s

मृगौला फेर्न सवारी मजदुरलाई सहयोग

दुवै मृगौला काम नलाग्ने भएपछि उपचारका लागि स्वदेश फर्किएका सवारी मजदुर प्रकाश बस्नेतको उपचारका लागि स्वदेश एवं विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । 

दुवईस्थित डिपीवल्र्ड कम्पनीका ट्रकचालक बस्नेत मृगौला प्रत्यारोपन गर्न महँगो भई ज्यान गुम्ने डर भएपछि नेपाल फर्किएका थिए । दुवईमा रहेका केशवराज पाठकसहितले ३७ हजार ७ सय ५०, राजेश छेत्रीलगायतले १३ हजार ५ सय र ज्ञानु शाक्यले २९ सय ५५ सय रुपैयाँ उनको खातामा जम्मा भएको हो ।
 
भीमेश्वर-११, दोलखा घर भएका बस्नेत एक वर्षअघि अरब गएका थिए । नेपाल आएपछि उनले जोरपोटी अत्तरखेलस्थित काठमाडौं मेडिकल कलेजमा डायोलोसिस गरिरहेका छन् । त्यहाँ डा.कल्पना श्रेष्ठले उनको स्वास्थ्य जाँच गरेकी हुन् । औषधि र डायोलोसिसलगायतका लागि हप्तामा १५ हजार रुपैयाँ खर्च हँुदै आएको उनले जानकारी दिए । मृगौला प्रत्यारोपनका लागि लाखौं रुपैयाँ चाहिने चिकित्सकको सिफारिसपछि उनी अत्तालिएका छन् । छिमेकी भारतमा गई प्रत्यारोपन गर्दा करिब १७ लाख र नेपालमा त्यसको आधा रकम लाग्ने उनले जानकारी दिए । अरबमा त्यसको तुलनामा बढी लाग्ने भएपछि नेपाल र्फकन डाक्टरले दिएको सल्लाहअनुसार उनी फर्केका हुन् ।
 
स्वदेश र विदेशका नेपालीबाट आर्थिक सहयोग जुट्ने आशाले उनले हिमालयन बैंकको भक्तपुरस्थित सुकुलढोका शाखामा आफ्नै नाममा ००४०३८४२१२००१७ नम्बरको बचत खातासमेत खोलेको जानकारी दिए । त्यस्तै ९८४१३६९०३४ र ९८०९५३२१२३ सम्पर्क मोबाइलमार्फत समेत सम्पर्क हुन सक्नेसमेत उनले जनाए ।
 
महिनादेखि थलिएपछि उनी कार्यरत कम्पनीले यही डिसेम्बरदेखि नोकरीबाट समेत बिदा दिएको थियो । त्यतिञ्जेल बस्नेतले दुवईको क्यानेडियन र वेलहावल स्पेसिएलिटी अस्पतालमा उपचार गराउँदै आएका थिए । नेपाली मनकारी दाजुभाइ-दिदीबहिनीबाट सहयोग पाए आफूले पुनर्जीवन पाउनसक्ने र पहिलेजस्तै मजदुरी गर्न सक्ने अपेक्षा पनि उनले राखे । 'त्यसैले सहयोगको हात फैलाएको हुँ,' उनले भने । दयनीय अवस्थादेखि सहयोगका लागि दुवईस्थित गैरआवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समितिले पीडित बस्नेतको जीवन बचाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
 
Published on: 20 January 2012 | Kantipur 

Back to list

;