s

रोजगार सूचना केन्द्रलाई प्रभावकारी बनाइने

मुलुकमा बेरोजगारका बारेमा कुनै औपचारिक तथ्यांक नभएका बेला सरकारलाई रोजगार सूचना केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने काम सुरु गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले बेरोजगारीको तथ्यांक संकलन गर्ने उद्धेश्यसाथ सूचना केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागेको हो । 

'केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशक पारित भएको छ,' मन्त्रालयका उपसचिव बुद्धिबहादुर खड्काले भने, 'केन्द्रले रोजगारदातालाई आवश्यक जनशक्ति पूर्तिका लागि पनि सघाउनेछ ।' प्रत्येक अञ्चलमा रहेको रोजगार कार्यालयमा रहने केन्द्रमार्फत सूचना संकलन गरिने उनले बताए । 'हामीले वेबसाइटमार्फत पनि बेरोजगार दर्ता गर्न सक्ने व्यवस्था गर्ने भएका छौं,' उनले भने । सरकारले केही वर्षअगाडि नै केन्द्रहरू सञ्चालनमा ल्याए पनि प्रभावकारी रूपमा काम भएको थिएन । 

'बेरोजगारको लगत संकलन र अद्यावधि गर्ने काम प्रभावकारी रूपमा भएको थिएन,' उनले भने । निर्देशिकामा १६ वर्ष पूरा भएका बेरोजगार वा सेवा परिवर्तन भएको व्यक्तिले नाम दर्ता गर्न सक्ने व्यवस्था छ । 

सरकारले पूर्ण बेरोजगार, सेवा सकिएर बेरोजगार भएको, आंशिक बेरोजगार, भइरहेको सेवा परिवर्तन गर्न चाहने, सीप र योग्यता नमिलेका कारण सृजित बेरोजगारलगायतका क्षेत्रका बेरोजगार समेट्ने भएको छ । उनीहरूले व्यक्तिगत विवरणसहित सूचना दिनुपर्नेछ । 

यस्तै रोजगारदाताले पनि आफूलाई चाहिएको जनशक्तिको विवरण केन्द्रमा बुझाउन दिन सक्ने उनले बताए । यो सूचना वेबसाइटमार्फत बेरोजगारलाई उपलब्ध गराइने उनले बताए । 

Published on: July 2012 | The Kantipur Post

Back to list

;