s

साउदी जेलको कथा

होम कार्की

गैरकानुनी रुपमा साउदीमा काम गर्ने नेपाली कामदारले घर फर्किन पैसा तिरेर नर्कजस्तो जेलमा केही महिना बिताउँछन् । आप्रवासी कामदारका लागि मात्र बनाइएको जेलको कथा । 

साउदीको दमामस्थित ९१ जेलको दृश्य । यो जेलको कोठा नम्बर ४ हो । हलजस्तो कोठाभित्र उज्यालो छैन । कोठा बीचमा आधा बारेको छ । कोठा मान्छेले टनाटन भरिएको छ । अगाडि पाइला बढाउँदा पनि मान्छे पन्छाउनुपर्छ । भुइँमा नअटेर भर्‍याङमा पनि मानिस बसेका छन् । तापक्रम ५० डिग्रीमा पुगेको छ । कोठामा एसी छैन । हावा आउने/जाने ठाउँ छैन । मानिसहरू जे भेटिन्छ, त्यसैले हम्किरहेका छन्, कसैले सर्ट त कसैले पानीको बोतल । भित्तामा झोलाहरू झुन्डाइएको छ । सिमेन्ट ढलान गरिएको भुइँमा केही ओछ्याइएको छैन । हुनेले ब्ल्यांकेट बिच्छाएको छ, नहुने खाली भुइँमै छन् । र, यो कोठामा भएका सबै 'थुनुवा' नेपाली हुन् । 

ठाउँको अभावले उनीहरू आरामसँग बस्न पाएका छैनन्, खुट्टा खुम्चाएर टुक्रुक्क बसेका छन् । एकअर्काका शरीरमा टाँसिएका छन् । भित्तामा ठाउँ पाएकाले भने खुट्टा तन्काउन पाएका छन् । सीधा सुत्ने ठाउँ छैन, कोल्टे परेका छन् । होहल्ला ज्यादा छ । अधिकांश एकोहोरो खोकिरहेका छन् । एकजना बिरामीलाई खाली भुइँमा लम्पसार पारेर राखिएको छ । पाँच दिनसम्म पनि उनले उपचार पाएका छैनन् । 

यो जेलमा तीन महिना बसेर फर्केका पाल्पाका झमनबहादुर विकले लुकेर खिचेको भिडियोमा मैले माथिको दृश्य देखेको हुँ । लामो समयदेखि साउदी जेलको दृश्य हेर्न खोजे पनि दुई साताअघि झमनको टोली काठमाडौं आइपुगेपछि मात्र त्यो चाहना पूरा भयो । यो टोलीमा झुम्का सुनसरीका सुरेशकुमार बुढाथोकी, संखुवासभाका रमेश विश्वकर्मा, स्याङ्जाका राजेन्द्र भण्डरी, केशबहादुर आले, भोजपुरका गौरीप्रसाद लुइटेल, सोलुखुम्बुका नीलकुमार गिरी र महोत्तरीका अकबर रायम थिए । 

९१ जेल 'फिर्ती केन्द्र'को नामले परिचित छ । गैरकानुनी हैसियत भएपछि स्वदेश फिर्न अनिवार्य रूपमा त्यहाँ बस्नुपर्छ । जहाँ कम्तीमा ३ महिना बस्दा बल्ल घर फर्किने पालो आउँछ । यस्तै अर्को फिर्ती केन्द्र टाइपको जेल जेद्दामा पनि छ । घर चाँडै पठाउने भएकाले साउदीका अन्य स्थानमा पनि गैरकानुनी हैसियतमा बसेका नेपाली कामदार पक्राउ पर्नका लागि दमाम पुग्ने गरेका छन् । 

तीन महिना यो 'जेल' बसेर आएका झमनले भने, 'मान्छे नर्क भन्थे, नर्क त्यही रहेछ ।' 

