s

खाडीमा हाउसमेड खुला

सरकारले खाडी मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारमा घरेलु काम -हाउसमेड) मा जान महिला कामदारका लागि मापदण्ड तोकी खुला गरेको छ । कुवेतका लागि यसअघि नै मापदण्ड तय छ । ती मुलुकस्थित नेपाली दूतावासले बनाएर पठाएको मापदण्डलाई श्रममन्त्री मोहम्मद इस्तियाक राईले सोमबार स्वीकृत गरेका छन् । 

घरेलु कामदारलाई खाडीका स्थानीय श्रम कानुनले नसमेट्ने र उनीहरू असुरक्षित हुने भएकाले महिलालाई त्यस काममा जान सरकारले रोक लगाउँदै आएको थियो । तर दलालहरूले भिजिट भिसामा स्वदेशी र विदेशी विमानस्थल प्रयोग गरी ती देशमा पठाउने गरिरहेका छन् । सरकारले त्यसलाई रोक्न नसकेपछि गत मंसिरमा मन्त्रिपरिषद्ले कार्यविधि बनाएर दूतावासको जिम्मेवारीमा मापदण्ड बनाई पठाउने निर्णय गरेको थियो ।

दूतावासहरूको अनुमानमा झन्डै दुई लाख महिला खाडीमा कार्यरत छन् । श्रम मन्त्रालयका अनुसार चार दूतावासले आ-आफ्नो देशअनुसार न्यूनतम तलब, बिमा व्यवस्था, घरेलु कामदार राख्ने व्यक्तिको आर्थिक स्थिति र सामाजिक आधार, कामदार बस्ने सुरक्षित बासस्थान, सुरक्षाको प्रत्याभूति र धरौटीलगायत विषयमा मापदण्ड तोकेको छ ।

जसअनुसार साउदी, कतार, यूएई र कुवेत जाने हाउसमेड महिलाको न्यूनतम तलब क्रमशः ७ सय रियाल, एक हजार रियाल, ९ सय दिराम र ५० डिनार तोकिएको छ । मापदण्डअनुसार यूएईमा रोजगारदाताको न्यूनतम आय मासिक घरभाडाबाहेक १० हजार दिराम हुनुपर्ने र दूतावासमा ५ हजार धरौटी राख्नुपर्ने, कतारमा रोजगारदाताको अम्दानी प्रतिमहिना १२ हजार रियाल र कतारी आईडीवाला गैरनेपाली हुनुपर्ने, दूतावास र घरपरिवारसँग नियमित सम्पर्क गर्न पाउनुपर्ने र ३० वर्षभन्दा माथिका महिलाले मात्रै अनुमति पाउनेछन् । घरेलु कामदारमा महिला, 'हाउस ड्राइभर', 'हाउस सेक्युरिटी' र 'गार्डेनर' छन् ।

'महिलाको विषय संवेदनशील भएकाले दूतावासले प्रमाणित गरेर पठाएको मागपत्रमा मात्रै श्रम स्वीकृति हुनुपर्छ,' कतारस्थित नेपाली राजदूत सूर्यनाथ मिश्रले भने, 'होइन भने महिलाको समस्यालाई यहाँ थेग्न सकिँदैन ।'

Published on: 9 June 2011 | Kantipur

Back to list

;