s

कोरिया जान अब क्षयरोग परीक्षण गराउनु पर्ने

 
-पुष्पराज कोइराला
 
काठमाडौं– सरकारले ९० दिनभन्दा बढी अवधीका लागि कोरिया जाने व्यक्तिहरुका लागि क्षयरोगको परीक्षण अनिवार्य गर्ने भएको छ। कोरियाको मानव संसाधन विभाग, नेपालस्थित कोरियाली दूताबास र वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालको संयुक्त निर्णयबाट यस्तो व्यवस्था सरकारले लागू गर्न लागेको हो।
 
आगामी मार्च २ अर्थात् फागुन १९ गतेदेखि भिसा आवेदन दिनेले क्षयरोग परीक्षण गराएको प्रमाणपत्र पनि साथै लिएर जानुपर्ने रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए। शाखाले बिहीबार मात्रै यस्तो व्यवस्था बारे सर्वसाधारणलाई जानकारी गराएको छ। परीक्षणमा क्षयरोग देखिएको अवस्थामा त्यस्तो रोग निको नहुन्जेल कोरिया जान नपाउने पनि उनले जानकारी दिए।
 
'क्षयरोग गम्भीर प्रकृतिको सरुवा रोग भएकोले यस्तो रोग लिएर कोरिया जान नपाउने कोरियाली न्याय मन्त्रालयको नियमअनुसार नेपालमा पनि त्यस्तो नियम लागू गरिएको हो,' बास्तोलाले भने, 'मार्च २ बाट यस्तो व्यवस्था लागू गरिने छ।' क्षयरोग परीक्षणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती अस्पताल मिनभन, शुक्रराज ट्रपिकल अस्पताल टेकु र कोरिया मैत्री अस्पताल गरी चार ओटा अस्पतालबाट परीक्षण गराउनु पर्ने छ ।
 
इपिएसअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने कामदारहरुका लागि पनि हालसम्म यिनै चार अस्पतालबाट स्वास्थ्य परीक्षण गराउने गरिएको छ।
 
Published on: 28 February 2016 | Nagarik

Back to list

;