s

युरोपमा निःशुल्क नेपाली भाषा

लन्डन — पछिल्लो समय विदेशिने र उतै घरजम गर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ । विदेशी भूमिमा पुग्ने पहिलो पुस्ताका धेरैजसो नेपालीमा आइपर्ने समस्या भने समान छ । त्यो हो– अन्तर्राष्ट्रिय (अंग्रेजी) वा त्यस देशको भाषामा दखल नहुनु । तर सानै उमेरमा विदेश पुगेका वा विदेशमै जन्मेहुर्केका दोस्रो पुस्ताका अधिकांश नेपाली भने आफ्नो मातृभाषाबाट बेखबर छन् ।

युरोपेली देश बेल्जियममा पनि अवस्था पनि उस्तै छ । म्याग्दीमा जन्मिएकी रुबिना शर्मा पर्वत मामाघरमा हुर्किइन् । त्यसपछि काठमाडौं पुगेकी उनी सन् २०१२ मा १३ वर्षको उमेरमा बेल्जियम पुगिन् आमाबाबुका साथमा । विदेशी भूमिको संघर्ष र अभावबारे खासै थाहा भएन रुबिनालाई । कारण, उनका बाबु पोषनाथ र आमा राधाकुमारी बेल्जियममै थिए । रुबिना जानुभन्दा एक दशक अघिदेखि नै बेल्जियम पुगेका उनीहरू स्थापित भइसकेका थिए ।

बेल्जियम पुगेपछि केही समय त रुबिना नयाँ देश र परिवेशमा रमाइन् । तर अलिक बुझ्ने र जान्ने, सुन्ने भएपछि भने उनलाई एउटा कुराले निकै झकझक्यायो । चाडबाड र पर्वहरूमा आफ्नो संस्कृति, वेशभूषा र रहनसहनमा देखिए पनि पछिल्लो पुस्ताका नेपालीहरू मातृभाषाप्रति बेखबर जस्तै देख्दा चसक्क मन दुख्थ्यो उनको । त्यसकै कारण हो, पछिल्लो समय नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जुटिरहेकी छन् रुबिना । डेटिङ र आउटिङभन्दा पनि बालबालिकासँगै रमाउने बताउँछिन् उनी ।

बेल्जियममै जन्मेहुर्केका बालबालिका र अभिभावक तथा आफन्तबीच भाषाकै कारण दूरी बढेको देखेपछि उनले नेपाली भाषा कक्षा सुरु गर्ने योजना बनाइन् । त्यही बेला एनआरएन बेल्जियमका पूर्वअध्यक्ष खड्गबहादुर केसीसँग उनको सम्पर्क भयो । केसीले रुबिनालाई सामाजिक कार्यमा लाग्न प्रेरित गरेपछि रुबिना सांग्रिला समाज बेल्जियममा जोडिइन् ।

उनी तीन वर्षअघि एनआरएन बेल्जियमको सदस्य र करिब एक वर्षअघि महासचिव भइन् । दुवै पदमा उनी निर्विरोध निर्वाचित भएकी हुन् । ८६ देशमा शाखा रहेको एनआरएनएको इतिहासमा उनी सबैभन्दा कान्छी पदाधिकारी बन्न सफल भएकी थिइन् । एनआरएन अभियानमा आउन उनलाई तत्कालीन युवा संयोजक काशी दनै र एनआरएनए अभियन्ता दीपक न्यौपानेले प्रेरित गरेका थिए ।

एनआरएनएमा लागेपछि रुबिना चर्चामा आइन् । सम्पर्क पनि बढ्यो । समुदायका मानिस निकट हुन थाले । फुलटाइम सामाजिक कार्यमा व्यस्त हुन थालिन् । उनले एनआरएनएमा आउनु अगाडि नै भाषा कक्षा सञ्चालन गर्ने एजेन्डा सार्वजनिक गरेकी थिइन् । तर महासचिव भए पनि बेल्जियममा रहेका नेपाली मूलका बालबालिकालाई लक्षित गरी नेपाली भाषा कक्षा सुरु गर्ने उनको योजनाले सार्थकता पायो ।

रुबिना अहिले लुभेनमा प्रत्येक आइतबार बिहान १०.३० देखि १२.३० सम्म निःशुल्क नेपाली भाषा कक्षा पढाउँछिन् । यतिखेर कक्षामा ३० जनजाति बालबालिका छन् । कक्षा लिने बालबालिकाको उमेर ६ देखि १८ वर्षसम्म छ ।

कक्षा सुरु गर्दा धेरै बालबालिका थिए अहिले केही घटेका छन् । ‘कक्षामा नियमित नआउँदा र घरमा पनि फलोअप नहुँदा ‘क ख ग घ’ मात्रै सिकाउन पनि वर्ष दिनभन्दा बढी लाग्यो,’ उनले भनिन्, ‘अहिले भने सामान्य वाक्य भन्न लेख्न सक्ने भएका छन् । बालबालिका, अभिभावक दुवैले महत्त्व बुझेका कारण यसलाई पछिसम्मे निरन्तरता दिने योजना बनाएकी छु ।’