===========

पहिलोपटक यो कोठामा पुग्दा झमन ढलेछन् । 'मैले जीवनमै यस्तो दृश्य कहिल्यै देखेको थिइनँ । त्यो भीडमभीड देख्दा छाँगाबाट खसेजस्तो लाग्यो,' उनले भने । 

बस्ने ठाउँ कतै नपाएपछि उनी पाँच दिनसम्म शौचालयमा बसे । त्यसअघि उनीसहितको ८५ जनाको समूहले रियादको अलहापस्थित अलहासा सेन्टर जेलमा १८ दिन बिताएको थियो । घर फिर्न भनेर १२ सय रियाल टिकटको पैसा बुझाएपछि प्रहरीले त्यहाँबाट ९१ जेलमा पुर्‍यायो । अलहासा जेल धेरै ठूलो थियो । त्यहाँ सुत्न मिल्ने, समयमा खान पाइने सुविधा थियो । त्यहाँ नेपाली केटीहरू पनि थिए । त्यसमा स्वदेशी, विदेशी ठूला अपराध गरेकाहरू बस्थे । तर, घर र्फकन भनेर बस्ने जेल यस्तो थिएन । 'कोठाको हालत देखेपछि जस्तोसुकै मै हुँ भन्ने पनि गुल्टिन्छ,' उनले भने । 

जुन कम्पनीको काममा गएको हो, त्यसलाई छोडेर अन्त काम गर्नेहरू घर आउँदा जेल जानुपर्छ । काम ज्यादा, कम ज्याला हुँदा धेरैजसो कामदार भाग्छन् । झमनबहादुरले खानासहित ६ सय रियाल मात्रै ज्याला पाए । सुरेश बुढाथोकीले ७ महिना बित्दा पनि घरमा ५० हजार पठाउन सकेनन् । दानबहादुरलाई तीन दिनसम्म विमानस्थलमा लिन मालिक आएनन् । ५ सय रियाल पाउने रमेशको ज्याला दुई वर्षपछि मात्रै २० रियाल बढ्ने भयो । जोखिम मोलेर काम गर्नेहरूले १५ देखि २५ सय रियाल कमाइरहेको देखेपछि यिनीहरू पनि 'गैरकानुनी' बने । 

===========

जेलभित्र खाप्सा -उसिनाजस्तो) चामलको भात आउँछ । त्यो पनि निकै थोरै । 'एकजनालाई पुग्ने आउँछ, चारजनाले खानुपर्छ । एक गाँस खाएर अर्को गाँस टिप्न लाग्दा थालै रित्तिसक्छ,' रमेशले अनुभव सुनाए । रोटी पनि त्यति नै थोरै दिइन्छ । खानेपानीको व्यवस्था छैन । पैसा हुनेले त पानी खान्छन् । नहुनेले शौचालयको सफा नगरिएको ट्याङ्कीको पानी खान्छन् । महोत्तरीका अकबर रायमले सुनाए, 'तीन दिनसम्म लगातार पानी खाए घाँटी पूरै समातिहाल्छ ।'  

खानेपानी नभएको ठाउँमा नुहाउन पाइएला भन्ने कुरै भएन । यो जेलमा जुम्राको पनि प्रकोप छ । 'शरीरभरि टोक्ने जुम्रा भेटिन्छ । दिनमा ६/७ पटक त जुम्रै मार्नैको झन्झट,' झमनले भने । 'जेलभित्रको वातावरणमा आफूलाई ढाल्न सक्ने मात्रै नेपाल फर्किन सक्छन्,' झमनले भने । 

'उपचार नपाएर आँखाअगाडि साथीहरूको मृत्यु हुँदा, आत्महत्या गर्दा र मानसिक रूपमा विक्षिप्त भएको देख्दा के स्थिति होला ?' सुरेशकुमारले भने, 'हरेक दिन कोही न कोही बेहोस भइरहन्छन् ।' 

