s

घरेलु कामदार पठाउन प्रोटोकलमाथि वार्ता भइरहेको छ– श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा घरेलु कामदार थप सुरक्षित एवं मर्यादित किसिमले पठाउने गरी छलफल भइरहेको बताएका छन्।

मंगलबार संसदीय समितिमा जवाफ दिँदै मन्त्री भण्डारीले घरेलु कामदारसम्बन्धी प्रोटोकलमा हस्ताक्षरका लागि दुई पक्षीय वार्ता भइरहेको बताए।

'प्रस्तावित प्रोटोकलहरूमा महिला कामदारहरूलाई थप सुरक्षित बनाउन संसदीय समितिहरूले समय-समयमा दिएका निर्देशनहरूलाई समेत समावेश गरी कार्य अघि बढाइएको छ,' उनले भने।

वैदेशिक रोजगारीमा पठाइएका महिलाहरू कतिपय मुलुकमा दुर्व्यवहारको सिकार भइरहेको गुनासो समितिमा उठेको थियो। उनीहरूलाई छुटकारा दिलाउन सरकारले के कस्तो कार्य योजना बनाएको छ? भन्ने प्रश्न समेत उठेको थियो।

उक्त प्रश्नको उत्तर दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली (महिला तथा पुरुष) हरूको अवस्था मन्त्रालयले विभिन्न माध्यमबाट सुनुवाई गर्दै आएको बताएका थिए।

ती गुनासोलाई मन्त्रालयले गम्भीरताका साथ लिने गरेको दाबी उनले गरे।

'यसका लागि २४ घण्टा नै सञ्चालन हुने कल सेन्टरदेखि सुरक्षाकर्मी सहितको र्‍यापिड रेस्पोन्स टिम पनि परिचालन हुने गरको छ। उजुरीको सम्बोधनका लागि वैदेशिक रोजगार विभागबाट नेपाली कूटनैतिक नियोग मार्फत शीघ्र उद्धार लगायतका सम्बन्धमा सूचना लिने सहजीकरण गर्ने र उद्धार गर्ने कार्य निरन्तर भइरहेको छ,' उनले भने।

'विभागले गुनासोको प्रकृतिका आधारमा पक्राउ पूर्जी जारी गर्ने र न्यायिक निरुपण गर्ने कार्य समेत गरी रहेको छ। यसको प्रतिवेदन र प्रगति विवरणको मन्त्रालय लगायत सम्बद्ध निकायमा जानकारी गराउने गरिएको छ,' उनले थपे।

वैदेशिक रोजगारीमा जानुपूर्व महिलाहरूका लागि पूर्वप्रस्थान अभिमुखीकरण तालिम निःशुल्क दिने व्यवस्था मिलाइएको पनि उनले बताए।

श्रम स्वीकृति लिएर संस्थागत रूपमा जाने महिला कामदाहरूको हकमा श्रम सम्झौता विपरीतका कार्यहरू भई पीडित भएमा मन्त्रालय र मातहतका निकायहरूबाट सम्बन्धित वैदेशिक रोजगार व्यवसायीलाई जिम्मेवार बनाई निरन्तर अनुगमन गरेको पनि उनले बताए।

त्यस्तै यस सम्बन्धी कुनै उजुरी दर्ता भए कानुन अनुसार कारबाही गर्ने गरेको पनि उनले बताए।

Published on: 4 September 2024 | Setopati

Link

Back to list

;