s

घर फर्की आउनेहरू

देवेन्द्र भट्टराई

झापा, गौरादहका नेत्र दंगाल मध्यपूर्वी मुलुक इजरायलमा झन्डै पाँच वर्ष बसेर एक साता अघिमात्रै काठमाडौं उत्रिएका छन् । केयर-गिभर कामको सीप र दक्षता लिएर घर फिरेका ३५ वर्षे दंगाल यता आएपछि रोजीरोटीको उपयुक्त बाटो के होला भनी परामर्शमा जुटेका छन् । 

वनेपाका भूवनसिंह कुँवर र खुमलटारका बमबहादुर विष्टसँग पनि केयर-गिभर कामको इजरायली अनुभव साथैमा छ । घर फिरेर कुँवरले वनेपामा कुखुरापालन सुरु गरेका छन् भने विष्ट आफ्नो सीप मिल्दो कामकै खोजीमा छन् । झापा, दमकका यामनाथ भट्टराई र मोरङ, उर्लाबारीका कुमार गौतमले इजरायलमा बसेर सिकेको तरकारी खेती बारेको 'गि्रनहाउस पद्धति'लाई मंगलबारेको कटहरेमा व्यवहारमा उतार्न लागिपरेका छन् ।

यी केही उदाहरणीय नाममात्रै हुन्, जो आफूमा भिन्न सीप र आत्मविश्वास लिएर विदेश भूमिबाट घर फिरेका छन् । इजरायलबाट फिरेका एक सयभन्दा बढी सीपसम्पन्न पुरुष-महिलाको एक हुल नयाँ वर्ष २०१२ को स्वागतमा गत शनिबार -डिसेम्बर ३१) थानकोटको त्रिभुवन पार्कमा भेला भइरहेका बेला उनीहरूको सपना र योजनाको फेहरिस्त आफैंमा सुनिरहुँजस्तो थियो । 'देशमा आर्थिक क्रान्तिको लागि आधुनिक कृषि क्रान्तिको आवश्यकता रहेको यस विषम परिस्थितिमा आधुनिक कृषिमा आधारित काम गर्नका लागि आधुनिक गि्रनहाउस, एन्टिइन्सेक्ट नेट, प्लास्टिक तथा माइक्रो इरिगेसन, डिप इरिगेसन सिष्टम, स्पि्रङग्लर इरिगेसन सिष्टम, फोगेर इरिगेसन सिष्टमको लागि चाहिने जुनकुनै सामानको खरिद एवं सल्लाह-सहयोगका लागि सम्झनुहोस्', हुलमा भेटिएका हेटौंडाका २८ वर्षे श्रीकृष्ण अधिकारी सानो चिर्कटो आगन्तुकहरूलाई बाँड्नमा व्यस्त थिए । उनी नेपालटारको १२ रोपनी जमिनमा आर्गनिक तरकारी उब्जाएर गरिखाने प्रयत्नमा जुटेका रहेछन् ।

विदेशबाट घर फिरेपछि यो कृषिप्रधान देशमा कृषि उब्जनी गरेर भिन्न पौरख र ऊर्जा देखाउन लागेका यी तन्नेरी उमेरका दाजुभाइहरूसँग योजनाको चाङ छ । तर यिनलाई भरथेग गर्ने र साथ दिने सरकारी निकाय भने दुर्लभप्रायः स्थितिमा छ । कृषक श्रीकृष्णले आफ्नो सानोतिनो खेतीपातीमा बीउबिजन अथवा अरू बन्दोबस्तीका सामान बाहिरबाट ल्याउनुपरे पनि १३ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था यथावत छ भने आफूले उब्जाएको आर्गनिक टमाटर र काउलीको बजार-होड भारत अथवा चीनका ठूला व्यापारीसँग गर्नुपर्ने स्थिति छ ।

काठमाडौंकै जितपुरफेदीमा एक वर्षयता आर्गनिक तरकारी खेती थालेर बजार खोजिरहेका मह एग्रोभेटका कृषकहरूको दुर्दशा पनि उही छ । इजरायलबाटै सीप सिकेर आएका यी कृषकहरूसँग सामाजिक अभियन्ता मदनकृष्ण-हरिवंशसमेतको साथ छ । यो समूहमा कृषिविद् डा. विष्णु चापागाईं पनि परामर्शदातृ रहेका छन् । विदेशमा सिकेको सीप र प्रविधि आफ्नै ठाउँमा उपयोग गर्न लागिरहेका बेला पनि उनीहरूलाई सरकारी सदाशयता जुटेको छैन । बरु इजरायली दूतावासले आवश्यक परामर्श र प्राविधिक सहयोग दिँदै आएको छ ।

