s

दासत्वको अवस्थामा वैदेशिक रोजगारहरू

Jyoti Lal Ban

प्रवासी नेपाली कामदार उद्धार केन्द्रका अनुसार- नेपालबाट बर्सेनि ३ लाख युवायुवती वैदेशिक रोजगारीमा गइरहेका छन् । यसरी रोजगारीका लागि विदेश गएका नेपालीहरूको संख्या सन् २०१० को अन्त्यसम्ममा ३० लाखभन्दा बढी छ । करिब १७ लाख कानुनी किसिममा गएका छन् भने १३ लाख जति गैरकानुनी रूपमा गएका छन् । वैदेशिक रोजगारीमा गएका कामदारमा अधिकांश अदक्ष र अर्धदक्ष रहेका र यिनीहरूमध्ये करिब ७० प्रतिशत जोखिम अवस्थामा श्रम गर्न विवश छन् । सन् २०१० मा विविध कारणले ज्यान गुमाउनेहरूको संख्या ८ सय २६ भन्दा बढी पुगिसकेको छ भने १ सय ६० जनाले आत्महत्या गरेको बताइएको छ । जसमध्ये साउदीमा १ सयजना, मलेसियामा २८ जना, कतारमा २० जना र यूएईमा १२ जना रहेका छन् । वैदेशिक रोजगारीमा गएका दुर्नियतिको सिकार हुन पुग्नेमा पहिलो सरकारी इजाजत प्राप्त नगरेका अवैधानिक दलालका माध्यमबाट जानेहरू, दोस्रो वैदेशिक रोजगारीमा जानुपूर्व पुर्‍याउनुपर्ने आवश्यक वैधानिक प्रक्रिया पुरा नगरीकन जानेहरू र तेस्रो आफूले गर्ने काम, काम गर्न जाने देशको रितिरिवाज तथा भाषाबारे आधारभूत सीप एवं ज्ञानसम्बन्धी आवाश्यक अभिमुखीकरण तालिम नलिईकन जानेहरू नै रहेको बताइन्छ । यसबाट सुरक्षित वैदेशिक रोजगारीका लागि उल्लेखित विधि तथा प्रक्रियाहरू अनिवार्य रूपमा पूरा गर्नुपर्ने तथ्य जाहेर हुन आउँछ ।

भारत, अरबियन खाडीका मुलुकहरू, कतार, मलेसिया, कोरिया, इजरायल आदिजस्ता मुलुकहरूमा रोजगारीका लागि जाने -वा पठाइने) ठूलो जनशक्तिको स्रोत मध्यमदेखि निम्न वर्गका समुदायहरू नै हुन । यस समुदायभित्रका, साक्षरदेखि स्नातकसम्मको शैक्षिक स्तर भएका युवायुवतीहरू अधिकांशतः न्यून पारिश्रमिकमा अमर्यादित, जोखिम र निकृष्ट प्रकारका श्रममा संलग्न छन् ।

बढ्दो बेरोजगारी समस्याका कारण नेपालमा पहिलोचोटी २०४२ सालमा वैदेशिक रोजगार ऐनको व्यवस्था गरियो । तर ऐनमा व्यवस्था भएअनुरूप वैदेशिक रोजगारीको अनुकूल विकास भने हुन सकेन । सन् १९९० यता विश्वव्यापी रूपमा पँुजीवादी भूमण्डलीकरण तथा उदारीकरणको  विकास हुन थालेपछि प्रायः संसारका सबै मुलुकहरू सबैका निम्ति खुला हुन पुगे । यो खुकुलो नयाँ विश्व नीतिले गर्दा रोजगारी, व्यवसाय वा अध्ययनका लागि नेपाली युवा युवतीहरू आ-आफ्नो गच्छेअनुसार संसारका विभिन्न मुलुकमा फैलन थाले ।

अझ खासगरी सन् १९९० भन्दा पहिलेसम्म अनकण्टार ठानिएका अरबियन खाडीका मुलुकहरूमा औद्योगिक निर्माण कार्यको विस्तार हुन थालेपछि रोजगारीका लागि त्यता जाने नेपालीको संख्या अन्य मुलुकहरूमा भन्दा अत्यधिक धेरै हुन थाल्यो । १९९० पछाडि नेपाल सरकारले नेपालको बेरोजगार जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन निजी कम्पनीलाई अनुमति दिएपछि रोजगार कम्पनीहरू ठूलो संख्यामा विकास हुन थाले । यस क्षेत्रका एक विज्ञका अनुसार हाल त्यस्ता कम्पनीहरू काठमाडौं उपत्यकामा मात्रै झन्डै ७ सयको संख्यामा रहेका छन् ।

