s

लेबनानमा सबै नेपाली सुरक्षित छन् : अवैतनिक महावाणिज्य दूत

काठमाडौँ — लेबनानमा सबै नेपाली सुरक्षित रहेको त्यहाँस्थित नेपालका लागि अवैतनिक महावाणिज्य दूत एलचेख मोहम्मद विशाम घोउजायलले बताएका छन् । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण लेबनानमा रहेका नेपालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेको छ । त्यहाँ करिब १२ सयको हाराहारीमा घरेलु कामदार रूपमा नेपालीहरु रहेको बताइएको छ ।

‘नेपालीहरू सुरक्षित छन् । उनीहरूमध्ये धेरैजसो आफ्ना रोजगारदाताहरूसँग सुरक्षित क्षेत्रमा काम गरिरहेका छन्, चाहे बेरुतमा होस् वा लेबनानको पहाडी क्षेत्रमा,’ अवैतनिक महावाणिज्यदूत घोउजायलले कान्तिपुरसँग भने, ‘हामी रोजगारदाताहरूसँग निरन्तर सम्पर्कमा छौं । कुनै पनि आपतकालीन अवस्था आइपरे इजिप्टको कायरोस्थित नेपाली दूतावास र नेपाली परराष्ट्र मन्त्रालयसँग समन्वय गरिनेछ ।’

उनले अहिलेसम्म कुनै पनि कूटनीतिक नियोगले निकास वा यात्राका लागि आह्वान नगरेको पनि जानकारी दिए । उनले थपे, ‘यस क्षेत्रको अवस्था अस्पष्ट छ र हामी उपयुक्त निर्णय लिन समय पर्खिइरहेका छौं ।’

उनले बेरुतस्थित महावाणिज्य दूतावास र कायरोस्थित नेपाली राजदूतावासले नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न र कुनै पनि समयमा आवश्यक सहयोग उपलब्ध गराउन अथक प्रयास गरिरहेको प्रस्ट पारे । ‘हामी नेपालीलाई सुरक्षित ठाउँमा बस्न, स्थानीय अधिकारीको निर्देशन पालना गर्न र आवश्यक परे तुरुन्तै हामीलाई सम्पर्क गर्न आग्रह गर्दछौं,’ उनले भने ।

Published on: 6 August 2024 | Kantipur

Link

Back to list

;