s

रेमिट्यान्समा डिजिटल प्रविधिको प्रयोग बढ्दो

साउदी : विश्वव्यापी रूपमा प्रविधिको विकाससँगै मौलाएको डिजिटल रेमिट्यान्सको प्रभाव साउदी अरबमा निकै नै बढ्दै गएको छ । साउदी अरबबाट रेमिट्यान्स गर्दा विभिन्न किसिमका वालेट कम्पनीहरू, मोबाइल एपहरू, साउदीस्थित टेलिकम प्रोभाइडर, फिन्टेक कम्पनीहरू र स्थानीय बैंकहरूले विभिन्न देशका नागरिकलाई लक्षित गरेर रकमान्तरको लागि डिजिटल रेमिट्यान्सको सेवालाई दिनप्रतिदिन बढाउँदै लगेका छन् ।

डिजिटल प्रविधिको प्रयोग गरेर गरिने रेमिट्यान्सबाट सेवाग्राहीको समय बचत हुनुका साथै अझ बढी सुरक्षित र चाहेको बखत रेमिट्यान्स गर्न सकिने र डिजिटल रेमिट्यान्सको प्रभाव र उपयोगिता साउदीको बजारमा बढ्दै गए पनि रोजगारीमा रहेका नेपालीको यसमा आकर्षण भने कमै रहेको छ । ग्लोबल आईएमई बैंकको तर्फबाट जिससी प्रमुखका रूपमा कार्यरत रामबहादुर क्षेत्रीका अनुसार साउदी अरब नेपालमा धेरै रेमिट्यान्स भित्रिने देशमध्येको एक हो ।

नेपालमा भित्रिने रेमिट्यान्समध्ये खाडी क्षेत्रबाट मात्रै लगभग ६५ प्रतिशत भित्रिने गरेको छ । रेमिट्यान्स पठाउन आएका कतिपय श्रमिक नेपाली बैंकमा गएर पैसा नगद बुझाएर रेमिट्यान्स गरेको रसिद हातमा नलिएसम्म रेमिट्यान्स गरेजस्तै नलाग्ने बताउँछन् ।

क्षेत्रीले पछिल्लो समयमा नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ तथा विभिन्न संघसंस्थाको कार्यक्रममा वित्तीय सचेतना कार्यक्रम चलाउँदै आएका छन् । उनका अनुसार साउदीबाट हुने कुल रेमिट्यान्सको करिब २५ प्रतिशत रेमिट्यान्समात्रै डिजिटल प्रविधिको प्रयोग गरेर नेपाल पुग्ने गरेको बताए । हरेक बैंकले डिजिटल प्रविधिबाट नेपालमा रेमिट्यान्स गर्ने विभिन्न मोबाइल एप्लिकेसन विकास गरेका छन् ।

अधिकांश विकासोन्मुख मुलुकहरूको आम्दानीको प्रमुख स्रोत नै रेमिट्यान्स मानिन्छ । हाम्रो नेपाली अर्थतन्त्र पनि रेमिट्यान्सले धान्दै आएको छ । नेपाल राष्ट्र बैंकले समेत विदेशमा दुःख गरेर कमाएको रेमिट्यान्स नेपाल सुरक्षित तरिकाले पठाउन विभिन्न ५१ रेमिट्यान्स कम्पनीलाई अनुमति दिएको पाइन्छ ।

जुन कम्पनीहरूले अमेरिका, अस्ट्रेलिया, युरोप, कोरिया, जापान तथा खाडी मुलुकहरू साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका मुलुकबाट सुरक्षित तरिकाबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको पाइन्छ ।

Published on: 1 August 2024 | Annapurna Post

Link

Back to list

;