s

मेघालय घटनामा मारिने अर्को पनि नेपाली

काठमाडौँ — भारतको पूर्वोत्तर राज्य मेघालयस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये दुई नेपाली भएको पुष्टि भएको छ । शनिबार मारिएका चार जनामा दुई नेपाली, एक भारतीय हुन् भने अर्को एक व्यक्तिको पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

इलामकाका २३ वर्षीय रवि राई र उही उमेरका धरान फुस्रेका राजेश राईको हत्या भएको हो । रविको पहिचान आइतबार भएको थियो भने राजेशको पहिचान सोमबार मात्र खुलेको हो ।

मेघालयको जयन्तिया हिल्सस्थित उम्प्लेङ गाउँमा मर्ने भारतीय नागगरिक नसर डाकिया हुन् । उक्त घटनास्थल मेघालयको राजधानी सिलोङबाट १ सय ३० किमि दूरीमा रहेको पहाडी क्षेत्रमा पर्छ । घटनाको सम्बन्धमा अध्ययन र अनुसन्धान गर्न मेघालय प्रहरी विशेष अनुसन्धान टोली शनिबारै गठन गरिसकेको छ ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले उक्त घटनाको सन्दर्भमा मेघालय प्रहरीका प्रमुख एलआर विश्नोईलाई टेलिफोन गर्दै घटनाको विस्तृत जानकारी दिएका थिए । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले घटनाको सन्दर्भमा दुई नेपालीको जानकारी आएको र उनीहरु लामो समयदेखि भारतमै बस्दै आएको थाहा भएको जानकारी दिए ।

हत्या हुने नेपालीका परिवार लामो समयदेखि उतै बसिरहेको थाहा हुन आएको छ । एसपीको नेतृत्वमा एउटा विशेष अनुसन्धान टोलीले हत्याको कारणबारे पत्ता लगाउन अनुसन्धान गरिरहेको छ ।

मेघालय प्रहरीका अनुसार हत्या भएका चारै जनाको घटनास्थलमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो भने उनीहरू सबैलाई धारिलो हतियारले आक्रमण गरिएको पाइएको हो ।

साथै, घटनास्थलमा भेटिएका मोबाइल फोन तथा अन्य सामग्रीलाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको प्रहरीले जनाएको छ । मारिएका कोइलाखानीका मजदुर भएको खुलेको छ ।

Published on: 9 July 2024 | Kantipur

Link

Back to list

;