सविता शर्मा
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद् सम्बोधनमार्फत् सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा रोजगारीका लागि बिदेश जानुपर्ने स्थितिको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने नयाँ कार्यक्रम समावेश गरिने भएको छ । तर स्वदेशमै केही गराँैं भन्ने सोच बोकेर बैदेशिक रोजगारीबाट फर्केका युवाको सीप, क्षमता र ज्ञानलाई उपयोग गर्ने सम्बन्धमा भने नीति तथा कार्यक्रममा नबोलिएको भन्दै कतिपय युवाले गुनासो व्यक्त गरेका छन् ।
बैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरिरहनुभएका उत्तम अधिकारी भन्नुहुन्छ,“बिदेशबाट फर्केको जमात के गर्दै छ ? यो जनशक्तिसँग भएको पूँजी र सीपलाई उत्पादनशील क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ ? भन्ने कुराको खोजी गरिने सङ्केत नीति तथा कार्यक्रममा पाइएन ।’
उहाँका अनुसार सरकारले योजना र कार्यक्रम बनाएर त्यस्ता युवाकोे पुँजी र सीपको उपयोग हुन उपयोग आउन सके राम्रो हुने थियो । सीप, क्षमता र पूँजी भए पनि विदेशबाट फर्किएको धेरैजसो जनशक्ति अलपत्र अवस्थामा रहेको आफूलाई जानकारी रहेको उहाँको भनाइ छ । उहाँले बिदेशबाट कमाएर ल्याएको पैसा केही समय डुल्ने–घुम्नेमा सकिएपछि पुनः बिदेश फर्किने अवस्था धेरै युवाको रहेको आफूले पाएको बताउनुभयो ।
बैदेशिक रोजगारीबाट फर्केका युवाको तथ्याङ्कसमेत अहिलेसम्म कुनै सरकारी निकायले सङ्कलन गरेको छैन । बैदेशिक रोजगारीबाट फर्केर आएका युवालाई सरकारले उचितरुपमा सम्बोधन गर्नका लागि पनि तथ्याङ्कको जरुरी पर्दछ । यस्ता युवा देशभरि छरिएर रहेका छन् र उनीहरू कतै संगठित पनि भएका छैनन् । युवाको पूँजी सीप, क्षमता, ज्ञान र अनुभव स्पष्टसँग खुल्ने तथ्याङ्क भएमा नयाँ र राम्रा सम्भावनाका उत्पादनशील क्षेत्रमा उनीहरुको सीपको उपयोग गर्न सकिने भुक्तभोगी युवाको अनुभव छ ।
बैदेशिक रोजगारीमा रहेका श्रमिकका बारेका जानकार बिष्णु खत्री बिदेशबाट फर्केकाहरू सामाजिक पुँुजीसँगै सीप, दक्षता र अनुभव लिएर आउने हुँदा त्यस्तो जनशक्ति प्रयोग गर्नका लागि पनि तथ्याङ्क राख्न जरुरी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“इजरायलमा कृषि पढेर÷सिकेर आउने कति छन् ? कोरियाबाट कृषि र उद्योगमा के कस्ता सीप सिकेर आए उनीहरुको सीपको प्रयोग कहाँ गर्दा मुलुक र ती युवाको हितमा हुनसक्छ ? यसको खोजी र सम्बोधन गर्न आवश्यक छ ।”
अध्यागमन विभागसँग कति विदेश गए र कति नेपाल आए भन्ने कोरा तथ्याङ्क मात्र छ तर कुन उद्देश्यका लागि विदेश गए भन्नेसमेत तथ्याङ्क नभएको कतिपय युवाको भनाइ रहेको छ अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी राजुप्रसाद पौडेलले भन्नुहुन्छ,“हामीले तथ्याङ्क वर्गीकरण गरेर राखेका छैनौं, गएको, आएको र राष्ट्रियता मात्र हाम्रो तथ्याङ्कबाट खुल्छ । अब सफ्टवेयर अपडेट गर्दा कुन भिसामा गएको र आएको हो छुट्याउनचाहिँ खोजेका छौं ।”
श्रम स्वीकृति लिएर बिदेश जाने र आउनेको तथ्याङ्कलाई सफ्टवेयर बनाएर व्यवस्थित गर्दा यस्तो तथ्याङ्क सजिलै सङ्कलन गर्न सकिने जानकारहरूको भनाइ छ । बैदेशिक रोजगार विभाग र अध्यागमन विभाग मिलेर यो काम सजिलै गर्न सुझाव ती युवाको छ ।
युवा खत्री युवाको उमेर, सीप, क्षमता, अनुभव र रुचिको क्षेत्र खुल्ने गरी तथ्याङ्क सङ्कलन गर्न सकेमा उनीहरुका लागि लक्ष्यित कार्यक्रम गर्न पनि सजिलो हुुने बताउनुहुन्छ । उनीहरुको क्षमता रुचि र उमेर पहिचान गरी सरकारले केही ‘प्याकेजहरू’ बनाइनुपर्ने र त्यस्तो कार्यलाई सरकारका नीति र कार्यमक्रममै समेट्नु पर्ने उल्लेख गर्दै भन्नुहुन्छ,“बिदेशबाट फर्कन चाहनेहरु पनि यस्ता प्याकेजबाट आकर्षित हुनसक्छन् । यस्तो दर्ताको प्रणाली विकास गरेर केही नयाँ र आकर्षक ऋण अथवा व्यवसाय गर्नका लागि सहज हुने खालका प्याकेज बनाइयो भने आफैं पनि दर्ता गर्न आउँछन् ।”
Published on: 24 May 2018 | Gorkhapatra
GET IN TOUCH