स्थानीय विद्यालयको एउटा कक्षाकोठा भाडामा लिएर कक्षा चलाइरहेको रुबिनाले बताइन् । कहिलेकाहीँ स्थानीय काउन्सिलले सहयोग गर्छ तर यो निरन्तर नहुने भएकाले केही अभिभावकले भाडा तिर्न पनि सघाएका छन् । नेपाली पढाउन रीना शाही, परमानन्द सापकोटा र नारायण अधिकारीले पनि सक्रिय भूमिका निर्वाह गरेको उनले सम्झिइन् । विदेशमा क्रमशः नेपाली भाषा लोप हुने जोखिम बढेकाले यसलाई नेपाल सरकार र एनआरएन मिलेर अभियानकै रूपमा अगाडि बढाउनुपर्ने उनको सुझाव छ ।

सांग्रिला समाज बेल्जियम र एनआरएनए बेल्जियममा आउनुअघि पनि उनले अन्य संघसंस्थालाई सहयोग गर्ने गर्थिन् । भूकम्पका बेला पनि उनी नेपालमा निकै खटिएकी थिइन्, राहत वितरण र सहयोगका लागि । पछिल्लो समय भने उनी जागिर, पढाइ र सामाजिक काममा निकै व्यस्त छिन् ।

‘मैले त फुर्सद भन्या के हो भन्ने पनि बिर्सिसकें,’ उनी भन्छिन्, ‘फ्रि टाइम समाजसेवामै बितेको छ । पर्सनल लाइफ नै छैन भन्दा पनि हुन्छ ।’ तर, बेलुका घर गएर दिनभरि आफूले गरेका काम सम्झँदा भने आत्मसन्तुष्टि मिल्ने बताइन् रुबिनाले । कैयौं विदेशी संस्था सदस्य रहेको एक्टिभ इन्टरकल्चरल फेडेरेसनमा एजुकेसनल कोअर्डिनेटर रहेकी उनी बायो टेक्नोलोजीको विद्यार्थी हुन् । भर्खरै अन्तर्पेन युनिभर्सिटीबाट स्नातक सकेकी रुबिना छिट्टै स्नातकोत्तर सुरु गर्ने तयारीमा छिन् ।

भविष्यमा भने एनआरएनए बेल्जियमको अध्यक्ष बन्ने र बायो टेक्नोलोजीको क्षेत्रमा केही गर्ने उनको अठोट छ ।

एनआरएनएलाई ईयूमा ‘रिकग्निसन’ गराएर संस्था बलियो बनाउने सोचका साथ काम गरिरहेको उनको भनाइ छ । ‘अहिले हाम्रो शाखा लुभेनमा दर्ता गरिएको छ । राज्यबाट सेवा सुविधा पाउनुपर्छ भन्ने हाम्रो चाहना हो,’ उनले भनिन् । आफूहरूले विभिन्न क्षेत्रमा कार्य गरिरहेकाले केही सहरले मात्र पहिचान गरेको र एउटा सामाजिक सांस्कृतिक विभागका रूपमा मात्र अनुदान पाउनु पर्याप्त नभएको उनको धारणा छ ।

रुबिनाले हालै बेल्जियमस्थित एक राज्य सरकारसमक्ष गैरआवासीय नेपाली संघको स्थापना, संरचना, एमआइएस सिस्टम, अनलाइन भोटिङ र उद्देश्यबारे पहिलोपटक संस्थागत रूपमा आफ्नो प्रस्तुति दिएकी थिइन् । ब्रसेल्सस्थित फेलेमिस राज्य परिषद्को संघसंस्था विभागले गरेको कार्यक्रममा उनले नेपाली भाषा, संस्कृति र नेपाली समुदायका लागि आवश्यक कार्यक्रम हल, खेल मैदानलगायतको माग गरेकी थिइन् । रुबिनाले संघीय सरकारका कैयौं नीति तथा कानुनका कारण संघसंस्था दर्ता प्रक्रिया झन्झटिलो भएको भन्दै सहज र सरल बनाउनुपर्नेसमेत बताएकी थिइन् ।

‘एनआरएनए सबल र सक्षम भएको खण्डमा बेल्जियममा मात्रै होइन, पोर्चुगललगायत पारिश्रमिक कम पाउने अन्य देशमा पनि सहयोग गर्न सकिन्छ,’ उनले भनिन्, ‘अप्ठेरोमा एकअर्काका लागि सहयोग गर्नु नै संघको काम कर्तव्य हो जस्तो लाग्छ ।’

बेल्जियममा हाल करिब दस हजार नेपाली छन् । सामाजिक सुरक्षा भएकाका कारण बाँच्नैका लागि समस्या छैन । तर, भाषागत समस्याका कारण बैंक, अस्पताल, प्रहरीजस्ता अत्यावश्यकीय निकायबाट काम लिन र आफ्नो सीपअनुसारको काम पाउन भने कतिपयलाई समस्या हुने गरेको रुबिना बताउँछिन् ।

बेल्जियममा व्यवसाय गर्ने नेपालीहरूले भने प्रगति गरिरहेका छन् । आधाभन्दा बढी नेपाली रेस्टुरेन्ट व्यवसायमा छन् । १६ वर्षमा नेपाली नागरिकता लिएकी रुबिनाले बेल्जियम पुगेको ६ महिनामा त्यहाँको पासपोर्ट लिइन् । ‘मैले चाहे भने अहिले गैरआवासीय नेपाली नागरिकता लिने सुविधा छ, तर नेपालले दोस्रो दर्जाको नागरिकका रूपमा हेपेको महसुस भएको छ,’ उनी भन्छिन् ।

Published on: 21 June 2024 | Kantipur

Link

Back to list

;