शनिबारको थानकोट भेलामा पनि इजरायली दूतावासका कार्यबाहक राजदूत आदम लेभिन कृषक र केयर-गिभरहरूका माझमा थिए । 'यो इजरायली सरकारको सदाशयता वा सहयोगको कुरा होइन, बरु नेपाली कृषकहरूले आफ्नै माटोमा सीप पोख्न चाहेको दृष्टान्त हो', लेभिन भन्दै थिए । मह एग्रोभेटका कृषक खोजराज कटवालसहितको 'केही गर्ने ऊर्जा' देखेरै अहिले बारा, परवानीपुरमा ज्योति समूहले तरकारी खेतीका लागि केही जग्गा दिने भएको छ । निजी क्षेत्रको यो तत्परता रहे पनि कृषिप्रधान देशको सरकारले भने विदेशबाट फिरेका आफ्ना नागरिकको सीप र ऊर्जामा मलजल गर्ने रुचि अहिलेसम्म देखाउनसकेको छैन ।

वनेपाका भूवनसिंह कुँवरका अनुसार, अहिलेसम्म झन्डै ८ हजार नेपालीले इजरायलबाट केयर-गिभर काम सिकेर घर फिरेका छन् । वृद्धाश्रम, अनाथालय, अस्पताल र अन्य सेवाकेन्द्रहरूमा उपयोगी हुने केयर-गिभर बारेमा सरकारी कुनै निकायले पनि चासो दिनसकेका छैनन् । गैरआवासीय नेपाली संघका अगुवाहरू उपेन्द्र महतो र जीवा लामिछानेले वृद्धाश्रम निर्माण र जीर्णोद्धारमा निकै ध्यान राखे पनि त्यसको प्रमुख अंग हुनसक्ने 'केयर-गिभर' बारेमा कहिल्यै सोच राख्न नसकेको अर्का 'सीपयुक्त बेरोजगार' बमबहादुर विष्टको बुझाइ छ । केयर-गिभर सीप जान्ने ८ हजार संख्यामा झन्डै ७ हजार त महिलामात्रै छन् । एउटा सभ्य र सुसंस्कृत समाज निर्माणमा यस्तो सेवादायी दक्षताको आवश्यता बारेमा न समाजकल्याण मन्त्रालयले केही बुझबुझारथ गर्नसकेको छ, न हेल्लो सरकारले ।

सीप सिकेर आएपछि पनि संस्थागत निकाय र राज्य तहबाट कुनै साथ-सहयोग पाउन नसक्ने देखेर इजरायलबाट फिरेका चितवनकी ऋतु गिरी र भक्तपुरकी कल्पना बोयजुसहितले आफ्नै बलबुतामा थालेको काम प्रशंसनीय देखिन्छ । केयर-गिभर कामको दक्षता लिएर आएकी ऋतुले चितवनमा साकुरा एसोसियट्स संस्थाबाट आफूले सिकेको सीप, हिब्रु भाषा र इजरायल बारेका व्यावहारिक प्रशिक्षण दिनथालेकी छन् । तालिम लिन इच्छुक ८० भन्दा बढी सहभागीका माझमा ऋतुले अपनाएको उपाय सराहनीय बनेको छ भने कल्पनाले ज्येष्ठ नागरिकहरूलाई सेवा-सम्मान पुर्‍याउनेगरी सहारा हेरचाह केन्द्र सञ्चालनमा ल्याएकी छन् । 'राज्यको मुख ताकेर बस्ने अवस्था रहेन, त्यही भएर आफूले सिकेको सीप र ज्ञानको उपयोग आफ्नै तहबाट गर्नथालेका हौं', ऋतु भन्छिन्— 'समाजका अगुवा, नेता र अर्ति दिन चाहनेहरूले विदेश नगई घरमै केही काम गरौं भन्ने गर्छन्, तर यहीं घरमै बसेर आफ्नो सीप र ऊर्जा पोख्न चाहन्छु भन्दा पनि सुनेको-नसुन्यै गर्ने तिनै अगुवाहरू हुन्छन् ।' 

Published on: 9 January 2012 | Kantipur

Back to list

;