगाउन जुन दरमा नेपाली युवा बाहिरिइरहेका छन्, त्यो सरकारका लागि चिन्ताको विषय बन्नुपर्छ ।

स्वदेशमा जतिसक्दो बढी रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । सरकारले पूर्वाधार निर्माणजस्ता काममा तीव्रता दिए, निजी क्षेत्रलाई उद्योग–व्यवसायमा प्रोत्साहन गरे रोजगारीका अवसरहरू सिर्जना हुन सक्छन् । युवालाई स्वदेशमै स्वरोजगार बन्ने अनुकूल वातावरण तयार गरिदिए काम खोज्न विदेश जाने क्रम घट्न सक्छ । तत्काललाई भने सर्बियाको जंगलमा तस्करले बन्धक बनाएका नेपाली युवालाई जतिसक्दो छिटो उद्धार गर्न सरकारले सक्रियता देखाइहाल्नुपर्छ ।

Published on: 2 July 2024 | Kantipur

Link

Back to list

;