s
विश्वभर महामारीका रूपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा आठजना, कुवेतमा तीनजना, युएईमा पाँचजनाको निधन भएको हो ।
कतारमा निधन भएका आठजनामध्ये दुईजनामा निधन हुनुभन्दा पहिला नै कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधनपछि मात्र कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म १४ देशमा एक सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
समितिका अनुसार २० देशमा रहेका नेपालीहरू पूर्ण रूपमा कोरोनामुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरू कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरूमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।
३० हजार पाँच सय ७१ जना गैरआवासीय नेपालीमध्ये २८ हजार ६ सय ८१ जना गैरआवासीय नेपाली संक्रमण मुक्त भएको संघले जनाएको छ ।
संघले भारत, साउदी अरब, संयुक्त अरब इमिरेट्स र कुवेतमा नाै सय ५० जनामा नेपालीमा यो साता कोरोना संक्रमण फैलिएको जनाएको छ ।
अहिलेसम्म विश्वका विभिन्न २५ मुलुकबाट २९ हजार सात सय ८० जना नेपालीकाे उद्धार गरी नेपाल लगिएकाे संघले जनाएको छ।
GET IN TOUCH