s

परराष्ट्रले अघि बढायो युएईका तत्कालीन राजदूत ढकालमाथि कारबाही प्रक्रिया

कार्यसम्पादनमा भएका कमजोरी उजागर गर्ने सञ्चारकर्मीलाई मुद्दा लगाएर जेल पठाउने युएईका लागि तत्कालीन राजदूत कृष्णप्रसाद ढकाल (हाल परराष्ट्र मन्त्रालयका सहसचिव) विरुद्ध सरकारले कारबाही अगाडि बढाएको छ । ढकाललाई कारबाहीका लागि पेस भएको निवेदनमा परराष्ट्रमन्त्री एनपी साउदले तोक आदेश दिएका छन् ।

श्रमिकको हकहितमा लेख्ने र दूतावासको नेतृत्वबाट भएका लापरबाहीको विषयमा अलोचनात्मक प्रश्न उठाउने पत्रकार महासंघ युएई शाखाका सदस्य उमाकान्त पाण्डेविरुद्ध तत्कालीन राजदूत ढकालले उजुरी दिएर जेल हालेका थिए । यो विषय बाहिर आएपछि ढकालले उजुरी फिर्ता लिएर पाण्डे कारागारमुक्त भएका छन् । तर, उनको रोजगारी गुमेको छ भने लाखौँ खर्च भएको छ । ढकालमाथि कारबाही तथा न्यायको माग गर्दै पाण्डेले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए । प्रधानमन्त्री कार्यालयले निवेदनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन परराष्ट्रमा पठाएको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले प्रधानमन्त्री कार्यालयबाट आएको निवेदनमाथि कारबाही प्रक्रिया अघि बढेको जानकारी दिए । ‘मन्त्रीज्यूबाट कारबाहीसम्बन्धी निवेदनमा प्रशासनमा आइपुगेको छ,’ उनले भने, ‘अगाडिको कारबाही सचिवज्यूको मार्गनिर्देशनमा अगाडि बढ्छ ।’ ढकालमाथि कस्तो कारबाही हुने भन्ने टुंगो सचिवस्तरबाटै हुने उनले बताए । यो प्रकरणमा अब परराष्ट्रसचिव भरतराज पौड्यालले निर्णय लिनेछन् ।

२०१८ जुलाईदेखि चार वर्षका लागि युएईमा राजदूत रहेका ढकाल हाल मन्त्रालयमा कार्यरत छन् । देशको प्रतिनिधित्व गरेर नेपालीको हकहित र संरक्षण गर्ने राजदुतको जिम्मेवारीमा छँदा उनले नेपाली श्रमिकलाई उल्टै दुःख दिएको, रोजगारदाता कम्पनीसँग कमिसनको खेलमा लागेको, श्रमिकको गुनासो सुनुवाइ नगरेको विषय बाहिर आएका थिए । युएईमा टिकटक बनाउने श्रमिकदेखि सामाजिक सञ्जालमा स्टाटस राख्ने पत्रकारसम्मलाई समेत उनले जेल पठाएका थिए ।

अर्घाखाँचीका उमाकान्त पाण्डे १७ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई पुगेका थिए । रोजगारीको साथमा उनले काठमाडौंस्थित रेडियो उज्यालोका लागि युएईबाट रिपोर्टिङ पनि गर्थे । सन् २०२२ मा बुबाको मृत्यु भएका वेला उनी १३ दिने कर्म पूरा गर्न नेपाल आएका थिए । सोही अवधिमा उनले भिजिट भिसामा युएई पुगेका युवा अलपत्र परे भन्ने समाचार सुने । बुबाको १३ दिने कर्ममा रहेका पाण्डेले सामाजिक सञ्जालमा सोही विषयमा टिप्पणी गरेका थिए ।

बुबाको काम सकेर युएई पुगेपछि १५ फेब्रुअरी २०२२ मा उनलाई युएई सिआइडीले फोन गरेर कार्यालयमा डाक्यो । उनी सिआइडी कार्यालय पुगे । प्रहरीले उनलाई नियन्त्रणमा लियो । पाण्डेले आफूले गरेको अपराधको विषयमा सोधपुछ गर्दा सिआईडी कार्यालयले राजदूत ढकालले तीन महिना जेल र युएईबाट डिपोर्ट गर्नु भन्दै उजुरी दिएको पत्र देखायो । त्यसपछि हिरासतबाटै उनले आफ्नो परिवारलाई सम्पर्क गरी ढकालको उजुरीमा प्रहरी हिरासतमा रहेको जानकारी दिए ।

ढकालले परराष्ट्रमन्त्री, सचिवसहित मन्त्रालयमा पाण्डे मानव तस्कर र हुन्डीमा संलग्न भएकाले युएई प्रहरीले नियन्त्रण लिएको झुठो ‘ब्रिफिङ’ गरेका थिए । केही दिनपछि यो घटना विभिन्न मिडियामा आयो । नेपाल पत्रकार महासंघ युएई शाखाको नेतृत्वमा आन्दोलन पनि भयो । काठमाडौंबाट गएको पत्रकार महासंघको टोलीले युएईमै पुगेर गरेको अनुसन्धानपछि राजदूत ढकालले पत्रकार पाण्डेलाई जेल हाल्न लेखेको निवेदन हस्ताक्षरसहित फेला पारेको थियो । महासंघले सो प्रमाण परराष्ट्रमन्त्री र सचिवसमक्ष पेस गरेपछि उनले उजुरी फिर्ता लिए । र, पाण्डे जेलबाट छुटेका थिए ।

पीडित पत्रकार उमाकान्त पाण्डेले क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका थिए । सरकारले ढकाललाई संरक्षण दिएर पीडितलाई थप पीडा दिएको पाण्डेले गुनासो गरे । ‘ढकाल दोषी हुन् । यो सबै प्रमाणित भइसकेको छ । तैपनि सरकारले संरक्षण गर्नु भनेको नायालकपन हो । म पत्रकार थिएँ र बोल्न सकंँ । तर, बोल्नै नसक्ने अझै धेरै पीडित छन् । उनीहरूको पीडा कसले सुन्ने,’ उनले भने । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ढकाललाई कारबाही गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको बताए । आफ्नै नागरिकलाई विदेशी जेलमा राख्ने व्यक्तिले सरकारको कर्मचारी भइरहन नसक्ने उनको भनाइ छ ।

Published on: 10 August 2023 | Naya Patrika

Link

Back to list

;