s
किशोर बुढाथोकी
विराटनगर : विराटनगर महानगरपालिका–१६ दरैयाका मन्जुर मोहमद सीमा नाकामा सहज आउजाउ हुँदा ज्याला मजदुरी गर्न जोगबनीलगायत भारतका विभिन्न स्थानमा पुग्थे। मजदुरी गरेर ल्याएको पैसाले परिवार चलाउँथे। तर, कोरोनाले गर्दा सात महिनादेखि दुई देशबीचको नाका बन्द छन्।
मजदुरीका लागि नेपालबाट भारत र भारतबाट नेपाल आउजाउ गर्ने अवस्था छैन। भारतसँग सीमा जोडिएको दरैयाको मुसहर बस्तीमा सात घर मुस्लिमसहित ८० परिवारको बसोबास छ। कोरोनाका कारण सबै क्षेत्र अस्तव्यस्त हुँदा मन्जुरले काम नपाएको लामो समय भयो।
‘नेपालमा काम नपाउँदा भारततिर गयो भने सहज रूपमा पाइन्थ्यो। कमाएर ल्याएको पैसाले जीविका चलेकै थियो’, मन्जुरले भने, ‘तर कमाइ बन्द हुँदा भोकभोकै बस्नुपर्ने अवस्था छ।’ मन्जुरले बालबच्चा भोकै बस्न नपरोस् भनेर भारतीयसँग सयकडा १० का दरले ऋण लिएको सुनाए। यसअघि भारतीयसँग लिएको २० हजार रुपैयाँ ऋण कसरी तिर्ने भन्ने तनावले सताउन थालेको छ, उनलाई।
त्यसैगरी, यात्रु नपाउँदा गुल मोहमदले आफ्नो सिटी रिक्सा घरमै थन्क्याएका छन्। तर, सात महिनायता दैनिकी निकै कष्टकर बनेको गुलको भनाइ छ। पारिपट्टिका भारतीयहरूसँग ऋण लिएर गुजारा चलाउनुपर्ने अवस्था आएको भए पनि महँगो ब्याज लिने गरेको उनले बताए। कोरोनाले पीडामाथि पीडा र ऋण उपहार दिएको उनको गुनासो छ।
काम नपाउँदा सुकुमबासी बस्तीमा बसोबास गर्दै आएकाहरू समस्यामा पर्न थालेका छन्। पुस्तौंदेखि सीमा क्षेत्रमा बस्दै आएका उनीहरूको आफ्नो जग्गा छैन। चरम गरिबीको रेखामुनि रहेको यस बस्तीको अर्को समस्या डुबान पनि हो। बर्खायाममा सबै परिवारले डुबानको समस्या भोगेको स्थानीय अकबर मियाले बताए। ‘कामधन्दा केही नभएपछि परिवार चलाउन भारतीयसँग ऋण लिनुपर्ने बाध्यता थियो’, उनले भने, ‘पुरानो तिर्न नसक्दा अब त दिन पनि छाडे।’
GET IN TOUCH