s

लेबनानमा कार्यरत नेपालीकाे विवरण संकलन गर्दै नेपाली दूतावासद्वारा सतर्कता र सचेतना अपनाउन अनुरोध

काठमाडौँ — लेबनान मामिला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिककाे विवरण संकलन गर्दै सतर्कता तथा सचेतना अपनाउन आग्रह गरेको छ । लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा इजरायलको आक्रमणमा हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि लेबनान र इजरायलबीच तनाब बढेको छ । नेपाली दूतावासले बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै लेबनानमा कार्यरत नेपालीको विवरण संकलन गर्न थालेको हाे ।

दूतावासले नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । ‘विकसित घटनाक्रमको निरन्तर अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको बेहोरासमेत अनुरोध छ,’ दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

लेबनानमा कार्यरत हेटौंडाका अशोक थापाले आफूहरू पछिल्लो घटनाक्रमबारे अपडेट रहेको बताए । उनका अनुसार बेरुत आसपासमा झन्डै ५ सय नेपाली कार्यरत छन् । उनीहरू घरेलु श्रमिक, होटल र उद्योगमा कार्यरत छन् ।

‘लेबनानमा जहाँ बम आक्रमण भएको छ, त्यो मुस्लिमको बाहुल्य रहेको क्षेत्र हो । त्यो ठाउँ नेपाली रहेको ठाउँबाट बसमा दुई घण्टाजतिमा पुग्न सकिन्छ । त्यो क्षेत्रमा नेपाली छैनन्,’ गैरआवासीय नेपाली संघ, लेबनानका पूर्वअध्यक्ष रहेका थापाले भने, ‘बेरुत क्षेत्रको अवस्था सामान्य छ । पहिला जस्तो थियो, अहिलेको जनजीवन पनि उस्तै छ ।’

उनले नेपालीको बसाइ क्रिश्चियन बाहुल्य रहेको क्षेत्रमा रहेकाले आफूहरू ढुक्क रहेको बताए । ‘यहाँ जति नेपाली छन् । सबैजसो एकआपसको सम्पर्कमा छन् । नयाँ कोही आएका छन् भने उनीहरू भने सम्पर्कमा छैनन्,’ उनले भने, ‘सबै जना आत्तिएका छैनन् । लेबनानीहरू पनि आत्तिएका छैनन् ।’

१६ वर्षदेखि बेरुतमा कार्यरत झापाकी दिलु लिम्बूले परिस्थति खराब बन्दै गयो भने मात्रै नेपाल फर्किने सोचमा रहेको बताइन् । ‘अहिले बेरुतको जे अवस्था छ, त्यसमा आत्तिहाल्नुपर्ने अवस्था छैन । यहाँका स्थानीय बासिन्दाले पनि बाहिरी मान्छेलाई असर गर्दैन भनिरहेका छन् । यो उनीहरूबीचको लडाइँ हो भनिरहेका छन्,’ लिम्बूले भनिन्, ‘आफ्नो ज्यानको माया जसलाई पनि लाग्छ । ठूलै संकट आयो भने मुलुक फिर्नेछु ।’

१२ वर्षदेखि लेबनानमा कार्यरत सिन्धुपाल्चोककी माया तामाङले आफूहरू तत्काल घर फर्किने सोचमा नरहेको बताइन् । ‘म अहिले बेरुत नजिकै पहाडी क्षेत्रमा लेबनानीको घरमा काम गरिरहेकी छु । हामी बसेको ठाउँमा केही भएको छैन । तर, मेरो घरको साहु–साहुनीले तिम्रो दूतावास बेरुतमा छ कि छैन भनेर सोधिरहेका छन्,’ उनले भनिन्, ‘म यहाँ आएदेखि सधैं लडाइँ मात्रै भएको सुनिरहेकी छु । मैले अहिलेसम्म त्यस्तो असर परेको त भोगेकी छैन । केही पर्‍यो भने मात्रै नेपाल फर्किने हो ।’

Published on: 1 August 2024 | Kantipur

Link

Back to list

;