s

मजदुरलाई परिचयपत्र

बागलुङ — बागलुङ नगरपालिकाले नगर क्षेत्रका मजदुरको पहिचान र सुरक्षाका लागि ‘श्रमिक पहिचान कार्ड’ जारी गर्न थालेको छ । नगरक्षेत्रमा बसेर काम गर्ने सबै मजदुरको तथ्यांक राख्न यो व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भएको व्यवस्थाअनुसार नै नगरपालिकाले मजदुरको पहिचान गरेर परिचयपत्र दिन थालेको हो ।

परिचयपत्र दिनु अघि ती मजदुरको विस्तृत विवरण राख्ने र उनीहरूको बिमासमेत गराइएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन ‘क्युपेक नेपाल’ मा आबद्ध भएका मजदुरको लगत राखेर नगरपालिकाले पहिचान कार्ड जारी गरेको हो । पहिलो चरणमा ६ सय ३० जना मजदुरको लगत राखिएको क्युपेक बागलुङका अध्यक्ष मनबहादुर थापाले बताए । त्यसबाहेक नगरपालिकाले यातायात मजदुर, कृषि क्षेत्रका मजदुर र ठेकेदार मार्फत काम गरिरहेका मजदुरको पनि लगत राख्ने श्रेष्ठले बताए ।

पहिलो चरणमा सबै मजदुरको लगत राखेर दुर्घटना बिमा गराउने र पहिचानका लागि परिचयपत्र दिने काम भइरहेको हो । ‘नगरभित्रका, बाहिरका, विभिन्न जिल्ला र अर्को देशबाट आएका मजदुरको तथ्यांक राखेपछि भोली हुने जुनसुकै अप्ठ्यारोमा पनि नगरपालिकाले सहयोग गर्न सक्छ,’ श्रेष्ठले भने, ‘उनीहरू दुर्घटना हुँदा ठेकेदारले अलपत्र छाड्ने गरेको समेत भेटियो ।’ गतसाता मात्रै उच्च अदालत बागलुङको निर्माणाधीन भवनबाट खसेर एक मजदुरको मृत्यु भएको थियो । उनको उपचारका लागि चासो दिने कोही थिएन । लगत राखिएका मजदुर भएमा दुर्घटना बिमाले पनि राहत मिल्ने भएपछि नगरपालिका यो अभियानमा जोडिएको थापाले बताए ।

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरलगायत ठूला आयोजनामा पनि सयौं मजदुर कार्यरत छन् । उनीहरू कुन ठाउँबाट आए भन्ने तथ्यांक छैन । ‘उनीहरूको तथ्यांक नराख्दा भोलि हुने आपराधिक क्रियाकलापमा समात्ने आधारसमेत भेटिँदैन,’ श्रेष्ठले भने, ‘यो सूचीकरणले सुरक्षा दिने मात्र नभई अपराध नियन्त्रणमा पनि सहयोग पुग्छ ।’ ग्रामीण क्षेत्रमा सुन टल्काउने निहुँमा पुग्नेले चोरी गरेर भाग्दा दोषी पत्ता नलागेकोले यो सूचीकरणको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए ।

मजदुर बीच अस्वस्थ्य प्रतिस्पर्धा रोक्नुका साथै काम अलपत्र पारेर छाड्ने र जिल्ला दररेटभन्दा फरक मूल्य लिएर काम गर्ने प्रवृत्ति पनि यो सूचीकरणले रोकिने कँडेलको भनाइ छ । नगरपालिकाको अनौपचारिक तथ्यांकअनुसार ५ हजारभन्दा बढी मजदुर यहाँ काम गरिरहेका छन् । मोटर ग्यारेज, कवाडी संकलन, निर्माण मजदुर, विद्युत् जडानलगायतमा काम गरे पनि उनीहरूको लागत र दुर्घटना बिमा छैन । नगरपालिकाले पेसाअनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्मको दुर्घटना बिमा पनि गराइदिने योजना रहेको नगर प्रमुख श्रेष्ठले बताए ।

Published on: 20 June 2024 | Kantipur

Link

Back to list

;