दमामको यही जेलमा प्रहरीको पिटाइबाट कपिलवस्तुका एकजनाको ज्यान गयो । रामेछापका एकजनाले आत्महत्या गरे । 'ठेउला आएका संखुवासभाका अशोक राईलाई उपचार गर्नुको सट्टा कालकोठरीमा लगेर हालिदियो,' उनले भने, 'त्यहाँ पूरै अँध्यारो हुन्छ । छामेर जानुपर्छ ।' जेलमा बेला बेला प्रहरी आउँदा झन् तनाव हुन्छ । कोचिएर बसेकाले बाटो लिन सक्दैनन् । अनि बाटो नछाडेको भन्दै प्रहरीले पिट्दै अगाडि बढ्छ । 

===========

कालकोठरीबाट फेर्केकाहरू नेपाली दूतावाससँग खुसी छैनन् । 'जेलभित्र बिरामी परेर मान्छे मर्न लागिसक्यो, उपचारको लागि फोन गर्दा पत्याउँदैन्, उल्टै धेरै फोन नगर्नु भन्छन्,' अकबरले भने, 'ट्राभल डकुमेन्ट बनाउन अनुरोध गरेमा दूतावासको कर्मचारीले हामीलाई सोधेर भागेको हो र भन्छन् ।' 

'बंगलादेशको दूतावासले आफ्ना बिरामी नागरिकलाई तुरुन्त लिएर जान्छ, फिलिपिन्सले जेलभित्रै तलब दिलाइदिन्छ', रमेशले भने, 'नेपाली दूतावासले एउटा सिटामोल पनि दिँदैन । हाम्रो दूतावासका कोही नआएपछि प्रहरीले भारतीय दूतावासलाई बोलाउँछ । नेपाली भन्नेबित्तिकै एम्बुलेन्स लिएर आइहाल्छ ।' 

जेलभित्र पनि दलालीको चलखेल ठूलै छ । 'जेलभित्र नेपाली डन भनाउँदाहरू छन् । उनीहरू जेलभित्रका नेपालीलाई नियन्त्रण गर्छु भनेर प्रहरीसँग मिलेर स्वतन्त्र भएर बस्छन्,' राजेन्द्रले भने, 'त्यस्ताले र्फमको पैसा लिने, दूतावासलाई उजुरी दिएमा पिट्ने, प्रहरीलाई अनावश्यक कुरा लगाएर दुःख दिने गर्छन् । उनीहरूले छिटो पठाइदिन्छु भन्दै पैसा असुल गर्छन् । पैसा दिनेलाई छिटो पनि उडाउँछन् । नदिने हेर्‍याहेर्‍यै । त्यस्ताहरू ११ महिनासम्म जेल बसेर कमाएर घर जाँदारहेछन् ।'  

बल्ल बल्ल जेलबाट निस्केर विमानस्थल आइपुगे पनि सबै घर फर्किन सक्दैनन् । कतिपयको औंठाछाप नमिलेर पुन जेल जानुपर्छ । 'त्यतिखेर जस्तो निराशा कहिल्यै हुँदैनरहेछ,' झमनले आफ्नै कहानी सुनाए । बचेर स्वदेश आएपछि बिरामी पर्नेहरू पनि छन् । 'कसैलाई टीबी भएको छ, कसैको त ज्यानै गएको छ,' उनले सुनाए ।

काठमाडौं उत्रेको एक सातासम्म पनि झमनसहितको टोली बिरामी थिए । 'टाउको निकै दुख्छ, बाहिर राम्ररी आँखा राम्ररी हेर्न सक्दिनँ,' पाल्पा जानुअघि नयाँ बसपार्कस्थित लजमा उनले भने, 'कालकोठरीबाट जोगिएर आउन सफल भइयो । जिन्दगीमा अहिलेजस्तो मिठो निद्रा कहिल्यै लागेको थिएन ।' 

Published on: 23 June 2012 | Kantipur

Back to list

;