s

प्रवासमा रहेका नेपाली समस्यामा

भगीरथ अवस्थी

बैतडी : भारतमा जारी लकडाउनका कारण नेपाली नागरिक समस्यामा परेका छन्। रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगेका नागरिक लकडाउनका कारण समस्या परेका हुन्।

रोजगारिका लागि भारतको हरियाणा राज्यको अम्बलामा रहेका नेपालीलाई दैनिक छाक टार्न मुस्किल भएको त्यहाँ रहनु भएका बैतडीको सुर्नया गाउँपालिका ७ का केशवबहादुर साउदले जानकारी दिए। उनले भने, ‘कोरोना कारण लकडाउन भएसँगै काम गर्ने कम्पनी सबै बन्द भएका छन्। आफूसँग भएको पैसासमेत सकिएको छ।’

अम्बलामा सुर्नयाका मात्रै ४० भन्दा बढी नागरिक रहेका उनले बताए। लकडाउनका कारण सबै होटल, कम्पनी बन्द हुँदा नेपाली मजदुर मारमा परेका हुन्। कमाएको पैसासमेत सकिँदा दैनिक छाक टार्न मुस्किल भएको साउदले बताए। उनले भने, ‘कोरोना कारण हामी प्रवासमा रहेकालाई रोगसँगै भोकको डर पनि भएको छ। धेरै जसो नेपालीको छाक टार्न मुस्किल भइसकेको छ।’

यस्तै भारतको दिल्लीमा रहेका नेपाली मजदुरले पनि छाक टार्न समस्या भएको बताएका छन्। रोगको सन्त्रासका साथै छाक टार्नसमेत समस्या भएको त्यहाँ रहेका बैतडीको सुर्नयाका ७ का जयबहादुर मडैले बताए। उनले भने, ‘यस्तो अवस्थामा हामीलाई स्वदेश फर्काउन पहल गरे हुन्थ्यो। विदेशी भूमीमा हामीलाई निकै समस्या भएको छ।’

यस्तै भारतको हैदरावादमा रहेका नेपालीले छाक टार्न मुस्किल भएको बताएका छन्। आफूहरुले काम गर्ने सबै कम्पनी बन्द भएपछि हातमुख जोर्न समस्या भएको सुर्नया गाउँपालिका ६ का केशव अवस्थीले बताए। उनले भने, ‘तेलांगना राज्यामा लकडाउनको अवधि समेत बढाएको छ। यसले गर्दा हामीहरुलाई धेरै समस्या भएको छ।’

भारतका विभिन्न स्थानमा लाखौँ नेपाली छन्। लकडाउनसँगै उनीहरुको रोजीरोटीमा धक्का लागेको छ। भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले केही गरेको छैन् भने प्रवासमा रहेका नेपालीहरु समस्यामा परेको बताइरहेका छन्। सुदूरपश्चिमका पनि लाखौं नेपाली रोजगारीका लागि भारतमा छन्।

Published on: 1 May 2020 | Annapurna Post

Link

Back to list

;