s

पोखरामा श्रम तथा रोजगार कार्यालय : अब पोखराबाटै पुनः श्रम स्वीकृति

रोहितराज पराजुली

गण्डकी प्रदेशको राजधानी पोखराबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बिहीबार पोखरामा श्रम तथा रोजगार कार्यालय सञ्चालनमा ल्याएसँगै पुनः श्रम स्वीकृति लिन सकिने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दुई वर्षका लागि चीनको मकाउ जान लागेका नवलपुरका खडकबहादुर गुरुङ र गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले दुई वर्षका लागि युएई जान लागेका स्याङ्जाका चन्द्रमान गुरुङलाई पुनः श्रम स्वीकृतिसहितको राहदानी हस्तान्तरण गर्दै बिहीबार कार्यालयको उद्घाटन गरेका थिए । 

कार्यालयका निमित्त प्रमुख रमेश श्रेष्ठका अनुसार कार्यालय स्थापनासँगै गण्डकी प्रदेशसहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं जानुनपर्ने भएको छ । मन्त्रालयले वैदेशिक रोजगार विभागलाई विकेन्द्रित गर्ने उद्देश्यसहित सातवटै प्रदेशमा कार्यालय खोल्ने योजना बनाएको बताए । सोहीअनुरूप पोखरामा कार्यालय स्थापना भएको उनको भनाइ छ । पहिलो चरणमा कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुने र विस्तारै पूर्वस्वीकृतिसँगै विभागबाट हुने सबै काम पोखराबाटै हुने उनले जानकारी दिए । यसअघि मन्त्रालयले प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलमा कार्यालय स्थापना गरिसकेको छ ।
 
Published On: 11 January 2019 | Naya Patrika

Back to list

;