s

इजरायलमा केयर गिभर पठाउने प्रक्रिया सुरु

काठमाडौँ — दुई सय ६३ दिनदेखि प्यालेस्टिनी विद्रोही समूहसँग युद्ध गरिरहेको इजरायलमा थप ८ सय जना नेपाली केयर गिभर पठाउन वैदेशिक रोजगार विभागले मंगलबारबाट प्रक्रिया अगाडि बढाएको छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत नै केयर गिभर छनोट गरी पठाउने प्रक्रिया अगाडि बढाइएको हो । यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् ।

छानिएका नेपाली कामदारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने विभागले जनाएको छ । आठ सय जना छनोटका लागि विभागले २१ दिनभित्र आवेदन दिन मंगलबार सूचना प्रकाशन गरेको छ । इजरायलले २०२२ को अगस्टदेखि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा केयर गिभर लैजान थालेको हो । अहिलेसम्म १३ सय जना गइसकेका विभागका इजरायल–जापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले बताए । ४६ जना उड्ने प्रक्रियामा छन् । ‘अहिलेसम्म जति जना सहायक कामदारका रूपमा गएका छन्, कसैको समस्या आएको छैन,’ उनले भने ।

इजरायल र हमास लडाकुबीच युद्ध भए पनि इजरायलमा रहेका कामदार सुरक्षित छ । त्यसैले परराष्ट्र मन्त्रालयको सुझावका आधारमै कामदार पठाइएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जनाए ।

गत अक्टोबर ७ मा हमास लडाकु समूहले गाजा क्षेत्रसँग जोडिएको इजरायलका विभिन्न ठाउँमा आक्रमण गरेपछि युद्ध सुरु भएको हो । आक्रमणमा लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषिको काममा गएका मध्ये १० जना नेपाली विद्यार्थीसहित १२ सय जना मारिएका थिए । कञ्चनपुरका विपिन जोशीसहित १ सय २० जना अझै हमास लडाकुको कब्जामा छन् ।

इजरायलको आक्रमणमा गाजा क्षेत्रमा कम्तीमा ३४ हजार जनाको मृत्यु भइसकेको छ । इजरायल र प्यालेस्टिनी लडाकुबीच जारी युद्धबाट केयर गिभर प्रभावित नरहेको इजरायलको जेरुसेलममा कार्यरत प्रभा घिमिरेले जनाइन् । आफूहरूले निर्धक्क काम गरिरहेको इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा कार्यरत भक्तपुरकी मञ्जु थपलियाले भइरहेको जनाइन् । उनी सरकारी संयन्त्रमार्फत पहिलो लटमा सहायक कामदारका रूपमा इजरायल गएकी थिइन् । ‘हामी जुन सर्त र अवस्थामा आएका थियौं, त्यो परिपालन भइरहेको छ,’ उनले भनिन् ।

दुई महिनाभित्र सहायक कामदार पठाउने गरी प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक घिमिरेले बताए । ‘इजरायलमा सहायक कामदारको ठूलो अभाव छ । हामीलाई दुई महिनाभित्र छनोट प्रक्रिया सक्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसका लागि हामीले प्रक्रिया अगाडि बढाएका हौं ।’ आठ सय जना कामदारका लागि मेरिटका आधारमा १५ सय जनाको सूची बनाइने घिमिरेले जनाए । ८ सय जनामा मुख्य उम्मेदवार ५ सय जना हुन् । थप ३ सय जना वैकल्पिक उम्मेदवारका रूपमा रहनेछन् ।

इजरायल र नेपालको सम्झौताअनुसार सहायक कामदारका लागि सर्त तोकिएका छन् । जसमा सबैले आवेदन दिन भने पाउँदैनन् । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम लिएको हुनुपर्नेलगायत प्रावधान छन् । छनोट भएकाहरूको मासिक तलब ५८ सय ८४ इजरायली मुद्रा (करिब दुई लाख रुपैयाँ) छ । यसमा खाना र आवासको खर्च भने आफैंले बेहोर्नुपर्ने हुन्छ ।

Published on: 26 June 2024 | Kantipur

Link

Back to list

;