गरिबी र बेरोजगारीको पीडाले वैदेशिक रोजगारीमा जान व्यग्र बनेका नेपाली युवायुवतीको मनोदशाबाट नाजायज फाइदा उठाउन मानव तस्करी गर्ने नियत राखेका विभिन्न अवैधानिक निकाय वा व्यक्तिविशेषहरूसमेत निकै ठूलो संख्यामा क्रियाशील हुन थाले । जसका कारण रोजगारीका नाममा विदेश पुर्‍याइएका अनेकौं युवा युवतीहरूले पाशविक र नारकीय अवस्थाबाट गुज्रनुपर्ने परिस्थितिमा झन् बढोत्तरी हुन थाल्यो ।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार दक्षिण एसियामा वेश्यावृत्तिका लागि वाषिर्क रूपमा बेचिने लगभग एक लाख पचास हजार  महिलामध्ये नेपालबाट मात्रै सरदर १२ हजार चेलिबेटीहरू बेचिने गरेका छन् । अहिले ३ लाखभन्दा बढी नेपाली चेलीहरू भारतीय वेश्यालयमा नारकीय जीवन बिताउन विवश बनेका छन् । गरिबी, अशिक्षा, चेतनाको अभाव लगायत अनेक समस्यामा परेका सोझा ग्रामीण युवतीलाई विभिन्न प्रलोभनमा पारेर बेच्ने गरिएको छ । बेचिनेमध्ये अधिकांशलाई विवाहको बहानामा भारत पुर्‍याउने गरिएको छ भने राम्रो काममा लगाइदिने, सहरमा पढाइदिनेजस्ता आकर्षक लोभमा फसाएर पनि बेच्ने गरिएको छ । एक सर्वेक्षणअनुसार बेचिएका ७५ प्रतिशत महिला अविवाहित छन् भने २० प्रतिशत विवाहित र ५ प्रतिशत १५ वर्षमुनिका रहेका छन् ।

चेलिबेटी बेचबिखनको यो अवैध र अमानवीय धन्दा अब त भारतमा मात्र सीमित नभएर अन्य मुलुकमा समेत फैलन पुगेको छ । यस्तो कलंकित धन्दा नियन्त्रणमा हालसम्मका कुनै पनि सरकारले प्रभावकारी कारबाही र नियन्त्रण गर्न सकेको पाइँदैन । कतिपय वैदेशिक रोजगार कम्पनीका एजेन्ट वा दलालहरूले बेरोजगारी र गरिबीको पीडाले पिल्सिएका युवायुवतीहरूलाई आकर्षक रोजगारीको आश्वासन दिएर लिनुपर्नेभन्दा बढी रकम असुल्ने, नक्कली भिसामा पठाएर विदेशमा उल्टै जेल जानुपर्ने स्थिति सिर्जना गरिदिने, धेरै तलब र राम्रा कामका लागि भनेर पठाउने तर थोरै तलब र अप्ठ्यारो वा नराम्रो काममा फसाइदिने, किर्ते वा नक्कली रोजगारीको सम्झौता बनाई विदेश पठाएर बिचल्ली पारिदिनेजस्ता व्यवहारबाट धेरै युवायुवतीहरू पीडित बन्नुपरेका उदाहरणहरू अनेकौं छन् ।

विदेशमा रोजगार दाताहरूले गर्नै नसक्ने कामहरू लगाउने, थोरै पारिश्रमिक दिने तर अत्यधिक श्रममा घोटाएर शोषण गर्ने, चरम रूपमा यातना दिने, महिलाहरूमाथि बलात्कार गर्ने र कतिपयले त हत्या नै गरिदिनेजस्ता उदाहरणलाई माथि उल्लेखित तथ्याङ्कले पनि प्रमाणित गरेका छन् ।

यतिबेला नेपाललगायत अन्य विभिन्न अविकसित र अल्पविकसित देशहरूबाट सन्सारका कतिपय धनी देशमा शारीरिक श्रमजन्य रोजगारिमा गएका श्रमिकमध्ये अधिकांसले भोग्नु परेका अवस्थाहरू झण्डै अठारौं र उन्नाइसौं शताब्दी ताका अमेरिका तथा कतिपय यूरोपीय मुलुकहरूमा अफ्रिकी देशहरूबाट आयात गरिएका दासहरूले भोग्नु परेका अवस्थासाग  मिल्दा जुल्दा देखिएका छन् । फरक कतिमात्र पाइन्छ भने त्यतिबेलाका दासहरू घोषित रुपमा आजीवन पराधिन दास बनाइएका हुन्थे भने यीनिहरू घोषित रुपमा दास तथा आजीवन पराधिन बनाइएका हुदैनन् । तर यतिबेलाका यी श्रमिकहरूले भोगि आएका यातना, उत्पीडन र शोषणका अवस्थाहरू झण्डै झण्डै त्यतिबेलाका दासहरूले भोगे सरह कै रहेका छन् भन्दा अतिसयोक्ति हुने छैन । त्यसैले यतिबेला बैदेशिक रोजगारमा रहेका अधिकांस श्रमिकको अवस्था अन्राष्ट्रिय श्रम संगठनले परिभाषित गरेको नव दासत्व को अवस्थासंग भने मिल्दो जुल्दो नै छ ।

Published on: 12 May 2011 | Kantipur

Back to list

;