s

कतारमा पहिलो पटक एमआरपी वितरण

नेपालमा साढे चार महिनादेखि मेसिन रिडेबल राहदानी -एमआरपी) जारी भए पनि कतारमा भने नेपाली एमआरपी पहिलोपटक मे १ मा वितरण भएको छ । कतारमा पहिलो एमआरपी कतारमै जन्मिएको १ महिना २० दिनका वालक श्रेय रौनियारले पाएका छन् ।

राहदानी लिन विराटनगर निवासी श्रेयलाई काखमा लिएर उनकी आमा ममता, बुवा धीरेन्द्र र दाइ सिद्ध नेपाली दूतावास पुगेका थिए । दूतावासमा राजदूत डा. सूर्यनाथ मिश्रले उनलाई एमआरपी हस्तान्तरण गरे । 'हामो परिवारमा उनको पहिलो एमआरपी हो,' पेसाले इन्जिनियर रौनियारले कान्तिपुरलाई भने । उनी परिवारसहित कतारमा छन् । यस्तै, कतारमै जन्मेका अर्का बालक घुमारा-१, कपिलवस्तुका अड्नान खानले पनि एमआरपी पाएका छन् । एपआरपी लिन उनका बुवा मोहम्मद मोकिन दूतावास पुगेका थिए । 'भारतमा जाँदा फोटो कोट्याई कोट्याई हेर्थे, अब एमआरपी भएपछि सजिलो हुने भो' उनले भने । पहिलो लट आएको एपआरपी बुझेका तेह्रथुम जलजले-५ का गोविन्द आचार्यले हस्तलिखित पासपोर्ट लफडा परेर हराएपछि अस्थायी रूपमा अर्को निकालेर काम चलाएको र एमआरपी सुरु भएपछि यो निकालेको बताए । 'एक महिनामा निस्कियो' उनले पासपोर्टको गुणस्तर हेर्दै भने, 'यो धेरै सफा र स्पष्ट छ । 'सात वर्षअघि कतार आएदेखि घर नगएका आचार्यले अब नयाँ पासपोर्ट लिएर डिसेम्बरतिर घर जाने सोचमा छन् ।

कतारमा एक सयभन्दा बढीले एमआरपीको फाराम भरे पनि पहिलो खेपमा जम्मा १३ जनाको मात्र आएको दूतावासका द्वितीय सचिव जयबहादुर राई बताए । यहाँ कार्यरत नेपालीले एमआरपीको लागि फाराम भरेर दस्तुरसहित बुझाएपछि दूतावासले परराष्ट्र मन्त्रालयमा पठाउने गर्छ । कतारमा पहिलो लट एमआरपी अपि्रल २८ मा आएको थियो । कसैले फाराम भरेको करिब एक महिनाभित्र एमआरपी आए पनि कतिपयले तीन महिनासम्म पनि आफ्नो एमआरपी नआएको गुनासो पोखेका छन् । 'आफ्नो एमआरपी कहिले आउँछ ? भनेर सोधिरहन्छन् । पहिल भरिसकेकामध्ये कतिको अझै आएको छैन,' राईलेे कान्तिपुरसँंग भने, 'हामीले परराष्ट्रमा ताकेता गरिरहेका छौं ।'

दूतावासले हस्तलिखित पासपोर्टको म्याद २०१५ नोभेम्बर २४ सम्म कायम रहने हुँदा म्याद भएका पासपोर्ट बाहक आत्तिन नपर्ने बताएको छ । पासपोर्टको म्याद सकिन लागेको, च्यातिएको,  अक्षर नबुझिने भएको, हराएको, भिसा लगाउने ठाउँ नभएकोहरूले एमआरपी लिनुपर्ने हुन्छ । एमआरपीको लागि सरकारले निश्चित मापदण्डको फोटोको पृष्ठभूमि र साइज तोकेको छ । दूतावासले एमआरपीको लागि परराष्ट्र मन्त्रालयले तोकेको २ प्रति फाराम -जुन फाराम दूतावासमा पाइन्छ) भर्नुपर्ने, नागरिकता र पुरानो पासपोर्टको फोटोकपी पेस गर्नुपर्ने, ६ प्रति फोटो र ३ सय रियाल शुल्क बुझाउनुपर्ने जनाएको छ । दूतावासले फोटोमा दाग लाग्न सक्ने भएर फाराम फिर्ता नआओस् भनेर ६ प्रति लिने गरेको छ । फारम भर्दा फोटोमा स्टिच गर्न हुँदैन ।

परराष्ट्रको सूचनाअनुसार नेपालबाट एमआरपी पासपोर्ट लिनको लागि रीतपूर्वक भरेकोे दुईवटा दरखास्त फारम, नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रति प्रतिलिपि, राहादानी दस्तुर तिरेको रसिद, पहिले लिइसकेकाहरूको सवालमा पुरानो पासपोर्टको कपी आवश्यक पर्छ । दस वर्ष समयावधि तोकेर जारी गरिएको राहदानीको दस्तुर ५ हजार नेपाली रुपैयाँ लाग्नेछ भने विशेष कारणबाहेक हराएमा वा अन्य कारणले अर्काे लिनुपरेको खण्डमा भने दोब्बर अर्थात् १० हजार रुपैयाँ बुझाउनुपर्नेछ । एमआरपी सम्बन्धमा सरकारले निर्देशिका जारी गरेको छ भने विस्तृत जानकारीको लागि परराष्ट्र मन्त्रालयको आधिकारिक वेबसाइट धधध.mयाब।नयख।लउ मा पनि हेर्न सकिने परराष्ट्रले जनाएको छ ।

फोटो कस्तो हुनुपर्छ ?
६ महिनाभित्र खिचेको ४५ वाई ३५ मिलिमिटर साइजको २ प्रति रंगीन फोटो, जसको पृष्ठभूमि सादा र हलुका रंगको हुनुपर्नेछ । फोटो पूर्णरूपमा अगाडि फर्किएको, दुवै कान देखिने, टाउको पूरा र काधको केही भाग देखिने, छाया नपरेको बनाउन भनिएको छ । मुख बन्द भएको, चहकिलो रंगको लुगा नलगाएको, कुल फोटोमध्ये ८० प्रतिशत अनुहार भएको, आँखा प्रस्ट देखिने तथा विशेष धार्मिक कारणबाहेक टाउको खुला भएको फोटो हुनुपर्ने परराष्ट्रको सूचनामा छ ।

Published on: 12 May 2011 | Kantipur

Back to list

;