s

जीवन बिमा व्यवसाय २६ प्रतिशतले बढ्यो

मुना कुँवर

वैदेशिक रोजगारी बिमा २६ प्रतिशत घट्यो

आर्थिक वर्ष ०७४/७५ मा पुराना जीवन बिमा कम्पनीहरूले १६ अर्ब ४४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गर्न सफल भएका छन् । अघिल्लो आव ०७३/७४ को तुलनामा यो रकम २६ दशमलव २१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूले जम्मा १३ अर्ब ३ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए । बिमा कम्पनीहरूले कुल बिमाशुल्क भने ४७ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेका छन् ।
 
प्रथम बिमाशुल्क बढ्यो
 
समितिमा प्राप्त तथ्यांकअनुसार गत आवको अन्त्यसम्ममा कम्पनीहरूले प्रथम बिमाशुल्कबापत १३ अर्ब १९ करोड रुपैयाँ संकलन गरेका छन् । त्यस्तै कम्पनीहरूले नवीकरणीय बिमाशुल्कबापत भने ३१ अर्ब ३८ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । नवीकरणीय बिमाशुल्कमा भने २२ प्रतिशतले वृद्धि भएको छ ।
 
 वैदेशिक रोजगार घट्यो
 
अघिल्लो आवको तुलनामा गत आवमा वैदेशिक रोजगार म्यादी जीवन बिमाको बिमाशुल्क आम्दानी करिब २६ प्रतिशतले घटेको छ । गत आवमा वैदेशिक रोजगार बिमाबापत १ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेका छन् । अघिल्लो आवमा भने यस्तो बिमाबापत कम्पनीहरूले २ अर्ब ५७ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका थिए ।
 
नयाँ कम्पनीले आम्दानी गरे करिब ३ अर्ब
 
गत वर्षदेखि सञ्चालनमा आएका नयाँ जीवन बिमा कम्पनीहरूले ३ अर्ब ६ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । नवीकरणीय बिमाबापत भने तीनवटा बिमा कम्पनीले १८ लाख २५ रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । नयाँ कम्पनीहरूले प्रथम बिमाशुल्कबापत मात्रै १ अर्ब ९१ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्  । त्यस्तै, एकल भुक्तानी बिमाबापत २६ करोड ५९ लाख र वैदेशिक रोजगार बिमाबापत ८८ करोड ८३ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् ।
 
एसियनले बढायो ८१ प्रतिशत व्यवसाय
 
गत आवमा ठूला बिमा कम्पनीहरूलाई पछि पार्दै एसियन लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसाय ८१ प्रतिशतले बढाएको छ । गत आवमा कम्पनीले १ अर्ब बिमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले जम्मा बिमाशुल्क आर्जन ५५ करोड १६ लाख रुपैयाँ थियो । गत आवमा कम्पनीले एकल भुक्तानी बिमा भुक्तानी बिमा व्यवसाय करिब ५ गुणाले बढेपछि कुल बिमाशुल्क पनि बढेको हो । कम्पनीले प्रथम बिमाशुल्कबापत ७६ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५२ प्रतिशतले बढी हो । तुलनात्मक रूपमा प्रथम बिमाशुल्क आम्दानी पनि राम्रो रहेको छ । नवीकरणीय बिमाबापत कम्पनीले २ अर्ब रुपैयाँ संकलन गरेको छ ।
 
नेपाल लाइफ नै अगाडि
 
कम्पनीहरूले आम्दानी गरेको बिमाशुल्कका आधारमा हेर्ने हो भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै अग्रपंक्तिमा देखिएको छ । गत आवमा कम्पनीको कुल बिमाशुल्क आम्दानी ५ अर्ब ८४ करोड रहेको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले २ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ भने नेसनल लाइफ इन्स्योरेन्सले २ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
 
नयाँ कम्पनीमा युनियन अग्रता
 
नयाँ जीवन बिमा कम्पनीहरूले आम्दानी गरेको कुल बिमाशुल्कका आधारमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी अग्रपंक्तिमा देखिएको छ । गत आवमा युनियनले जम्मा ८४ करोड ९४ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ । त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जम्मा ५२ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ भने रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
 
एकल भुक्तानी बिमामा आकर्षण
 
पुराना जीवन बिमा कम्पनीहरूले एकल भुक्तानी बिमाबापत १ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम कम्पनीहरूले आर्जन गरेको जम्मा बिमाशुल्कको करिब ८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा यो रकम ३० प्रतिशतले बढी हो । पछिल्लो समयमा कम्पनीहरू एकल भुक्तानी बिमामा आक्रामक देखिएका छन् । यस्तो खालको बिमा योजनामा एकैपटक ठूलो रकम बिमाशुल्क आम्दानी हुने भएपछि कम्पनीहरूले अभिकर्ताहरूलाई राम्रो कमिसन दिएर प्रेरित गरेका छन् । दीर्घकालीन रूपमा भने एकल भुक्तानी बिमा कम्पनीहरूका लागि जोखिमयुक्त हुने विज्ञहरू बताउँछन् ।
 
Published on: 22 July 2018 | Naya Patrika

Back to list

;