s

मुना पाण्डेले एक वर्षअघि नै कसैले पछ्याइरहेको भन्दै मागेकी थिइन् सहयोग

१८ भदौ, काठमाडौं । अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेलाई एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने देखिएको छ ।

क्लिकटुह्युस्टन डटकमसँग कुरा गर्दै उनका साथी दीपेन्द्र कुँवरले पाण्डेले एक वर्षअघि आफूलाई कसैले निरन्तर पछ्याइरहेको भन्दै सहयोग मागेकी बताएका छन् ।

‘उनले त्यसबेला कुनै व्यक्ति झ्यालमा आएका छन् भनेकी थिइन्, कसैले उसलाई पछ्याइरहेको थियो’, कुँवरले भनेका छन्, ‘झ्याल र ढोका आसपास हिँडिरहन्थ्यो, त्यसैले उनले मलाई बोलाएकी थिइन्, पुलिसलाई पनि बोलाएका थियौं ।’

त्यसपछि आफूले नै अपार्टमेन्ट बाहिर सर्भिलेन्स क्यामेरा राख्न सहयोग गरेको कुँवरले बताएका छन् । क्यामेरा राखेपछि भने ती संदिग्ध व्यक्ति त्यहाँ देखिन छाडेका थिए । उनलाई त्यसबेला कसले पछ्याएको थियो भन्ने कहिल्यै खुलेन ।

कुँवरका अनुसार, क्यामेरा राखेपछि उनलाई मुनाको सुरक्षाबारे त्यति चिन्ता लागेको थिएन । तर, एक्कासी उनको अपार्टमेन्ट बाहिर अघिल्लो साता सोमबार अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको थियो । प्रहरीले हत्यामा सर्भिलेन्स क्यामेराको फुटेजका आधारमा एक जना संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना मागेको थियो ।

त्यसक्रममा प्रहरीले बबि सिंह शाह नामक व्यक्तिलाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए । शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ ।

प्रहरीले हालसम्म हत्याको कारण भने खुलाएको छैन । हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको बताइएको छैन ।

मुना सन् २०२२ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

मुनाकी साथी आरुसा निरौलाले आफ्नो साथीमाथि सोच्नै नसकिने घटना भएको भन्दै न्यायको माग गरेकी छन् । उनले फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘मेरो प्रिय साथी, पूर्वरुममेट दुखद् रुपमा हामीबाट खोसिएकी छन्, यस्तो विभत्स रुपमा भएको साथीको हत्या सहन सक्ने किमिसको छैन ।’

उनकी आमाका अनुसार, दुई दिनदेखि मुनाको मोबाइलमा सम्पर्क भइरहेको थिएन । मुनाको स्थायी थलो भोजपुर हो । उनकी आमा अहिले काठमाडौंमै बस्दै आएकी छन् ।

Published on: 4 September 2024 | Onlinekhabar

Link

Back to list

;