s

हङकङमा एक वर्षमै दोब्बर नेपाली

पूर्ण बस्नेत

सरकारद्वारा वाणिज्य दूतावासमा चासो-
एक वर्षमै नेपालीको सङ्ख्या करिब दोब्बरले बढेकोमा आश्चर्य जनाउँदै हङकङ सरकारले नेपाली वाणिज्य दूतावासमा चासो राखेको छ। पछिल्ला दुई वर्षमा नेपालीको सङ्ख्या १७ हजारबाट ह्वात्तै बढेर करिब ३१ हजार पुगेको हङकङ अध्यागमन स्रोतले जनाएको छ।

नेपाली वाणिज्य दूतावासका अनुसार नेपालीको सङ्ख्या एकाएक कसरी यति धेरै बढ्यो भनेर अध्यागमन विभाग पनि आश्चर्यमा परेको छ। “हामीकहाँ डकुमेण्ट प्रमाणीकरण गर्न आउने चाप हेर्दा नयाँ अनुहार थपिएको अनुमान गरेका थियौँ तर यति धेरै आएको थाहा थिएन”, वाणिज्य दूत किरण शाक्य भन्छन्- नेपालीको सङ्ख्या एकाएक बढेको देखेर हङकङ अध्यागमनका अधिकारीले नेपालको राजनीतिक परिस्थितिबारे चासो राखेका छन्।

सन् २००९ को मार्चदेखि २०१० को मे महिनासम्म १४ महिनामा मात्र करिब १२ हजार नेपाली डिपेन्डेन्ट आइडी लिएर हङकङ आएको पाइएको छ। अध्यागमन स्रोतले उपलब्ध गराएको तथ्याङ्कअनुसार २००९ को फेब्रुअरी महिनामा १७ हजार पाँच सय ५५ नेपाली रहेकामा २०१० को मे महिनासम्म २९ हजार ४ सय ३३ पुगेको छ। २०११ फेब्रुअरीसम्म आइडी लिएर हङकङमा बस्ने नेपालीको सङ्ख्या ३० हजार सात सय ५६ पुगेको अध्यागमन विभागले जनाएको छ। यो शरणार्थी वा नेपालमा यातना दिइने दाबी गरेर हङकङमा बस्ने करिब एक हजार नेपालीबाहेकको सङ्ख्या हो।

एक वर्षमै ४० प्रतिशतले नेपाली थपिएको कुरा अश्वाभाविक लागे पनि अध्यागमनले उपलब्ध गराएको तथ्याङ्कमा शङ्का नरहेको शाक्यले बताए। दूतावासमा सातामा एक दुई जना मात्र नेपाली डकुमेण्ट प्रमाणीकरण गर्न आउने क्रम बढेर अहिले दैनिक भएको दृष्टान्त दिँदै उनले भने- नयाँ आएका नेपालीमा प्रायः किशोर किशोरी रहेको र तिनीहरू अङ्ग्रेजी भाषामा राम्रो दखल राख्ने भएकाले यहाँका सरकारी अधिकारी आशावादी देखिएका छन्।

विश्वको सबभन्दा महङ्गोमध्येको शहर हङकङ सुरक्षा र आम्दानीको हिसावले नेपालीहरूको आकर्षक गन्तव्यमा पर्छ। तर ब्रिटिश उपनिवेशकालमा गोर्खा सैनिकको रुपमा काम गरेका र ब्रिटिश ओभरसिज पासपोर्ट लिएका नेपालीका सन्तान मात्र आइडी बनाएर हङकङको बासिन्दाको रुपमा यहाँ आउन पाउँछन्। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा छ वर्षअघि नेपालीका लागि भिसा बन्द गरिएपछि घरेलु कामदार वा रोजगार भिसामा आउने क्रम रोकिएको छ।

ब्रिटिश ओभरसिज पासपोर्ट भएका नेपालीका परिवार यहाँबाट ब्रिटेन जाने क्रम चलिरहेको छ। हङकङस्थित ब्रिटिश कन्सुलेट स्रोतका अनुसार पछिल्लो एक वर्षमा एक हजार पाँच सय नेपालीले ब्रिटिश पासपोर्ट लिएका छन्। तर हङकङमा खासगरी निर्माण क्षेत्रमा आकर्षक तलवसहित नयाँ काम खुलेकाले ब्रिटेन पुगेका कतिपय नेपाली हङकङ नै फर्किइरहेका छन्।

खासगरी पोखरा, धरान, बुटवल आसपासका ब्रिटिश गोर्खा सैनिकका परिवार करिब १५ वर्षअघिबाट हङकङ आएर बस्न थालेका हुन्। नयाँ कामको अवसर सिर्जना भएपछि नेपालमा रहेका आफ्ना छोराछोरीलाई बोलाउने क्रम बढेकाले पनि यहाँ नेपालीको सङ्ख्या थपिएको अनुमान गरिएको छ। हङकङका नेपालीमा सम्बन्ध विच्छेद गर्ने क्रम बढेकाले नयाँ विवाह गरेर आउने पनि निकै देखिएका छन्।

Published on: 4 June 2011 | Nagarik

Back to list

;