s

कुवेत पठाउने भन्दै भारत लगिएका ६ जना महिलाको उद्धार

कुवेतमा आकर्षक रोजगारीको प्रलोभनमा परेर भारत पुर्‍याइएका ६ जना महिलालाई उद्धार गरी रूपन्देही प्रशासनले आफन्तको जिम्मा लगाएको छ।

भारत हुँदै कुवेत पठाउने भन्दै लगिएका उनीहरूलाई दलालले भारत लगेर अलपत्र पारेपछि उद्धार गरी ल्याइएको हो।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले उद्धार गरी ल्याइएका सबैलाई आफन्त बोलाएर जिम्मा लगाएको जनाएको छ। यसरी उद्धार गरिएकामा २२ देखि ३७ वर्ष उमेर सम्मका रहेका छन्।

सशस्त्र प्रहरीले भारतीय सुरक्षा बलको सहयोगमा रूपन्देहीको देवदह नगरपालिका-४ की ३२ वर्षीया महिला, दाङको घोराही उपमहानगरपालिका-३ की ३१ वर्षीया र दाङकै राप्ती गाउँपालिका-४ की ३७ वर्षकी महिलालाई उद्धार गरेको थियो।

यस्तै, चितवनको खैरहनी नगरपालिका-४ की ३१ वर्षकी महिला, सिन्धुलीको दुधौली नगरपालिका-१२ की २४ वर्षीया र सल्यान कपुरकोट गाउँपालिका-५ घर भएकी २२ वर्षीया महिलालाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

उद्धार गरिएका महिलाहरूको नाम भने गोप्य राखिएको छ।

कुवेत गएर मासिक नेपाली ४५ हजार रुपैयाँमा काम लगाइदिने भनेर उनीहरूलाई बेचबिखनको लागि भारत लगिएको पाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

उनीहरूलाई गत असार १८ गते नेपाल-भारत सीमा क्षेत्रस्थित भारतको सिद्धार्थनगर झिगरीग्राम पञ्चायतबाट उद्धार गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी अर्यालले उद्धार गरिएका महिलाहरूसँग सोधपुछ गर्दा दलालले कुवेत पठाउँछु भनेर लामो समय काठमाडौंमा राखेको र त्यसपछि रपन्देही ल्याएर भित्रीबाटो हुँदै पैदल भारत पुर्‍याएको देखिएको बताए।

‘उद्धार गरिएका महिलाहरूलाई दलालहरूले विभिन्न ठाउँमा होटलमा राखी, अटोरिक्सा, ट्याक्सी लगायतका साधन प्रयोग गरेर रूपन्देहीको नेपाल-भारत सीमा नाका ल्याएर भित्री बाटोबाट साँझको समयमा एक जनालाई मोटरसाइकलमा र ५ जनालाई पैदल हिँडाएर भारत पुर्याइएको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने।

भारतीय सीमा सुरक्षा बलको सहयोगमा उद्धार गरिएका उनीहरूलाई परिवार सम्पर्कमा नआउँदासम्म ४ दिनसम्म माइती नेपालको आश्रयमा राखिएको थियो। शुक्रबार परिवारका सदस्य बोलाएर जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

दलालहरूले अनेक बहानामा महिलाहरूलाई भारत लगायत तेस्रो मुलुक पुर्याएर बेचबिखन गरी यौनजन्य क्रियाकलापमा समेत लगाउने भएकोले प्रलोभनमा नपर्न र कुनै जानकारी नलिई अवैध बाटोबाट कतै पनि नजान उनले आग्रह गरे।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले महिलाहरुले आफूहरुलाई यहाँसम्म ल्याउने दलालबारे जानकारी गराएकाले तत्काल पक्राउ गरि कारबाही गरिने बताए।

सशस्त्र प्रहरी बल नम्बर २७ गण रूपन्देहीका प्रमुख एसपी आनन्द थापाले चेलिबेटी बेचबिखनबारे सीमामा निगरानी बढाएर काम गर्ने र भारतीय प्रहरीको सहयोगमा महिलाहरूको उद्धार गरिएको बताए।

माइती नेपाल आवधिक गृह, भैरहवा प्रमुख माया क्षेत्रीले वैदेशिक रोजगारीका नाममा महिलाहरूलाई भारत र तेस्रो मुलुक लैजाने क्रम बढिरहेको बताइन्।

Published on: 8 July 2024 | Setopati

Link

Back to list

;