s

दोलखामा मानवतस्करी बढ्यो: आठ महिनामा ५० जना बेपत्ता

सुवास योञ्जन
 
चरीकोट: दोलखामा भूकम्पपछि मानव तस्करी ह्वात्तै बढेको छ। विनाशकारी भूकम्पपछि घरबारविहीन भएका दोलखावासीलाई विभिन्न प्रलोभनमा जिल्लाबाट बाहिर लैजाने क्रम तीव्र भएको हो। 
 
बेपत्ता भएकाहरू कहाँ छन् र कसले लगेको हो भन्ने तथ्य हालसम्म प्रहरीले फेला पार्न सकेको छैन।जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले आर्थिक वर्ष २०७२÷०७३ को साउन महिनादेखि दुई नगरपालिकासहित २९ गाविसबाट ५० जना बेपत्ता भएको जानकारी दिए। 
 
प्रहरीकै तथ्यांक अनुसार ८० जना बेपत्ता भएको निवेदन परेकोमा ३० जना सम्पर्कमा आएका छन् भने ५० जना अझै सम्पर्कमा छैनन्। भूकम्पमा परेर बेपत्ता भएका आठजनासहित दोलखाबाट बेपत्ता हुनेको संख्या ५८ पुगेको हो।सुनुवारले बेपत्ताहरूको खोजीकार्य भइरहेको जानकारी दिए।
 
प्रहरीले दिएको तथ्यांकअनुसार सबैभन्दा बढी भीमेश्वर नगरपालिकाबाट १३ जना, सुस्पा क्षमावती गाविसका आठ तथा जिरी नगरपालिकाबाट सातजना रहेका छन् । सुनखानी गाविसबाट पाँच, बाबरे, बुलुङ तथा गैरीमुदी गाविसबाट चार÷चारजना, श्यामा तथा सुन्द्रावती गाविसबाट तीन÷तीनजना, जफे, लामिडाँडा, घ्याङसुकाठोकर, जुँगु, झ्याँकु, नाम्दु तथा खोपाचागु गाविसबाट दूई÷दुई जना तथा अन्य १५ गाविसबाट एक÷एक जना बेपत्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ।
 
भूकम्पलगत्तै जिल्ला बालकल्याण समिति दोलखा र इकार्डस दोलखाले जिल्लाको विभिन्न नाकामा चेकपोस्ट खडा गरे पनि प्रभावकारी हुन सकेको छैन। परिवार बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन दिनेहरूको संख्या दैनिक रूपमा बढेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 
 
विभिन्न सघं सस्थाले जिल्लाको प्रवेश मार्गमा चेकजाँचलाई कडा बनाएको प्रतिवेदन प्रशासनमा बुझाए पनि मानिस हराउने क्रम भने बढिरहेको छ।पछिल्लो समय बढी मात्रामा बालबालिका र महिला हराएको भन्दै यसप्रति प्रशासनलाई गम्भीर बन्न नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले आग्रह गरे। 
 
विभिन्न बहानामा बालबालिका र महिला हराउँदा पनि प्रहरी प्रशासनदेखि संघ संस्था गम्भीर नभएको उनको तर्क छ।
 
११ महिनादेखि थामी बेपत्ता
 
लापिलाङ ५ का देबु थामी विगत ११ महिनादेखि दाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएर खोजी गर्न आग्रह गरिरहेका छन्। वैशाख १२ गते गएको भूकम्पबाट बेपत्ता भएका उनका दाइ नेत्रबहादुरको हालसम्म केही खबर प्राप्त भएको छैन।
 
भूकम्पमा परी मृत्यु भएकै भए पनि लास भेटिनु पर्ने भन्दै अझै आशा नमरेको उनकी श्रीमती सीता थामीको भनाइ छ। राजधानीमा बेसार बेच्न वैशाख ११ गते राजधानी गएका र १२ गतेको भूकम्पपछि सम्पर्कविहीन भएको उनकी श्रीमतीको भनाइ छ।
 
Published on: 10 March 2016 | Annapurna Post

Back to list

;