s
पवन तिमिल्सिना
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै चौथो स्थानमा छ। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले सन् २०१८ मा जीडीपीको अनुपातमा ३०.१ प्रतिशत रेमिट्यान्स भित्र्याएको छ।
सन् २०१६ मा दोस्रो स्थानमा पुगेको नेपाल अहिले चौथो स्थानमा पुगेको हो। अग्रस्थानमा रहेको टोंगोले जीडीपीको अनुपातमा ३५.९ प्रतिशत रेमिट्यान्स भित्र्याएको छ।
नेपालले २०७४/७५ मा जीडीपीको अनुपातमा २५.१० प्रतिशत रेमिट्यान्स भित्र्याएको थियो। पछिल्लो तीन वर्षमा जीडीपीमा रेमिट्यान्सको अनुपात घट्दो क्रममा रहेको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ। २०७२/०७३ मा २९.५१ प्रतिशतसम्म पुगेको यो अनुपात समीक्षा अवधिमा २५.१० प्रतिशतसम्म पुगेको छ।
विश्वमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने देशमा भारत, चीन र फिलिपिन्स छन्। उच्च आयस्रोत भएका फ्रान्स र जर्मनी पनि यो सूचीमा छन्। तर, जीडीपीको अनुपातमा ती मुलुकमा भित्रिने रेमिट्यान्स नगन्य देखिएको विश्व बैंकको तथ्यांकले देखाएको छ।
दक्षिण एसियामै अग्रस्थानमा नेपाल
तथ्यांकअनुसार नेपाल दक्षिण एसियामै जीडीपीको अनुपातमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक दरिएको छ। यद्यपि रेमिट्यान्स फ्लोको हिसाबमा भने नेपाल चौथो छ। सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा भारत अगाडि छ।
यद्यपि जीडीपीको तुलना गर्ने हो भने नेपालभन्दा पाँच स्थान पछाडि छ भारत। जीडीपीको अनुपातमा भारतले जम्मा २.८ प्रतिशत मात्रै रेमिट्यान्स भित्र्याएको तथ्यांक छ।
वृद्धिदर घट्दो
जीडीपीको अनुपातमा रेमिट्यान्स घटिरहँदा रेमिट्यान्सको वृद्धिदरमा समेत गिरावट आइरहेको छ। निर्यात, पर्यटनलगायत बाह्य क्षेत्र अपेक्षित रूपमा विकास हुन नसकेका बेला विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स बनेको छ। विगतमा व्यापार घाटाभन्दा रेमिट्यान्स आप्रवाह धेरै थियो। त्यतिबेला व्यापार घाटाको कमीलाई रेमिट्यान्सले क्षतिपूर्ति गरेकाले शोधनान्तरमा चाप परेको थिएन।
अहिले व्यापारघाटा अकासिएको छ भने रेमिट्यान्स वृद्धिदर घटदो क्रममा छ। दुई वर्षको अवधिमा सबैजसो महिना चालु खाता र शोधनान्तर ऋणात्मक हुनु यसैको प्रभाव भएको अर्थविद्हरू बताउँछन्।
एकातिर डलरको विनिमय दर घटेको तथा बैंकको ब्याजदर पनि बढ्न नसक्दा रेमिट्यान्स वृद्धिदरमा कमी आएको जानकारहरू बताउँछन्। यसअघि ब्याजदर उच्च हुँदा राम्रो प्रतिफल कमाउने आशले रेमिट्यान्स बैंकमा जम्मा हुन्थ्यो। अहिले ब्याजदर कम भएकाले केही घटेको हुन सक्ने अनुमान छ।
गत वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३ प्रतिशतले घटेको छ। रोजगारीका लागि अन्तिम श्रम स्वीकृतिका आधारमा उक्त तथ्यांक निकालिएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो। सो अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५.४ प्रतिशतले बढेको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो।
नेपाल भित्रिने रेमिट्यान्समध्ये करिब ७० प्रतिशतभन्दा बढी खाडी मुलुकबाट आउने गरेको छ। खाडी राष्ट्रमध्ये साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई) र बहराइनबाट मात्र उक्त रकम नेपाल भित्रिएको हो। सो क्षेत्रका सदस्य राष्ट्र ओमनबाट औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिने गरेको छैन।
हाल परिस्थिति बदलिएको छ। पछिल्ला एक/डेढ वर्षयता साउदी र कतारको हिस्सा घट्दै छ भने मलेसियाको अंश केही बढ्न थालेको देखिन्छ।
यस्तै हाल नेपाल भित्रिने रेमिट्यान्समध्ये सबैभन्दा धेरै अमेरिकाबाट छ। विगतमा अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिका आदि) बाट निकै कम मात्र रेमिट्यान्स आउने गरेको थियो। दुई वर्षअघिको राष्ट्र बैंकको एक प्रतिवेदनमा जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायत ठूला राष्ट्रबाट कुल रेमिट्यान्सको करिब १२ प्रतिशत मात्र भित्रिएको देखाएको छ।
Published on: 1 September 2019 | Annapurna Post
GET IN TOUCH