s
भुपेन्द्र वली
दिनमा १८ घन्टासम्मको हिँडाइले खुट्टा सुन्निएका मजदुर भन्छन्– खानेकुरा सकियो, आफ्नै देशमा अलपत्र भयौँ
कैलालीको भजनी गाउँपालिकाका विक्रम डँगौरा काठमाडौंबाट घर जान भनेर हिँडेको सात दिन भयो । बल्लतल्ल बुधबार दाङको भालुवाङ आइपुुगेका उनलाई घर पुग्न अझै उत्तिकै लामो बाटो पार गर्नु छ । लामो हिँडाइले उनका खुट्टा सुन्निएको पीडा त छ नै, झोलामा खानलाई राखेको चिउरा पनि सकिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही र भालुवाङ क्षेत्रमा बुधबार भेटिएका मजदुर
विक्रमसँगै भेटिएका बर्दियाकै बारबर्दिया गाउँपालिकाका ६० वर्षीय सूर्यप्रसाद रिजाल पनि तनहुँबाट पाँच दिन लामो बाटो पार गरेर बल्लतल्ल भालुवाङसम्म आइपुगेका छन् । दिनरात गरी करिब १८ घन्टा हिँँडेर उनीहरू घर पुग्ने आधा बाटो छिचोल्न सफल भएका हुन् ।
विक्रम र सूर्य एक महिनाअघि मात्र घर खर्च चलाउने पैसा जुटाउन भनी क्रमशः काठमाडौंको सामाखुसीमा घर र तनहुँमा कुलो बनाउने कामका लागि गएका थिए । तर, घर खर्च चलाउने भनी पैसा कमाउन हिँडेका उनीहरू लकडाउनका कारण आफैँ घरसम्म पुग्न सकिरहेका छैनन् ।
बिरानो ठाउँमा खाने अन्न नभएपछि बाध्यतावश कोसौँ टाढाको घर पुगे बाँच्न सकिने आशामा हिँडेका उनीहरू अलपत्र अवस्थामा छन् । सरकारले लकडाउन घोषणा गरेसँगै कमाइको बाटो त बन्द भयो नै, पेट भर्ने मेसो पनि बन्द भएको उनीहरू बताउँछन् । ‘भारतीय ठेकेदार थियो, ऊ भागेर हिँड्यो । केही दिनलाई पुग्ने चामल थियो । त्यसले पुग्नेसम्म बस्यौँ । त्यसपछि दिने कोही पनि भएन,’ डँगौराले भने, ‘भोकै मर्नुभन्दा हिँडेरै भए पनि पुगिन्छ कि भनेर हिँडेको हो । तर, यहाँ आएर अलपत्र परियो ।’
घर फर्किएका सयौँ मजदुर राजमार्गमा अलपत्र
पूर्व–पश्चिम राजमार्गमा लकडाउन घोषणा गरिएको केही दिनपछि पैदल यात्रा गरेर घर पुग्न खोज्नेहरू दिनहुँ सयौँको संख्यामा भेटिने गरेका छन् । राज्यले उनीहरूलाई हिँडेर घरसम्म पुग्न सकिने छुट दिएको छ, तर सवारीसाधनमा जान दिएको छैन । दिनभरि पिच सडकमा हिँडेर भए पनि आफ्नै घर पुग्न खोज्ने प्रायः ती मजदुरको प्रश्न छ– ‘हिँडेर भोकै भए पनि जाऊ भन्ने, तर सवारीसाधनमा पुर्याउन नसकिने यो कस्तो खालको सरुवारोग हो ? यो उखरमाउलो गर्मीमा हामीजस्ता सयौँ नागरिक सडकमा भोकै हिँडिरहँदा मन नपोल्ने यो कस्तो सरकार हो ?’ यसरी अलपत्र पर्नेहरूमा रोजगारीका लागि दैनिक ज्यालामा काम गर्ने मजदुर छन् ।
सरकारले लकडाउन घोषणा गरेसँगै आफूले काम गर्ने स्थानमा खान पाउने अवस्था नभएपछि घर जान भनी हिँडेका सयौँ यात्रु पूर्व–पश्चिम राजमार्गमा भेटिन्छन् । भालुवाङमा भेटिएकी पाल्पाबाट चार दिनअघि घर जान भनेर हिँडेकी कैलालीकी शारदा सुनारले राजमार्गमा आफूहरूजस्तै सयौँ यात्रु अलपत्र अवस्थामा रहेको बताइन् । ‘यो गर्मीमा पिच सडकमा हिँड्नुपर्दा कैयन् मजदुर बाटोमै बिरामी परेका छन् । भोकै, चिउराको भरमा हिँडेका छन् । किनकि उनीहरूसँग अरू विकल्प पनि छैन,’ उनले भनिन्, ‘राज्यले सबैलाई एउटै व्यवहार नगरिदिए हुन्थ्यो । कोरोनाले के गर्ला भन्न सकिन्न, तर यो गर्मीमा यही अवस्थामा हिँड्नुपरे कैयन्ले बाटोमै ज्यान गुमाउनुपर्ने हुन सक्छ ।’ यसरी राजमार्ग हिँड्नेहरूमध्ये ज्येष्ठ नागरिकको अवस्था अत्यन्त कठिन भएको उनको भनाइ छ ।
दाङका प्रदेश सभा सदस्य इन्द्रजित चौधरीले राज्यले बाटोमा अलपत्र परेका यात्रुलाई घरसम्म पुर्याउनुपर्ने बताए । ‘दाङमा मात्र सयौँको संख्यामा दैनिक मान्छेहरू आवतजावत गरेको हामीले जानकारी पाएका छौँ । लकडाउनले सबैलाई एकै किसिमको प्रभाव पार्दैन । भोको पेट मान्छे कसरी घरभित्र रहन सक्छ,’ उनले भने, ‘बिरानो ठाउँमा मजदुरीमा गएकालाई सरकारले हेर्न सकेको छैन । यस्तो अवस्थामा घर पुग्ने आशा गर्नु नाजायज होइन । राज्यले सडकमा अलपत्र परेकाहरूलाई घरसम्म पुर्याउने व्यवस्था गर्नुपर्छ ।’
खुवाउन सक्छौँ,पुर्याउन सक्दैनौँ : प्रशासन
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सरकारले लकडाउन घोषणा गरेको अवस्थामा यसरी आइपुगेको यात्रुका लागि आफूले केही गर्न नसक्ने बताए । यो एउटा जिल्लाको विषय मात्र नभएर समग्र देशकै भएकाले माथिबाट आउने आदेशबमोजिम नै आफूहरूले कार्यान्वयन गर्ने उनको भनाइ छ । यद्यपि जिल्लामा आइपुगेका यात्रुले चाहे खान र बस्ने व्यवस्था मिलाउन भने आफूहरू तयार रहेको रिजालले बताए । ‘यो अवस्थामा मजदुरसँग पैसा नभएर ठेकेदारले नै खुवाएर उनीहरू भएकै स्थानमा राख्नुपर्थ्यो । तर, आइसकेपछि हामीले पनि गर्न सकिने केही छैन । मजदुरहरूले चाहे खुवाउन र बसाल्न सक्छौँ,’ उनले भने, ‘योभन्दा बढी केही गर्न सकिँदैन ।’
Published on: 9 April 2020 | Nayapatrika
GET IN TOUCH