s

मलेसियाका डान्स रेस्टुरेन्टमा नेपाली युवती

रामचन्द्र गिरी

परदेशको ठाउँ । शुक्रबार साँझ । व्यस्त सडक छेउ एउटा पाँच तारे होटलसँगै टाँसिएको ढोका अनि नजिकै एक अधबैंसे मानिस र केही युवतीहरू भेटिए । 'प्लिज वेलकम' भित्र पस्न नपाउँदै उनीहरूले स्वागत गरे । भित्र बलिउडको निकै उत्तेजक गीत घन्किरहेको थियो । ब्लाउज र सारीमा सजिएका केही युवतीहरू गीत गाइरहेका थिए भने अन्य केही उत्तेजक शैलीमा नाचिरहेका थिए । त्यतिमात्र होइन, अनेकथरी रंग झैं देखिने बत्ती यताउता झिलिमिली भइरहेको थियो । हेर्दा लाग्थ्यो, बत्तीहरू पनि उही गीतको तालमा नाचिरहेका छन्् ।

रिपोर्टिङकै क्रममा एक शुक्रबार साँझ ग्राहक बनेर यहाँको एक बलिउड क्लब पुग्दा देखिएको दृश्य हो । क्वालालम्पुरस्थित रात्रिबजारले चर्चित मानिने 'बुकित् बिन्ताङ' मा रहेको क्लब पुग्दा दर्शक/ग्राहकहरू झुम्मिरहेका थिए ।  लठठएकै तालमा कतिपयले एकाएक नाच्ने र गाउने दुवै समूहका युवतीलाई बोलाउँदै पैसा दिँदै थिए । उत्तेजक नृत्य गर्नेमध्येकी एक युवतीले आफ््नो परिचय यसरी दिइन् 'हाई, मि अञ्जु -नाम परिवर्तन) ।'

ती अञ्जु नेपाली युवती थिइन् । उनीजस्तै कैयौं नेपाली युवतीहरू यहाँका दर्जनौं बलिउड क्लब तथा डान्स रेस्टुरेन्टहरूमा कार्यरत छन् । 

पैसाकै लागि अनुचित कामसमेत रोज्न बाध्य भएको उनले सुनाइन् । अञ्जुका अनुसार, उनीलगायत ७ जना नेपाली युवतीलाई काठमाडौंस्थित सक्रिय गिरोहको समूहले पर्यटक भिसामा मलेसिया पठाएका हुन् । यसअघि नेपालको एक डान्सबारमा काम गर्ने गरेकी उनी नर्तकीको रूपमा साढे दुई महिनाअघि मलेसिया आएकी हुन् । गिरोहहरूको 'सेटिङ' मार्फत रेन्टुरेन्टमा नाच्न भन्दै ल्याइएका उनीहरू यहाँ बन्दीझैं बस्न बाध्य भए । धरान घर बताउने अञ्जुले भनिन्, 'हामीलाई बाहिर कतै जान दिँदैन । यही कोठामै बस्नुपर्छ । हामी बन्दीजस्तै छौं । कहिलेकाहीं त हामीलाई मोबाइलसमेत दिइँदैन । अनि पासपोर्ट पनि हाम्रो साथमा छैन ।' तर उनले आफूलाई पठाउने गिरोहबारे भने कुनै जानकारी दिन अस्वीकार गरिन् ।

रेस्टुरेन्ट तथा क्लबका मालिकहरू नेपालमै गई उनीहरूको डान्स/पर्फमेन्स सबै हेरेपछि यता ल्याउन गिरोहसँग 'रेट' बारे मोलमोलाई गर्न थाल्छन् । डान्स र पर्फमेन्सका नाममा त्यसरी मोलमोलाई भएपछि गिरोहहरूले युवतीहरू पठाउन भिसा, टिकटलगायत सबै खर्च बेहोर्ने गर्छन् । त्यसपछि विदेशी रेन्टुरेन्ट मालिकसँग मोटो रकम लिन्छन् र युवतीहरूलाई सस्तो पैसामा बेच्ने गरेको अञ्जु सुनाउँछिन् । 

'क्लब मालिक नेपाल गए र हाम्रो पर्फमेन्स हेरेपछि पैसा दिए' आफूले नेपालमै डेढ लाख लिएको बताउँदै उनले भनिन्, 'हामीले साहूको लगानी उठाइदिनुपर्ने सर्त छ ।' करिब साढे दुई महिने कोठे बन्दी जीवन बिताएर अञ्जुसहित ७ नेपाली युवती केही दिनअघि भने नेपाल फर्किसकेकी छन् ।

कलाकार भिसामै विदेसिन मिल्ने भए पनि त्यसरी अध्यागमन झन्झटिलो र अप्ठ्यारो हुने भएकाले गिरोहहरूले उनीहरूलाई पर्यटक भिसामै पठाउने गर्छन्् । यसरी आइसकेपछि रेन्टुरेन्ट मालिकले पासपोर्ट आफ््नो कब्जामा लिएर युवतीहरूलाई कोठामा बन्दी बनाइराख्ने गरेका छन् । अञ्जुजस्तै अन्य कयौं नेपाली युवतीहरू रातमा रेन्टुरेन्टहरूमा नाच्ने र दिनमा कोठामै बन्दीझैं बस्नुपर्ने तथा यौन हिंसाको सिकारसमेत हुने गरेका छन्् भने कतिपय अवैधानिक रूपमा बस्न बाध्य छन्् । हाल एक सांगीतिक टोलीसँगै मलेसिया आएकी एक गायिका सृष्टिले बलिउड क्लब तथा रेस्टुरेन्टहरूमा आउनेहरूले धेरै समस्या भोगिरहेको बताइन्् । 

जानकारहरूका अनुसार, यहाँका विभिन्न रेस्टुरेन्ट तथा बलिउड क्लबहरूमा गरी करिब डेढ सयको हाराहारीमा नेपाली युवतीहरू अवैधानिक रूपमा नर्तकीको काम गरिरहेका छन् । सरकारले पर्यटक भिसामा बाहिरिने महिलाका लागि कडा प्रावधान नल्याए विदेशमा यसरी पीडित हुने नेपालीको संख्या घट्ने संकेत छैन । नेपालका रेस्टुरेन्टहरूमा नाच्दा/गाउँदा बढीमा मासिक २० हजार आम्दानी हुने र मलेसियामा मासिक डेढ लाखदेखि दुई लाखसम्म हुने भएकाले पनि नेपाली युवतीहरू यस्ता कामका लागि विदेसिने गरको उनीहरूको तर्क छ ।

Published on: 21 January 2012 | Kantipur

Back to list

;